प्रतिनिधि सभा निर्वाचनको ‘इपिसेन्टर’ बनेको पूर्वी सिमान्त जिल्ला झापालाई चुनावी रौनकले छोपिसकेको छ। चोक, चौतारा र चियापसल चुनावी विमर्शमा मग्न छन्। तैपनि, मतदाताको ‘मुड’सँग राजनीतिक विरासत र गणितीय हिसाबमा तादम्यता भेटिँदैन।
नेपालखबरको टोली फागुन ६ र ७ गते झापाको निर्वाचन क्षेत्र नम्बर ३ मा पुग्दा विगतको तुलनामा यस पटक मतदाताको परिवर्तित मनोविज्ञान हावी देखिएको छ। बहुदलपछिका सात वटा चुनावमा नेकपा (एमाले), नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई दोहोर्याएर रोजेको झापा-३ ले फागुन २१ मा दिने फैसलाबारे मतदातामा पनि कौतुहलता छ।
२०६४ सालमा तत्कालीन नेकपा (माओवादी) ले कांग्रेस र एमालेको जनाधारमा धावा बोलेको थियो। त्यस्तै गरी फागुन २१ को अग्निपरीक्षामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उत्रिएको छ।
जनआन्दोलनको दुई वर्षपछि २०४८ सालमा भएको संसदीय निर्वाचनमा झापा-३ बाट एमालेका द्रोणप्रसाद आचार्य निर्वाचित भएका थिए। आचार्यको मुख्य प्रतिस्पर्धी कांग्रेसका कृष्णप्रसाद सिटौला थिए। त्यसको तीन वर्षपछि २०५१ सालको मध्यावधि निर्वाचनमा एमालेका पुष्पराज पोखरेलसँग कांग्रेस नेता सिटौला फेरि पराजित भए।
२०५६ सालको आमनिर्वाचनमा कांग्रेस नेता सिटौलाले एमालेका नारायण राजवंशीसँग बदला लिए। तेस्रो प्रयासमा जित हासिल गर्दै सिटौला पहिलोपटक सांसद बने। त्यतिवेला राप्रपाका उम्मेदवार राजेन्द्रप्रसाद लिङ्देन तेस्रो भएका थिए।
माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा तत्कालीन गृहमन्त्री सिटौला पराजित भए। शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका सिटौलालाई माओवादीकै पूर्णसिंह राजवंशीले पराजित गरेका थिए।
त्यसपछि २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा सिटौला दोस्रोपटक निर्वाचित भए। यतिवेला भने उनका निकटतम प्रतिस्पर्धी बनेका थिए, राप्रपा महामन्त्री लिङ्देन। यो क्षेत्रमा २०६४ सालमा पहिलो दलका रुपमा रहेको माओवादी चौथो र एमाले तेस्रो दल बन्दा राप्रपा पाँचौँबाट दोस्रो स्थानमा उक्लिएको थियो।
२०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन हुँदा कांग्रेस र राप्रपाले पनि देशभर चुनावी तालमेल गरेका थिए। तर, झापामा राप्रपा र तत्कालीन वाम गठबन्धनबीच नै चुनावी तालमेल भयो। झापा-३ मा कांग्रेसका सिटौला र राप्रपाका लिङ्देनले अडान नछोडेपछि कांग्रेस र राप्रपाको तालमेल भाँडिएको थियो। वाम गठबन्धनसँगको तालमेलमा राप्रपाका लिङ्देन सांसद निर्वाचित भए। लिङ्देनले ४४ हजार ६१४ र प्रतिस्पर्धी सिटौलाले ३१ हजार १७१ मत पाए।
पाँच वर्षपछि २०७९ सालमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा फेरि सिटौला र लिङ्देन आमनेसामने उभिए। कांग्रेस, तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितको गठबन्धनका साझा उम्मेदवार सिटौला र एमाले-राप्रपाका साझा उम्मेदवार लिङ्देनबीच कडा प्रतिस्पर्धा भएको थियो। एमालेसँग भएको गठबन्धनका कारण लिङ्देन लगातार दोस्रो पटक सांसदमा निर्वाचित भए। त्यतिवेला राप्रपाका अध्यक्ष समेत रहेका लिङ्देनले ४० हजार ६६२ र सिटौलाले ३७ हजार ३८६ मत पाएका थिए।
विगतलाई हेर्दा दुई पक्षीय देखिए पनि आसन्न चुनावमा भने झापा-३ मा बहुपक्षीय प्रतिस्पर्धा हुने पक्का छ। राप्रपा अध्यक्ष लिङ्देनको संसदीय राजनीतिकको सहयात्री एमालेले अहिले पूर्व संविधानसभा सदस्य हरिबहादुर राजवंशी मैदानमा उतारेको छ।
त्यस्तै, कांग्रेसले शीर्ष नेता सिटौलाको गढमा पुराना नेता राजेन्द्र घिमिरेलाई उम्मेदवार बनाएको छ। रास्वपाका जिल्ला सभापति प्रकाश पाठक, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का डिल्लीराम घिमिरे (हिक्मत), हर्क साम्पाङ नेतृत्वको श्रम संस्कति पार्टीका दीपक तिम्सिनासहित १७ उम्मेदवार चुनावी मैदानमा छन्।
दलका उम्मेदवारलाई अभय राजवंशी र मानप्रकाश संग्रौलाले स्वतन्त्र उम्मेदवारी दिएर चुनौती थपेका छन्। एमालेको समर्थनमा दुई पटक जितेर उपप्रधानमन्त्रीसम्म बनेका लिङ्देन फागुन २१ को निर्वाचनबाट ‘ह्याट्रिक’को यात्रामा छन्।

चुनावी प्रतिस्पर्धामा छिर्नुअघि यो क्षेत्रको बस्तुस्थिति हेरौँ। झापा-३ मा चार वटा स्थानीय तह छन्। भद्रपुर नगरपालिका, कचनकवल, हल्दिबारी र बाह्रदशी गाउँपालिका तथा बिर्तामोड नगरपालिकाको १० नम्बर वडा पर्छ। एक लाख ४० हजार ८५७ मतदाता रहेको क्षेत्रमा यस पटक ९ हजार ४०० नयाँ मतदाता थपिएका छन्।
२०७९ सालमा प्रत्यक्षतर्फ राप्रपाका लिङ्देनले चुनाव जिते पनि समानुपातिकतर्फ भने कांग्रेस पहिलो दल बनेको थियो। कांग्रेसले समानुपातिकतर्फ २५ हजार ५३५, राप्रपाले १९ हजार ७४३ र एमालेले १९ हजार ४६० मत प्राप्त गरेको थियो।
त्यस्तै, प्रत्यक्षतर्फ तेस्रो मत प्राप्त गरेको रास्वपाले समानुपातिकतर्फ चौथो स्थानमा रहँदै ७ हजार ८१२ प्राप्त गरेको थियो। २०७९ सालको प्रतिनिधि सभाको पार्टीगत समानुपातिक मत र सोही वर्ष भएको स्थानीय तहको निर्वाचनमा पाएको सफलतालाई हेर्दा कांग्रेसको बलियो देखिन्छ।
फागुन २१ को निर्वाचनमा झापा-३ मा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छोरा श्यामलाई अगाडि बढाउने तयारीमा थिए। कांग्रेसको विशेष महाधिवेनाट गगन थापा नेतृत्वमा आएपछि पार्टीको मातहत समितिबाट सिफारिस भएका तरुण दलका केन्द्रीय सदस्य समेत रहेका श्यामलाई उम्मेदवार बनाउने सिटौलाको योजनामा ‘ब्रेक’ लाग्यो।
कांग्रेस सभापति थापाले २०७६ सालमा राष्ट्रिय सभा चुनावमा पराजित घिमिरेलाई प्रतिनिधि सभाको टिकट दिएर लिङ्देनविरुद्ध मैदानमा उतारेका छन्। व्यापारिक पृष्ठभूमिबाट आएका उनी झापामा संगठनात्मक आधार बलियो भएका नेताका रुपमा चिनिन्छन्। सिटौला पुत्र श्याम टिकट नपाए पनि कांग्रेस उम्मेदवार घिमिरेको पक्षमा खुलेर लागेका छन्। तर, सिटौला भने अहिलेसम्म घिमिरेलाई मत माग्न मैदानमा देखिएका छैनन्।
कांग्रेसबाट प्रभावशाली नेता सिटौला उम्मेदवार नबनेपछि लिङ्देनलाई केही राहत हुने झापा-३ का मतदाताबीच चर्चा सुनिन्छ। विगतमा आफूलाई समर्थन गरेको एमालेका केही नेता र कांग्रेसको असन्तुष्ट पक्षको साथ पाउनेमा लिङ्देन पनि आशावादी देखिन्छन्।
‘एमालेका केही साथीहरू मसँग निरन्तर संवादमै हुनुहुन्छ। पार्टीको संस्थागत निर्णय नभए पनि व्यक्तिगत साथ रहन्छ भनिराख्नु भएको छ। कांग्रेसको अन्तद्घन्द्घ देखिराख्नु भएकै छ होला। सबैको रोजाइ म नै हो,’ लिङ्देन ढुक्कसँग भन्छन्।
राप्रपाले झापाको हल्दिबारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित बहुमत, भद्रपुर नगरपालिकामा उपमेयर तथा बाह्रदशी गाउँपालिकामा एक जना वडाध्यक्ष जितेको छ भने सोही पालिकाकी निमसरी राजवंशी प्रदेश सभा सदस्य छन्।
त्यस्तै, कांग्रेसले दुई, एमालेले दुई र राप्रपाले एक पालिका जितेको छ। कांग्रेसले भद्रपुर र कचनकवल, एमालेले बिर्तामोड र बाह्रदशी जित्दा राप्रपाले लिङ्देनकै गृह पालिका हल्दीबारी मात्रै जितेको हो। २०७४ सालको चुनावमा पालिका अध्यक्ष जितेको कचनकवल यसपटक राप्रपाले गुमायो।
यसरी हेर्दा २८ वडा रहेको यो निर्वाचन क्षेत्रमा कांग्रेस, राप्रपा, एमाले र रास्वपाबीच प्रतिस्पर्धा हुने देखिन्छ।
अर्को, आदिवासी बहुल बस्तीहरूले भरिएको झापा-३ मा जसले आदिवासी जनजाति मतदातालाई विश्वस्त पार्न सक्छ, त्यही उम्मेदवारले जित हासिल गर्ने सम्भावना देखिएको छ। आदिवासी जनजाति समुदायबाट एमालेले हरि राजवंशी, जनमत पार्टीले हर्षलाल राजवंशी, जसपाले विनिताकुमारी राजवंशी, जसपा नेपालले कर्णलाल राजवंशीलाई उम्मेदवार बनाएको छ भने अभय राजवंशी स्वतन्त्र उम्मेदवार बनेर चुनावी मैदानमा छन्।
त्यसैले राजवंशी समुदायको मत पाँच जनामा बाँडिने अनुमान गरिएको छ। यससँगै झापा-५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले उम्मेदवारी दिएपछि त्यसको प्रभाव जिल्लाका अन्य क्षेत्रमा पनि पर्ने देखिएको छ।
एकातिर, पाँच जना राजवंशी र रास्वपाको लहरबीच जनाधार भएको कांग्रेसको मुकाविला गर्न लिङ्देनलाई चुनौती देखिन्छ भने अर्कातिर झापा-३ मा ३१ वर्षदेखि चुनाव नजितेको एमालेले १२ वर्षपछि उम्मेदवार पाउँदा प्रतिष्ठाको विषय बनाएको छ।
एमालेले २७ वर्ष शिक्षण पेशामा रहेका र देशकै ठूलो संस्था सहारा साकोसको अध्यक्ष हरि राजवंशीलाई रणनीतिक रुपमा चुनावी मैदानमा उतारेको देखिन्छ। सहारा सहकारीमार्फत राजवंशीले गाउँ गाउँमा गहिरो सञ्जाल स्थापित गरेका छन्।
यसबीच झापा-५ मा रास्वपाका शाहसँगको प्रतिस्पर्धामा सहजताका लागि झापा-३ मा चुनावसम्म एमालेले लिङ्देनका लागि मैदान खाली गरिदिने चर्चा पनि सुनिन्छ। लिङ्देन भने यस पटक एक्लै चुनाव लड्न चाहेको बताउँछन्।
‘हामी घोषित रुपमै एक्लै चुनाव लड्ने थियौँ,’ उनी भन्छन्, ‘मेरो आफ्नो व्यक्तिगत चाहना पनि यो निर्वाचन क्षेत्रमा एक्लै जनताको आशीर्वाद प्राप्त गरेर चुनाव जितौँ र आफ्नो बलमा, आफ्नै खुट्टामा चुनाव जित्न सक्छु भन्ने प्रमाणित गरौँ भन्ने थियो। यो एउटा संयोग पनि त्यही भयो।’
बहुसंख्यक जनताको माग अनुसार संविधान संशोधन तथा हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनासँगै स्थानीय विकासलाई जनताले अनुमोदन गर्ने लिङ्देनको विश्वास छ। राप्रपा आफ्नै धरातलमा उभिएर निर्वाचनमा होमिएकाले जनताले विश्वास गर्ने उनको दाबी छ ।
एमाले उम्मेदवार हरिबहादुर राजवंशी आदिवासी समुदायको बाहुल्य रहेको झापा-३ मा आफूलाई पार्टीले उम्मेदवार बनाउँदा आदिवासी समुदाय धेरै उत्साहित रहेको सुनाउँछन्। कांग्रेस, एमाले र नेकपाका उम्मेदवार गणतन्त्र र परिवर्तनका पक्षमा स्पष्ट भएर उभिएकाले पनि सजिलो भएको उनको तर्क छ।
नेकपाका उम्मेदवार घिमिरे सुशासन र स्थिरता नै आफ्नो प्रमुख एजेन्डा बनाएर जनतामाझ गइरहेको बताउँछन्। यस्तै रास्वपा पाठक जनताले परिवर्तन र युवा खोजेकाले आफूले जित्ने दाबी गर्छन्। कृषि, शिक्षा, पूर्वाधार, डुबान-कटान नियन्त्रण र सुशासन साझा चुनावी प्रतिबद्धता छन्।
Shares

प्रतिक्रिया