नेपाली कम्युनिस्ट पार्टीले यसपटकको चुनावमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सिट बढ्ने आन्तरिक विश्लेषण गरेको छ। सो पार्टीले १६४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ।
नेकपाले देशभरका निर्वाचन परिचालन समितिलाई आन्तरिक चुनावी रिपोर्ट पठाउन भनेको थियो। त्यसरी पठाइएको रिपोर्टलाई केन्द्रीय तहमा रहेको प्रचार समितिले पुनःप्रमाणीकरण गरेको थियो। सो रिपोर्ट अनुसार नेकपाको प्रत्यक्ष र समानुपातिक दुवैतर्फ नतिजा सुधार हुने देखिएको नेताहरू दाबी गर्छन्।
प्रचार समिति संयोजक अग्नि सापकोटाले सुदूरपश्चिम, कर्णाली र बागमतीमा राम्रो सिट जित्ने दाबी गरे। उनी आफै सिन्धुपाल्चोकका हुन्। जिल्ला समितिहरूले प्रत्यक्षतर्फ ५६ सिट जित्ने र ६६ सिटमा प्रतिस्पर्धा हुने आकलनसहितको रिपोर्ट पठाएको उनको भनाइ छ।
देशैभर राष्ट्रिय स्वतन्त्र पार्टीतिर माहोल बढिरहे पनि नेकपाले पाउने मतमा उल्लेख्य प्रभाव पार्न नसक्ने नेकपाका अर्का एक नेताले दाबी गरे।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ लगायतको माओवादी केन्द्रसँगको एकताले समानुपातिक मत बढ्ने नेकपा प्रचार समिति संयोजक अग्नि सापकोटा बताउँछन्।
‘यसपटक प्रत्यक्षमा ५६ वटा सिट जितिने हाम्रो प्रारम्भिक विश्लेषणले देखाएको छ,’ उनले नेपालखबरसँग भने, ‘समानुपातिकमा २० लाख कट्छ।’
२०७९ को चुनावमा कांग्रेससहित पाँच दलीय गठबन्धनका कारण माओवादीले ४७ क्षेत्रमा मात्रै उम्मेदवारी दिएको थियो। जसमा प्रत्यक्षतर्फ १८ र समानुपातिकमा ११ लाख ७२ हजार मत पाएको थियो। यस्तै, एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जितेको थियो। तर, ३ लाख मत पाउन नसक्दा राष्ट्रिय पार्टी बनेको थिएन। नाउपाले प्रत्यक्षमा ४ सिट जितेको थियो।
जेनजी आन्दोलनले कांग्रेस–एमाले समस्यामा परे पनि नेकपा जोगिएको, आफूहरूले उठाएको विषय जेनजी आन्दोलनमा उठेको, सुशासनका लागि प्रयास गर्दा सरकार नै ढलेका कारण आफूहरूलाई चुनावमा जान सहज भएको सो पार्टीका नेताहरूको भनाइ छ।
‘कर्णाली, बागमती र सुदूरपश्चिममा हामीलाई राम्रो मत आउँछ,’ सापकोटाले थपे, ‘सरकार छोडेर अध्यक्ष प्रचण्ड देशका विभिन्न ठाउँमा पुगेपछि हाम्रो पक्षमा माहोल बन्दै गएको रहेछ। त्यही भएर देशभर पहिलाभन्दा हाम्रो सिट बढ्छ।’
तर, पार्टीभित्रको विद्रोहका कारण सिन्धुली, दाङ र तराईका कम्तीमा दुई वटा क्षेत्रमा असर गर्ने सर्वेक्षणले देखाएको प्रचार समितिका एक नेताले बताए। सिन्धुली र दाङमा नेकपा छाडेर स्वतन्त्र उठेका उम्मेदवारको टक्करले यो पार्टीका उम्मेदवार अप्ठेरोमा छन्।
समानुापतिकमा उल्लेख्य मत बढ्ने देखिए पनि मधेस प्रदेशबाट सोचेजति मत पाउन नसकिने नेकपाको आन्तरिक रिपोर्टले देखाएको नेताहरू बताउँछन्।
नेकपाले प्रदेशगत रुपमा प्रतिस्पर्धा हुने दलहरू पनि पहिचान गरेको छ। सुदूरपश्चिममा कांग्रेस, एमालेसँग प्रतिस्पर्धा हुने देखिएको चुनावी विश्लेषणमा सहभागी अर्का नेताले बताए।
प्रदेशगत हिसाब–किताब
सुदूरपश्चिममा १६ मध्ये १४ सिटमा आफ्ना उम्मेदवार प्रतिस्पर्धामा रहेको नेकपाका नेताहरूको भनाइ छ। जहाँबाट ५ सिट उसले जितिने सूचीमा राखेको छ।
‘माओवादीको परम्परागत मत जोगिन्छ, रास्वपाले हाम्रो मत काट्दैन, बरु कांग्रेस र एमालेको काट्दा हामीलाई फाइदा हुन्छ,’ चुनावी विश्लेषणमा सहभागी एक नेताले भने, ‘उम्मेदवार छनोटले पनि हाम्रो पक्षमा माहोल बढ्न थाल्यो।’
यसअघिका चुनावमा अधिकांश ठाउँमा पछि परे पनि यसपटक सबै क्षेत्रमा राम्रो हुँदै गएको रिपोर्ट आएको उनको भनाइ छ।
‘अहिलेसम्म रहेको परिदृश्य चुनावसम्म कायम रहे हामी सुदूरपश्चिममा ५ देखि ७ सिट जित्छौँ,’ प्रचार समिति संयोजक सापकोटाको दाबी छ।
नेकपाले सबैभन्दा राम्रो नतिजा कर्णालीमा प्राप्त गर्ने उनको भनाइ छ। जहाँबाट नेकपाका ७ जना उम्मेदवारले जित निकाल्ने आन्तरिक विश्लेषण छ। कर्णाली प्रदेशका सुर्खेत र दैलेखमा दुई–दुई र ८ जिल्लामा एक–एक गरी १२ निर्वाचन क्षेत्र छन्।
नेकपाले सुर्खेतका दुई र दैलेखका २ वटै क्षेत्र जित्न कठिन सूचीमा राखेको छ। मुगुमा तीव्र प्रतिस्पर्धा हुने रिपोर्ट पाएको चुनावी विश्लेषणमा सहभागी नेताहरूको भनाइ छ।
नेकपाले हुम्ला, जाजरकोट र सल्यान जित्ने सूचीमा राखेको छ। डोल्पा, जुम्ला, रुकुम पश्चिम र कालीकोटमा तीव्र प्रतिस्पर्धा भएपनि एक हप्तायता जित्ने परिस्थिति बन्दै गएको नेताहरूको दाबी छ।
लुम्बिनीमा नेकपाले रुकुम पूर्व, रोल्पा, बर्दिया र कपिलवस्तुको एउटा क्षेत्र निश्चित जित्ने सूचीमा राखेको छ। रुकुम पूर्वमा प्रचण्ड उठेका छन्। रोल्पामा वर्षमान पुन उम्मेदवार छन्।
अहिलेसम्म कपिलवस्तुको एउटा, दाङको एउटा र नवलपरासीको एउटा क्षेत्रमा तीव्र प्रतिस्पर्धा रहेको रिपोर्ट लुम्बिनीबाट आएको नेताहरू बताउँछन्।
गण्डकीमा नेकपाले गोरखाका २ वटै क्षेत्र र बागलुङ २ जित्ने सूचीमा राखेको छ। त्यसबाहेक, मनाङ, लमजुङमा प्रतिस्पर्धा हुने प्रारम्भिक सर्वेले देखाएको नेताहरूले बताए।
‘गण्डकीका अन्य केही क्षेत्रमा हाम्रो तीव्र प्रतिस्पर्धा हुने देखिन्छ,’ एक नेताले भने।
बागमतीमा नेकपाले काठमाडौँको एउटा क्षेत्र, सिन्धुपाल्चोकका दुवै क्षेत्र, धादिङको एउटा, चितवन ३, काभ्रेको एउटा, दोलखा र रामेछाप जित्ने सूचीमा राखेको छ। काठमाडौँका २ क्षेत्र, नुवाकोटका दुवै, ललितपुर क्षेत्र ३ र रसुवा प्रतिस्पर्धा हुनेमा राखेको छ।
कांग्रेस र रास्वपाको प्रभाव रहने अनुमान गरिएको मधेस प्रदेशका ८ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा नेकपाले कम्तीमा ६ सिट जित्ने आकलन गरेको छ। जसमा सर्लाहीका २ क्षेत्र, महोत्तरीका २ वटा क्षेत्र, रौतहट र सिरहाको एउटा क्षेत्र छन्।
धनुषा, सप्तरीका केही क्षेत्रमा कडा प्रतिस्पर्धामा आउने उसको विश्लेषण छ। बारा, पर्सामा प्रतिस्पर्धामा आए पनि चुनाव जित्न कठिन हुने विश्लेषण छ।
नेकपाले कोसी प्रदेशका ४ क्षेत्रमा जित्न सकिने आन्तरिक रिपोर्ट प्रचार समितिलाई पठाएको नेताहरू बताउँछन्। त्यस्तै, ४ वटामा तीव्र प्रतिस्पर्धा हुने उनीहरूको भनाइ छ।
अग्नि सापकोटा लगायतका नेताहरूले प्रत्यक्षतर्फ नेकपाले ५६ सिट जित्ने आन्तरिक विश्लेण रहेको दाबी गरे पनि प्रदेसगत विश्लेषणमा ३७ क्षेत्रमा यो पार्टीले जित्ने निष्कर्ष निकालेको देखिन्छ।
माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको एकताले समानुपातिक मत बढेर २० लाख पुग्ने नेकपाका नेताहरूको दाबी छ। जसबाट २३ आसपास सिट सुरक्षित हुने उनहरूको भनाइ छ।
नेपालखबरले बुधबार प्रकाशित गरेको एमालेको आन्तरिक विश्लेषण जस्तै नेकपाको पनि यो आन्तरिक आकलन मात्रै हो।
Shares

प्रतिक्रिया