निर्वाचन आयोगले आचार संहिता उल्लंघन गर्ने विभिन्न दल तथा उम्मेदवार गरी ७५ जनालाई स्पष्टीकरण सोधेको छ।
ती मध्ये ५२ जनाले मात्रै जवाफ दिएका आयोगले जनाएको छ।
आयोगले यही फागुन १ देखि ७ गतेसम्म भएका गतिविधि सार्वजनिक गर्ने क्रममा सो जानकारी दिएको हो।
‘निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लंघनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाहीका प्रक्रिया जारी राखेको छ। आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुमगन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयहरु क्रियाशील छन्’ आयोगले भनेको छ, ‘केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त उजुरीमध्ये ७५ वटाका सम्बन्धमा सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकोमा जम्मा ५२ वटाको जवाफ प्राप्त भएको छ।’
जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चितताका लागि निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई समुच्च विषय र प्रमुख कोष नियन्त्रक कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ।
अनुगमन अधिकृतहरुले आचारसंहिता परिपालनाका लागि राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालासँग छलफल गर्ने, आचारसंहिता उल्लङ्घनका घटनाको जानकारी लिने र स्पष्टीकरण लिनेलगायतका काम प्रभावकारी रुपमा अघि बढाइरहेका आयोगले जनाएको छ।
Shares

प्रतिक्रिया