गाडीको लस्कर। चर्को नाराबाजी। कान खाने गीतसंगीत। अनि मतदाता फकाउन गरिने अनेक फन्डा। र, विपक्षी उम्मेदवारको उग्र विरोध। चुनाव प्रचारप्रसारमा धेरै देखिएको दृश्य यही हो। तर, काठमाडौँ क्षेत्र नम्बर ५ मा गतिशील लोकतान्त्रिक पार्टीकी उम्मेदवार निशा अधिकारीको घरदैलो कार्यक्रम भने फरक देखियो।
शुक्रबार बिहान हामी बालुवाटार पुग्दा निशा आफ्नो घरअगाडि चुनाव प्रचारको योजना बनाउँदै थिइन्। उनका १५/२० जना समर्थक जम्मा भएका थिए। दुई दिनको सार्वजनिक बिदापछि शुक्रबार अफिस खुल्नेवाला थियो। त्यसैले निशा अफिस टाइमअघि नै मतदाता भेट्न हतारिँदै थिइन्।
सुरूमा निशा नेपालको झण्डा उचालेर भट्याइन् : भोट के मा?
समर्थकहरू ठूलो स्वरमा कराए : ब्याट्रीमा!
त्यसपछि निशा समर्थकहरूको बीचमा मिसिइन्। अनि उत्साहपूर्ण आवाजमा घन्किए नाराः भोट फर निशा अधिकारी!
अबको पालो कसको? सक्षम महिलाको!
हाम्रोलाई होइन, राम्रोलाई जिताऔँ!

माइकमा यी चुनावी नारा गुञ्जिएसँगै पसलतिरका मानिसहरू बाटोतिर हेर्न थाले। अझ निशालाई अभिनेत्रीको रूपमा चिन्नेहरु त मोबाइल तेर्स्याउँदै फोटो/भिडिओ खिचिरहेका थिए। चर्चित अनुहार भएकाले निशालाई घरको झ्यालबाट चिहाउनेको पनि कमी थिएन।
त्यसपछि निशा चण्डोल–०४ रुटमा भोट माग्दै अघि बढिन्। बाटोमा भेटिनेलाई नमस्कार गर्दै उनी ‘यसपालि ब्याट्रीलाई भोट है’ भन्दै नम्रतापूर्वक आग्रह गरिरहेकी थिइन्।
सधैँझैँ चण्डोलका नागरिकको दैनिकी आफ्नै सुरमा चलिरहेको थियो। कोही तरकारी किन्न व्यस्त देखिन्थे त कोही मासु। कोही चियाको स्वादमा हराइरहेका थिए। अनि राजनीतिक गफगाफ पनि। त्यही दैनिकीमा मिसिइन् निशा।
पसल–पसलमा पुगेर उनी चुनावी एजेन्डा समेटिएको पर्चा बाँडिरहेकी थिइन्। अनि भनिरहेकी थिइन्ः ‘यसपालि ब्याट्रीमा है। एजेन्डाहरू पढ्नुहोला है। राम्रोलाई भोट हालौँ है।’

उनले खुलेका जति कुनै पनि पसल छोडिनन्। अनि घरबाट हेरिरहेकालाई समेत भोट मागिन्। तर, काठमाडौँका घरघर चहार्न भने सम्भव थिएन। जसकारण उनले प्रत्येक घरको गेटमा आफ्नो चुनावी एजेन्डाको पर्चा छोडिरहेकी थिइन्।
निशा बालुवाटारकै स्थायी बासिन्दा हुन्। जहाँ उनी जन्मिइन्, अनि हुर्किइन्। त्यसैले घरदैलोमा उनले चिनेकै अनुहार धेरै थिए। उनीसँग निशा साइनो लगाएर हकपूर्वक भनिरहेकी थिइन्, ‘यसपालि भोट मलाई।’
केही अगाडि पुग्दा ९ बजिसकेको थियो। बाटोमा अफिसको लागि निस्किनेहरूको भिड बढिरहेको थियो। त्यसमा चुनावी प्रचारको अभियानले जामको स्थिति ल्यायो। लगत्तै निशाले समर्थक र गाडीलाई छेऊ लगाउँदै रोकिएका गाडीलाई आउन संकेत गरिन्। आफ्नै कारण सिर्जित जाम हटाइन्। जुन दृश्य धेरैपटक दोहोरियो।
त्यतिबेला उनी भन्दै थिइन्, ‘अरु दिन हामी ४/५ जना मात्रै हिँडिरहेका हुन्छौँ। आजै हो यति धेरै हिँडेको। यसरी आफ्नो कारण जनतालाई दुःख हुँदा गिल्टी फिल हुन्छ।’
निशाले यसै क्षेत्रमा आफ्नो ७ वर्षका छोरा हुर्काइरहेकी छिन्। निशा अभिभावकसँगै रहेका बच्चाको गाला सुम्सुमाउँदै भनिरहेकी थिइन्ः म उठेकै तिमीहरूको भविष्यकै लागि हो।

न ठूलो भिडभाड। न तडकभडक। न चिप्ला भाषण। न कसै पार्टीको विरोध। एकदम शान्त र शालीनतापूर्वक निशाले साढे २ घण्टाको घरदैलो कार्यक्रम टुङ्ग्याइन्।
कलाकार भए पनि निशालाई पहिल्यैदेखि राजनीतिमा चासो थियो। देशमा हुने हरेक राजनीतिक गतिविधिबारे उनी जानकार थिइन्। परराष्ट्र मामिलामा विशेष चासो राख्ने उनले स्नातक तहमा अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीतिशास्त्र विषय लिएर पढिन्। राजनीतिशास्त्रमै स्नातकोत्तर गरिन्। हाल उनी द्वन्द्व, शान्ति र विकास’ विषयमा एमफिल गरिरहेकी छिन्।
तयारीका साथ राजनीतिमा आउन चाहन्थिन् निशा। तर, जेन–जी आन्दोलनका कारण तत्कालै चुनावमा होमिनुपरेको उनको भनाइ छ। यो ठाउँका समस्या र भोगाइबारे जानकार भएकाले चुनाव लड्न आफ्नै गुँड रोजेको उनले स्पष्ट पारिन्।
फिल्मक्षेत्रमा चलेकी अभिनेत्री हुन् निशा अधिकारी। ‘मिसन पैसा’, ‘फस्ट लभ’, ‘सुनगाभा’ लगायतका चर्चित फिल्म खेलेकी उनी सगरमाथा आरोहण गर्ने पहिलो अभिनेत्री समेत हुन्। पछिल्लो राजनीतिक माहोलबीच उनलाई रास्वपा लगायत पार्टीबाट अफर पनि आएको थियो।
तर, उनले गतिशील लोकतान्त्रिक पार्टी (गतिलो) रोजिन्। जसले २० प्रतिशत सिट नभए सरकारमा नजाने नीति लिएको छ। पदको लोभ गरिरहेको अवस्थामा प्रतिपक्षमा बसेर भए पनि जनताको आवाज बोल्छौँ भनेर लागेको पार्टीले लोभ्याएको उनले दाबी गरिन्।

निशाले चुनावी एजेन्डामा सडक र पूर्वाधारदेखि जनस्वास्थ्य, रोजगारी, उद्यमशीलता, खेलकुद, संस्कृति, ज्येष्ठ नागरिकको सम्मान र महिलाको अर्थपूर्ण सहभागितासम्मका विषयहरूलाई समेटेकी छिन्।
काठमाडौँ क्षेत्र नम्बर ५ बाट उठेका निशाका प्रतिस्पर्धीहरू बलिया छन्। कांग्रेसका प्रदीप पौडेल, एमालेका ईश्वर पोखरेल, राप्रपाबाट कमल थापा र रास्वपाका सस्मित पोखरेलसँग निशाको टक्कर हुँदैछ। तर, निशालाई पुराना पार्टीका प्रतिस्पर्धीको प्रेसर छैन।
‘उहाँहरू सबैलाई व्यक्तिगत रुपमा सम्मान गर्छु। तर, मलाई उहाँहरू पावरफुल लाग्दैन। किनभने उहाँहरूको सट्टा युवाहरू आउनुपर्ने ठाउँ हो। म किन उहाँहरूसँग तर्सिऊँ त? मेरो उमेर समूहको मान्छे आए पो प्रतिस्पर्धात्मक ढङ्गले लिन सकिन्छ, एजेन्डाको बहस होला त। उहाँहरू रिटायरमेन्ट लिएर युवालाई ल्याउनुपर्ने बेलामा आफैँ आउनुभएको छ। मलाई चित्त नबुझ्ने कुरा हो,’ उनले भनिन्, ‘म यहाँको मतदाता पनि हो। नयाँ पार्टी नआएको भए उहाँहरूमध्ये रोज्नुपर्दा कस्तो दिक्कलाग्दो हुन्थ्यो। मैले जुन मुद्दा उठाएको छु। त्यो मुद्दाको लागि लड्नैपर्छ, सदनसम्म पुग्नैपर्छ। त्यसैले मेरो लागि व्यक्तिभन्दा पनि मुद्दा ठूलो कुरा हो।’
निशालाई लाग्छ, मुलुक जबसम्म आर्थिक रूपमा समृद्ध हुँदैन, तबसम्म व्यक्तिगत र सामाजिक रूपमा पनि सबैलाई गाह्रो हुन्छ। कमजोर अर्थतन्त्र र वैदेशिक रोजगारीमा जाने लहरबीच उद्यमशीलतालाई प्राथमिकता दिएको उनले सुनाइन्। जसकारण नेपालमै केही गरिरहेकाहरूलाई प्रोत्साहन गर्न आफू पसल–पसल पुगिरहेको उनले खुलाइन्।

त्यस्तै, आफू कहिल्यै पनि समानुपातिक उम्मेदवार नबन्ने निशाको प्रतिबद्धता छ। समानुपातिक सबैको आवाज आउने कोटा भएको बताउँदै त्यसको लागि मुद्दा उठाउँदै आएका उम्मेदवार लायक भएको उनी बताउँछिन्।
काठमाडौँ क्षेत्र नं ५ ले पहिलो महिला प्रतिनिधि पाउला त?
जवाफमा निशा भन्छिन्, ‘अब अहिलेको समयमा पाउनुपर्ने जस्तो लाग्छ। यदि कसैले राजनीति निष्ठापूर्ण र सेवाभावले गर्छ भने कठिन बाटो हो। यो रोजिरहँदा हामीमा विकल्प धेरै भएन। महिलालाई लिडरसिपमा आउन भन्न सजिलो हुन्छ। म अगाडि आउँछु नि त भनेर लागेँ। यस्तो बेला यहाँहरूले सपोर्ट गर्नुभएन भने हामी चुक्छौँ। मैले पहिले पनि महिला नेतृहरूलाई निकै सहयोग गरेको हो। अब आफैँ पनि लागेको हो। निशा अधिकारीलाई होइन, त्यो विकल्पलाई हामीले सदनसम्म पुर्याउनुपर्छ भनेर भोट दिनुहोला।’
भिडिओ :
फोटो/भिडिओ : सरोज शाही
Shares

प्रतिक्रिया