प्रतिनिधि सभाको निर्वाचनका लागि उज्यालो नेपाल पार्टी (उनेपा)ले ल्याएको प्रतिबद्धतापत्रमा स्थानीय निर्वाचनलाई दलविहीन बनाउने प्रतिबद्धता जनाएको छ।
आइतबार उनेपाका अध्यक्ष कुलमान घिसिङले सार्वजनिक गरेको चुनावी प्रतिबद्धतापत्रमा सांसदको संख्या घटाउने र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरिने उल्लेख छ। यससँगै स्थानीय निर्वाचनमा पनि सुधार गर्ने जनाइएको छ।
उनेपाले भनेको छ, ‘विकासलाई गति दिन र विकासमा दलगत स्वार्थभन्दा साझा सहमति कायम गनेर् संस्कारको विकास गर्न स्वतन्त्र उम्मेदवारबीच मात्र प्रतिस्पर्धा हुनेगरी स्थानीय निर्वाचनलाई निर्दलीय बनाइनेछ।’
यस्तै, बेजिल्ला र विदेशबाट निर्वाचनमा मतदान गर्ने व्यवस्था गर्ने पनि जनाइएको छ। ‘मतदातालाई लोकतान्त्रिक अभ्यासप्रति आकर्षण गर्न बेजिल्लामा रहेका मतदाताहरूले नजिकको मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था गरिनेछ। साथै विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानको सुनिश्चितता गरिनेछ,’ उनेपाले भनेको छ।
यससँगै उनेपाले नो-भोट विकल्प पनि व्यवस्था गर्ने प्रतिबद्धता गरेको छ। ‘मतदाताले विरोध मत दर्ता गर्न मतदान पत्रमा कुनै पनि होइन भन्ने विकल्प रोज्ने व्यवस्था गरिनेछ,’ प्रतिबद्धतापत्रमा भनिएको छ।
उनेपालले दलीय ट्रेड युनियन खारेज गर्ने पनि उल्लेख गरेको छ। प्रतिबद्धतापत्रमा भनिएको छ, ‘राजनीति दलको भातृसंगठनका रुपमा खुलेका ट्रेड यूनियनहरू खारेज गरी निजामति तथा सार्वजनिक संस्थानका कर्मचारीको हकहितमा काम गर्नेगरी एउटा मात्रै आधिकारिक ट्रेड युनियन राख्ने व्यवस्था गरिनेछ।’
सरकार गठन भएपछि हरेक वर्ष चुनावी प्रतिबद्धतामा उल्लेख भएका विषयमा रिपोर्ट कार्ड सार्वजनिक गर्ने पनि अध्यक्ष घिसिङले बताए। ‘हाम्रो सरकार गठन भएपछि हरेक वर्ष हामी प्रतिबद्धता कार्यान्वयनको प्रगति रिपोर्ट कार्ड सार्वजनिक गर्नेछौँ। यो रिपोर्टबाट आम मतदाताले हाम्रो कामको प्रत्यक्ष मूल्यांकन गर्न सक्नुहुनेछ,’ उनले भने।
Shares

प्रतिक्रिया