राजनीति


कांग्रेसलाई ‘शुभकामना’ दिएर प्रकाशमान पन्छिँदा उपत्यकाका १५ सिटमा कसको पल्ला भारी

कांग्रेसलाई ‘शुभकामना’ दिएर प्रकाशमान पन्छिँदा उपत्यकाका १५ सिटमा कसको पल्ला भारी

लोकेन्द्र भट्ट
फागुन ५, २०८२ मंगलबार १७:५९, काठमाडौँ

काठमाडौँबाट राजनीतिमा उदाएका नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहलाई फागुन २१ को निर्वाचनपछि सम्भावित प्रधानमन्त्रीको रुपमा हेरिएको छ। कांग्रेसले गगन र रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार नै घोषणा गरेर चुनावी मैदानमा उतारेको छ। यद्यपि, काठमाडौँ छाडेर गगन सर्लाही–४ र बालेन झापा–५ पुगेका छन्।

पुस २७–३० मा सम्पन्न पार्टीको विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेका गगन र काठमाडौँको मेयर पद बीचैमा छोडेर रास्वपा प्रवेश गरेका बालेनको प्रधानमन्त्रीको दौडले राजधानी काठमाडौँ तरंगित त छ। तर काठमाडौँको रातोपुल निवासी गगन मधेस र सिनामंगल निवासी बालेन कोसी प्रदेश पुग्दा काठमाडौँ उपत्यकामा चुनावी रौनक भने खासै देखिएको छैन। कांग्रेसका संस्थापक नेता स्वर्गीय गणेशमान सिंहको निवास चाक्सीबारी फागुन २१ को चुनावी चर्चाबाहिर छ।

२०४६ सालको जनआन्दोलनका कमान्डर गणेशमान र नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको परिवार चार दशकपछि यसपाली काठमाडौँको चुनावी मैदानमा छैन। २०३४ मा नेविसंघको केन्द्रीय सदस्य बनेपछि पूर्णकालीन राजनीतिमा लागेका प्रकाशमान काठमाडौँमा निरीह बन्न पुगेका छन्।

काठमाडौँ नेविसंघ अध्यक्ष हुँदै २०४७ पछि १० वर्षसम्म कांग्रेसको काठमाडौँ जिल्ला सभापति बन्दा काठमाडौँ कांग्रेस प्रकाशमानकै इसारामा चल्थ्यो। कांग्रेसको १० औँ महाधिवेशनमा केन्द्रीय सदस्य जितेका प्रकाशमान कांग्रेस विभाजित हुँदा शेरबहादुर देउवाको नेतृत्वको कांग्रेस प्रजातान्त्रिक उप–सभापति बनेका थिए। २०६४ मा पार्टी एकीकरण हुँदा पनि उपसभापति भएका उनी कांग्रेसको १२ औँ महाधिवेशनमा महामन्त्री निर्वाचित भएका थिए।

२०४८ मा काठमाडौँ–४ मा र २०५१ मा काठमाडौँ–३ मा पराजित प्रकाशमान २०५३ सालमा राष्ट्रिय सभा सदस्य बनेका थिए। २०६४ देखि ०७९ सम्म लगातार काठमाडौँ १ बाट निर्वाचित प्रकाशमान अहिले चुनावी मैदानमा छैनन्। पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस शीर्ष नेता प्रकाशमानको काठमाडौँ १ को टिकट सभापति थापाले प्रबल थापालाई थमाएपछि चाक्सीबारी चित्त दुखाएर बसेको छ। कांग्रेसका उम्मेदवारहरू आशीर्वाद लिन चाक्सीबारी पुग्दा प्रकाशमानले सहयोगविहीन ‘शुभकामना’ दिएर फर्काइरहेका छन्।

अहिलेसम्म उनी कतै पनि कांग्रेसको चुनावी अभियानमा जोडिएका छैनन्। ‘हाम्रो अनुहार देखियो भने पार्टी बर्बाद हुन्छ। यो अनुहार लिएर चुनावमा जान सकिँदैन भनेको भएर पार्टीको भोट किन घटाइ दिने’ भनेर सभापति थापाले भनेको भन्दै प्रकाशमान चुनावी अभियानमा जोडिन चाहेका छैनन्। प्रकाशमानको मौनताले काठमाडौँमा कांग्रेसले सोचेअनुसार माहोल ल्याउन सकेको छैन। कांग्रेस प्रवक्ता देवराज चालिसेले पनि प्रकाशमान सिंह चुनावी अभियानमा जोडिँदा कांग्रेसलाई धेरै जित्न सहज हुने बताएका थिए। तर, नेतृत्व तहबाट चुनावी अभियानमा जोड्न कुनै पहल नभएको उनीहरूको भनाइ छ।

काठमाडौँमा कांग्रेसको यस्तो मनमुटाव, एमाले र रास्वपामाथि उठेको प्रश्न, नेकपाको कमजोर जनाधार र नयाँ पार्टीको बिगबिगीले चुनावी परिणाम अनुमान गर्न कठिन बन्दा कुतूहल बढ्दो छ।

दलहरूको हिसाब–किताब
२०७९ को निर्वाचनमा कांग्रेसले काठमाडौँका १, ३, ४, ५ र १० क्षेत्र जित्दा ललितपुर १ र भक्तपुर २ जितेको थियो। एमालेले काठमाडौँ–९ र ललितपुर–२ जितेको थियो भने रास्वपाले काठमाडौँ २, ६, ७, ८ र ललितपुर ३ जितेको थियो। 

काठमाडौँ उपत्यकाका १५ सिटमा समानुपातिकतर्फ कांग्रेस ५, एमाले ४, रास्वपा ५ र नेमकिपा १ ठाउँमा पहिलो छ। १५ सिटको समानुपातिक मत जोड्दा रास्वपाले १ लाख ६२ हजार १२९, एमालेले १ लाख ४५ हजार ९४६, कांग्रेसले १ लाख ४१ हजार ३६३, नेकपाले ५२ हजार १७० र नेपाल मजदुर किसान पार्टीले ५५ हजार ७० मत प्राप्त गरेको देखिन्छ। काठमाडौँ–१ मा कांग्रेस, रास्वपा, राप्रपा र एमालेको क्रमशः मत निर्धारण हुँदा २ मा रास्वपा र राप्रपा प्रतिस्पर्धामा आए र एमाले–कांग्रेस पछाडि परे। 

काठमाडौँ–३ मा भने कांग्रेस र एमाले प्रतिस्पर्धी देखिँदा रास्वपा र राप्रपा पछाडि धकेलिएका थिए। काठमाडौँ–४ मा कांग्रेस, एमाले, रास्वपा र राप्रपाले क्रमशः मत पाउँदा ५ मा रास्वपाले पहिलो मत पायो। त्यसपछि कांग्रेस, एमाले र राप्रपा छन्। काठमाडौँ–६ र ७ मा रास्वपा, एमाले, कांग्रेस र राप्रपाको क्रमशः स्थान छ भने ८ मा रास्वपा, हाम्रो पार्टी, राप्रपापछि कांग्रेस र एमाले छन्। काठमाडौँ–९ मा रास्वपा, एमाले, कांग्रेस र राप्रपाले क्रमशः मत पाउँदा १० मा कांग्रेस, रास्वपा, एमाले र राप्रपा गरी मत बाँडिएको थियो।

ललितपुर–१ मा कांग्रेस, एमाले, रास्वपा र नेकपा, २ मा रास्वपा, एमाले, कांग्रेस र राप्रपा, ३ मा रास्वपा, एमाले, राप्रपा, कांग्रेस र नेकपाको क्रमशः मत थियो। भक्तपुर–१ मा नेमकिपा, कांग्रेस, रास्वपा र एमालेले क्रमशः पाउँदा २ मा एमाले, कांग्रेस, रास्वपा, नेमकिपाको मत छ। 

यसपटक काठमाडौँ उपत्यकाका १५ सिटमा कांग्रेसले ९ सिट जित्ने हिसाब राखेको छ। काठमाडौँ १, २, ३, ४, ५, ६ र १० को चुनावी प्रतिस्पर्धामा अहिलेसम्म अगाडि रहेको कांग्रेसको विश्लेषण छ।

यस्तै ललितपुर १ र ३ मा पनि जित्न सकिने सम्भावना कांग्रेसले देखेको छ। बाँकी क्षेत्रमा चुनाव जित्न कडा मेहनत गर्नुपर्ने कांग्रेस नेताहरू बताउँछन्। कांग्रेस सहमहामन्त्री तथा ललितपुर १ का उम्मेदवार उदयशमशेर राणाले उपत्यकामा कांग्रेसले विगतको भन्दा राम्रो सिट जित्ने बताए। 

‘बदलिएको कांग्रेसलाई देश बदल्ने जिम्मेवारी दिन उपत्यकाबासी उत्सुक हुनुहुन्छ। पहिले हामीले ७ सिट जितेका थियौँ। अहिले हामी बहुमत सिट जित्नेमा ढुक्क छौँ। बाँकी ठाउँमा पनि राम्रै प्रतिस्पर्धा भइरहेको साथीहरूले सुनाइराख्नु भएको छ,’ उनी भन्छन्। 

यता एमालेले काठमाडौँ ३, ४, ५, ७, ९, ललितपुर २ र भक्तपुर २ लाई जित्ने सम्भावित सूचीमा राखेको छ। एमाले सचिव तथा काठमाडौँ ४ का उम्मेदवार राजन भट्टराईले एमालेले ८–१० सिट सहिजै जित्ने अवस्था बनेको बताउँछन्। 

उनले भने, ‘हामीले ८–१० सिटमा सहजै जित्ने अवस्था बनेको छ। पार्टीभित्रको एकता, संगठन र जनताको विश्वास नै हाम्रो जितको आधार हो।’

यस्तै काठमाडौँ १, ४, ५, ६, ७, ८, ९ ललितपुर–३ गरी ८ सिट जित्ने रास्वपाको आकलन छ। रास्वपा उपसभापति तथा काठमडौँ ९ का उम्मेदवार डीपी अर्याल जनता परिवर्तनको पक्षमा उभिएको भन्दै काठमाडौँ उपत्यकामा रास्वपाले नसोचेको परिणाम ल्याउने बताउँछन्। 

उनले भने, ‘रवि लामिछाने र बालेन शाहले देश चलाऊन् भन्ने जनताको इच्छा देखिन्छ। हामीले बहुमतको सरकार बनाउने गरी मत दिनुहुन्छ भन्नेमा विश्वस्त छौँ। काठमाडौँ उपत्यकामा माहोल राम्रो छ।’

यता नेकपाले पनि उपत्यकामा काठमाडौँका ७, ८ र १० लाई जित्ने सम्भावित क्षेत्रमा राखेको छ। नेकपाका नेता राजेन्द्र श्रेष्ठ भने उपत्यकामा कम्तीमा ५ सिट जित्ने बताउँछन्। 

‘यो पटक देशभर नेकपा र रास्वपाको लहर छ। काठमाडौँ उपत्यकामा हामी कम्तीमा ५ सिट जित्छौँ,’ उनी भन्छन्। 

जेनजी आन्दोलनपछि एमाले निकै खस्किएको भन्दै कांग्रेस यथावस्थामै रहेको उनले सुनाए।

‘म देशभर चुनावी अभियानमा हिँडिरहेको छु। मधेसबाट हिजो काठमाडौँ फर्किएको थिएँ। अहिले नेकपा र रास्वपाको लहर छ। कांग्रेस यथावस्थामा छ भने एमाले निकै खस्किएको पाएँ,’ श्रेष्ठले नेपालखरबसँग भने।

यस्तै उज्यालो नेपाल पार्टीले काठमाडौँ १, ३, ७ र ९ जित्न सक्ने आकलन गरेको छ। उज्यालो नेपाल पार्टीका नेता तथा काठमाडौँ ९ का उम्मेदवार रामेश्वर श्रेष्ठले काम गर्ने नयाँलाई जनताले मत दिने बताए। 

‘काठमाडौँ उपत्यकामा हामी अधिकतम सिट जित्छौँ। जनताले पुराना पार्टीको त नामै सुन्न चाहनुहुन्न। नयाँमा पनि काम गर्नेलाई मत दिन्छौँ भनिराख्नु भएको छ,’ काठमाडौँ–९ का उम्मेदवार श्रेष्ठले भने, ‘काम गरेर प्रमाणित कुलमान घिसिङको पार्टीलाई मत दिन्छौँ भनेर हामीलाई भनिराख्नु भएको छ।’

राजनीतिक विश्लेषक केशव दाहाल भने अहिले नै काठमाडौँ उपत्यकाको १५ सिटको धेरै हिसाबकिताब गर्न कठिन देखिएको बताउँछन्। 

‘उपत्यकाका १५ सिटको अहिले नै अनुमान लगाउन कठिन छ। तर, काठमाडौँका मतदाता विद्रोही स्वभावका छन्,’ उनी भन्छन्, ‘काठमाडौँबाट कुनै बेला नानीमैया दाहालले जित्नु भएको थियो। गतिलो उम्मेदवार नभई त्यो एउटा व्यांग्यात्मक विद्रोह थियो।’

काठमाडौँ उपत्यका बसाइँ सरेका मान्छेहरूको सहर भएको भन्दै अधिकांश नयाँ उम्मेदवार रहेकाले सजिलै अनुमान गर्न नसकिने उनको विश्लेषण छ। 

‘विभिन्न ठाउँमा जन्मिएर हुर्किएका मान्छेहरू काठमाडौँमा आएर जितेका छन्। मदन भण्डारी, विद्या भण्डारी, माधव नेपाल, ईश्वर पोखरेल लगायतले पनि जित्नुभयो। मधेसी समुदायका बालेन शाहले काठमाडौँको मेयर जित्नु आफैमा आश्चर्य थियो। काठमाडौँका मतदाताको चरित्र स्विङ गर्नेखालको छ,’ उनी भन्छन्, ‘२०७० मा गाई चिन्हमा उल्लेख्य भोट हाल्दा प्रत्यक्षमा कम्युनिस्टले जिते। सबैजसो पार्टीबाट नयाँ उम्मेदवार हुँदा कसको प्रभाव के हो भन्न सकिँदैन। पहिलेको निरन्तरतामा यसपालि ब्रेक लाग्न सक्छ।’ 

रास्वपाले जितेका ठाउँमा नागरिकबाट प्रश्न उठ्दा काठमाडौँ उपत्यकाको जनमत कांग्रेसतिर ढल्किने सम्भवना देखिएको उनको बुझाइ छ। 

‘काठमाडौँको मत कांग्रेसतिर ढल्किन खोजेको हो कि भन्ने देखिन्छ। रास्वपाले नजितेको ठाउँमा उनीहरूलाई स्वागत गरेको देख्छौँ। रास्वपाको हकमा काठमाडौँ सन्तुलित नै छ,’ दाहालले भने। 

यसपटक काठमाडौँमा कम्युनिस्टलाई भने धेरै चुनौती देखिने उनको भनाइ छ। 

‘२०४८ पछि कम्युनिस्ट विद्रोहको प्रतीक देखिँदा काठमाडौँ उपत्यकामा जित्ने अनुहार र संख्या पनि कम्युनिस्टकै बढी थियो। भक्तपुर, ललितपुर र काठमाडौँमै पनि हेर्न सक्छौँ। अन्य देशको राजधानी यतिधेरै विद्रोही हुँदैन। काठमाडौँमा यसपटक कम्युनिस्टलाई चुनौती धेरै देखिँदैछ। देशैभरिको मनोविज्ञान यहाँ पनि देखिन्छ,’ उनले भने।

‘काठमाडौँले बालेन होइन, गगन रोज्छ’
काठमाडौँले कांग्रेसमा गगन थापाले गरेको विद्रोह अनुमोदन गर्छ कि काठमाडौँको मेयर छोडेर प्रधानमन्त्री बन्ने बालेन शाहको चाहनालाई स्वागत गर्छ भन्ने प्रश्नमा विश्लेषक दाहालको अनुमान गगनतिर ढल्कियो। 

‘मतको आँकडामा भन्न सक्दिनँ। तर, लहर हेर्दा काठमाडौँले गगनको विद्रोह मन पराएको छ। लेख्ने, बोल्ने, प्रश्न गर्ने समूह छ। जो धेरै उत्ताउलो नभई राजनीतिमा रुपान्तरण आवश्यक छ भन्ने गहिरो अनुभूति राख्छ। त्यो समूहले गगनलाई मन पराएको छ। त्यसको मतदातासम्म कति प्रभाव पर्छ मलाई थाहा छैन। यसले नेपाली कांग्रेसलाई फाइदा नै हुन्छ होला,’ उनको अनुमान छ।

बालेन शाह युवामाझ अन्य ठाउँमा लोकप्रिय देखिए पनि काठमाडौँमा प्रश्नको घेरामा रहेको दाहालको बुझाइ छ। 

‘काठमाडौँमा बालेन शाहमाथि धेरै प्रश्न छ। त्यो प्रश्न रास्वपासँग पनि जोडिन्छ। उहाँले राम्रो गर्नुभएको होला। कि त उहाँले मान्छेलाई बुझाउन सक्नुभएन, कि त मान्छेको मनोविज्ञान बुझ्नु भएन। नदी–किनारको जग्गा प्रकरणमा उहाँ प्रश्नको घेरामा हुनुहुन्छ। महानगरको मेयर हुँदा मान्छेसँग सघन संवाद गर्नुभएन,’ उनले भने।

दाहालले अगाडि भने, ‘उहाँमा अहंकार देखियो। काठमाडौँबाहिर उहाँको जति क्रेज देखिन्छ, काठमाडौँमा धेरै प्रश्न छ जस्तो लाग्छ। यसले रास्वपा र रास्वपाका उम्मेदवारलाई प्रभावित गर्छ होला। तर, अन्तिममा भन्छु– काठमाडौँमा हेर्नु नै पर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad