राजनीति


ओलीका ‘प्रिय’ ७२ सिटमा गगन-बालेनको धावा

ओलीका ‘प्रिय’ ७२ सिटमा गगन-बालेनको धावा

लोकेन्द्र भट्ट
फागुन २, २०८२ शनिबार १०:३२, काठमाडौँ

नेपाली कांग्रेसमा गगन थापाको उदय र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा बालेन्द्र शाह (बालेन) को प्रवेशले बढाएको चुनावी चमकदमकमा देश डुबेको छ। भदौ २३ र २४ मा भएको जेन्जी आन्दोलनले नेपालको नियमित राजनीतिक दिशा बदलेपछि हुन लागेको निर्वाचनको बहसको केन्द्रमा गगन र बालेन नै छन्। 

आन्दोलनबाट बदनामी बेहोरेर सत्ताच्युत हुनुपरेका अनि यतिबेला चौतर्फी घेराबन्दी र आलोचनाको केन्द्रमा रहेका एमाले अध्यक्ष ओली शर्मा ओलीले चुनावमा तिनै गगन र बालेनको मुकाबिला गर्नुपर्ने देखिन्छ।

एमाले, कांग्रेस र रास्वपाबाट केपी, गगन र बालेन प्रधानमन्त्रीको उम्मेदवारका रुपमा पनि चुनावी मैदानमा छन्। तत्कालीन माओवादी, एकीकृत समाजवादीसहित दल मिलेर बनेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनावी चर्चा ज्यादा देखिँदैन। रास्वपाले नयाँ राजनीतिक शक्तिको भाष्य निर्माण गर्दा कांग्रेस पनि विशेष महाधिवेशन गरेर नयाँ बनेको दाबी गरिरहेको छ। नयाँ परिवेशमा हुन लागेको चुनावमा पुरानै नेतृत्व बोकेर हिँडेको एमालेसामु विगतको विरासत जोगाउन चुनौतीको पहाड खडा छ। 

२०७९ को निर्वाचनमा पार्टी विभाजन र असंवैधानिक संसद् विघटनबारे प्रश्नको भारी बोकेर निर्वाचनमा गएका ओली नेतृत्वको एमालेले सन्तोषजनक परिणाम प्राप्त गरेको थियो। कांग्रेस, तत्कालीन माओवादी, आफ्नो पार्टीबाट विभाजित एकीकृत समाजवादीसहितको गठबन्धनको मुकाबिला गरेको ओली नेतृत्वको एमाले समानुपातिकतर्फ पहिलो भएको थियो। 

गत निर्वाचनमा १६५ क्षेत्रमध्ये समानुपातिकतर्फ एमाले ७२, कांग्रेस ४७, नेकपा ११, रास्वपा १४, जसपा ९, जनमत ६, नाउपा ४, नेमकिपा र राप्रपालाई एक–एक क्षेत्रमा पहिलो मत प्राप्त भएको थियो। आसन्न चुनावमा कांग्रेसले गगन र रास्वपाले बालेनको लोकप्रिय व्यक्तित्वमार्फत समानुपातिकमा मत बटुल्ने आकलन भइरहेको छ। 

गत निर्वाचनमा समानुपातिकमा ओलीको एमालेले ‘लोकप्रिय’ मत प्राप्त गरेको ७२ सिटमा गगन र बालेनले धावा बोल्ने चर्चा भइरहेका बेला नेपालखबरले १६५ क्षेत्रको समानुपातिक मतको दलगत अवस्था केलाएको छ।

सो क्रममा तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका साथै तत्कालीन जसपा र लोसपाले पाएको समानुपातिक मतलाई जोडेर हिसाब निकालिएको छ। 

कुन सिटमा कुन दल अगाडि?
कोसी प्रदेशका २८ निर्वाचन क्षेत्रमा एमाले २१ र कांग्रेस ७ क्षेत्रमा समानुपातिकमा पहिलो छ। सुनसरी १, झापा २ र ५ मा रास्वपा दोस्रो छ। ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, सोलुखुम्बु र ओखलढुंगामा क्रमशः एमाले, कांग्रेस, नेकपा र रास्वपाले मत पाएका थिए। पाँचथरमा एमाले पहिलो बन्दा कांग्रेस, नेकपा, राप्रपा र रास्वपाको स्थान क्रमशः छ।

समानुपातिकमा धनकुटा, भोजपुर र खोटाङमा एमाले, कांग्रेस, नेकपा, जसपा र रास्वपाले क्रमशः मत पाएका थिए। इलाम र उदयपुरका ४ वटा क्षेत्रमा एमाले पहिलो हुँदा कांग्रेस दोस्रो र नेकपा तेस्रो स्थानमा थियो। 

सुनसरीका ४ निर्वाचन क्षेत्रमध्ये तीन वटामा एमाले र १ क्षेत्रमा कांग्रेस समानुपातिकमा पहिलो छ। सुनसरी १ मा एमाले र रास्वपा, कांग्रेस, राप्रपा, नेकपा र जसपाले क्रमशः मत पाउँदा सुनसरी २ मा एमाले, कांग्रेस, रास्वपा, राप्रपा, नेकपा र जसपाको मत छ। सुनसरी ३ मा एमाले, कांग्रेस, रास्वपा, नेकपा, राप्रपाले क्रमशः मत पाउँदा सुनसरी ४ मा कांग्रेस, एमाले, जसपा, राप्रपा र रास्वपाको स्थान निर्धारण भएको थियो।

झापाका ५ क्षेत्रमध्ये एमाले तीन र कांग्रेस दुई क्षेत्रमा समानुपातिकमा पहिलो भएको थियो। झापा १ मा कांग्रेस, एमाले, रास्वपा, राप्रपा र नेकपाको क्रमशः स्थान तय हुँदा झापा २ मा एमाले, रास्वपा, कांग्रेस, राप्रपा र नेकपाको समानुपातिक मत देखिन्छ।

झापा ३ मा कांग्रेस, राप्रपा, एमाले, रास्वपा र नेकपाको क्रमशः मत छ भने झापा ४ मा एमाले कांग्रेस, रास्वपा, नेकपा र राप्रपाको छ। झापा ५ मा एमाले, रास्वपा, कांग्रेस, नेकपा र राप्रपाको मत देखिन्छ। 

मोरङका ६ क्षेत्रमध्ये कांग्रेस ४ वटा र एमाले २ वटा क्षेत्रमा समानुपातिक मतमा पहिलो छ। मोरङ १ मा एमाले, कांग्रेस, रास्वपा र नेकपाको मत देखिन्छ भने २ मा एमाले, कांग्रेस, नेकपा र रास्वपाले क्रमशः मत पाएका छन्। 

यस्तै, मोरङ ३ मा कांग्रेस, एमाले, रास्वपा, राप्रपा र नेकपाले मत पाउँदा ४ मा कांग्रेस, एमाले, नेकपा, राप्रपा र रास्वपाले क्रमशः आफ्नो स्थान तय गरेको देखिन्छ। यस्तै मोरङ ५ मा कांग्रेस, जसपा, एमाले, नेकपा र रास्वपाको मत देखिँदा ६ मा कांग्रेस, एमाले, रास्वपा, राप्रपा र नेकपाको उपस्थिति छ। 

मधेस प्रदेशका ३२ क्षेत्रमध्ये समानुपातिकमा कांग्रेस ११, एमाले ५, जसपा ७, जनमत ६ र नेकपा ३ ठाउँमा पहिलो भएका छन्। सप्तरीका ४ क्षेत्रमा पहिलो स्थानमा जनमत पार्टीको एकलौटी छ।

सप्तरी १ मा जनमत, जसपा, एमाले, कांग्रेस र नेकपाले क्रमशः मत पाउँदा २ मा पनि जनमत, जसपा, नेकपा, कांग्रेस र एमाले थिए। यस्तै सप्तरी ३ मा जनमत, कांग्रेस, जसपा, एमाले र नेकपाको स्थान तय हुँदा ४ मा जनमत, जसपा, कांग्रेस, नेकपा, नागरिक उन्मुक्ति र एमालेको क्रमशः मत थियो। 

सिरहाका ४ क्षेत्रमध्ये २ मा कांग्रेस र २ मा जनमतले पहिलो मत पाएका थिए। सिरहा १ मा कांग्रेस, एमाले र जसपा, २ मा जनमत, एमाले र कांग्रेस, ३ मा कांग्रेस, एमाले र जनमत, ४ मा जनमत, जसपा र एमालेको मत क्रमशः छ। 

धनुषाका ४ क्षेत्रमध्ये ३ वटामा एमाले र १ मा कांग्रेस पहिलो छन्। धनुषा १ मा एमाले, कांग्रेस र जनमत, २ मा एमाले, कांग्रेस र जसपा, ३ मा कांग्रेस, एमाले र जनमत, ४ मा एमाले, कांग्रेस र जसपाको क्रमशः मत छ। 

महोत्तरीका ४ क्षेत्रमध्ये तीनमा जसपा र एक क्षेत्रमा नेकपा पहिलो छ। महोत्तरी १ मा नेकपा, एमाले र जनमत, २ मा जसपा, कांग्रेस, जनमत, ३ मा जसपा, जनमत, कांग्रेस तथा ४ मा जसपा, जनमत र कांग्रेसको क्रमशः मत छ।

सर्लाहीका ४ क्षेत्रमध्ये २ क्षेत्रमा जसपा, तथा कांग्रेस र नेकपा एक–एक क्षेत्रमा समानुपातिकमा पहिलो छन्। सर्लाही १ मा जसपा, नेकपा, एमाले र कांग्रेस, २ मा जसपा, कांग्रेस, जनमत र नेकपा, ३ मा नेकपा, एमाले, जसपा र कांग्रेस, ४ मा कांग्रेस, जनमत, नेकपा र एमालेको मत क्रमशः छ। 

रौतहटका ४ क्षेत्रमध्ये तीनमा कांग्रेस र एक क्षेत्रमा नेकपा पहिलो छ। १ मा कांग्रेस, एमाले र नेकपा, २ मा कांग्रेस, एमाले र नेकपा, ३ मा कांग्रेस, नेकपा र जसपा, ४ मा नेकपा, कांग्रेस र एमालेको क्रमशः मत छ। 

बाराका ४ क्षेत्रमध्ये २ मा एमाले पहिलो हुँदा कांग्रेस र जसपा एक–एक ठाउँमा सबैभन्दा बढी मत पाउन सफल भएका थिए। १ मा कांग्रेस, एमाले र जसपा, २ मा जसपा, कांग्रेस र एमाले, ३ मा एमाले, जसपा र कांग्रेस, ४ मा एमाले, जसपा र नेकपाको स्थान क्रमशः छ।

पर्साका ४ क्षेत्रमध्ये तीनमा कांग्रेस र एक क्षेत्रमा जसपाले पहिलो मत पाएको छ। पर्सा १ जसपा, कांग्रेस, राप्रपा र एमाले, २ मा कांग्रेस, जसपा र एमाले, ३ मा कांग्रेस, एमाले र जसपा ४ मा कांग्रेस, एमाले र जसपाको स्थान क्रमशः छ।

बागमती प्रदेशका ३३ क्षेत्रमध्ये समानुपातिकतर्फ कांग्रेस ८, एमाले १३, रास्वपा ११, नेमकिपा १ सिटमा पहिलो छ। दोलखा, रामेछाप, सिन्धुली १, धादिङ १, नुवाकोट १ काभ्रेपलाचोक १, सिन्धुपाल्चोक १ मा, एमाले, कांग्रेस, नेकपा र रास्वपाको क्रमशः मत थियो। रसुवा, नुवाकोट २ मा कांग्रेस, एमाले, नेकपा र रास्वपाले क्रमशः मत पाउँदा सिन्धुली २ मा एमाले, नेकपा, कांग्रेस र रास्वपाको स्थान तय भएको थियो।

धादिङ २ मा कांग्रेस, एमाले, नेकपा र राप्रपाले प्रतिस्पर्धी मत पाउँदा सिन्धुपाल्चोक २ मा पनि एमाले, कांग्रेस, नेकपा र राप्रपाको क्रमशः स्थान तय भएको थियो। भक्तपुर १ मा नेमकिपा, कांग्रेस, रास्वपा र एमालेले क्रमशः पाउँदा २ मा एमाले, कांग्रेस, रास्वपा, नेमकिपाको मत छ।

काभ्रेपलाञ्चोक २ मा एमाले, कांग्रेसपछि रास्वपा आउँदा नेकपा चौथो स्थानमा पुग्यो। मकवानपुर १ मा एमालेपछि रास्वपाले आफूलाई उभ्याएको थियो भने कांग्रेस तेस्रो र नेकपा चौथो भएको थियो। यस्तै मकवानपुर २ मा एमाले, कांग्रेस, नेकपापछि रास्वपाको समानुपातिक मत थियो।

चितवन १ मा रास्वपा, एमाले, कांग्रेस, २ मा रास्वपा, एमाले र कांग्रेस, ३ मा रास्वपा, राप्रपा, एमाले, नेकपा र कांग्रेसको क्रमशः मत थियो। यता ललितपुर १ मा कांग्रेस, एमाले, रास्वपा र नेकपा, २ मा रास्वपा, एमाले, कांग्रेस र राप्रपा ३ मा रास्वपा, एमाले, राप्रपा, कांग्रेस र नेकपाको क्रमशः मत थियो। 

काठमाडौँ १ मा कांग्रेस, रास्वपा, राप्रपा र एमालेको क्रमशः मत निर्धारण हुँदा २ मा रास्वपा र राप्रपा प्रतिस्पर्धामा आए र एमाले–कांग्रेस पछाडि परे। ३ मा भने कांग्रेस र एमाले प्रतिस्पर्धी देखिँदा रास्वपा र राप्रपा पछाडि धकेलिएका थिए। 

काठमाडौं ४ मा कांग्रेस, एमाले, रास्वपा र राप्रपाले क्रमशः मत पाउँदा ५ मा रास्वपाले पहिलो मत पायो। त्यसपछि कांग्रेस, एमाले र राप्रपा छन्। काठमाडौँ ६ र ७ मा रास्वपा, एमाले, कांग्रेस र राप्रपाको क्रमशः स्थान छ भने ८ मा रास्वपा, हाम्रो पार्टी, राप्रपापछि कांग्रेस र एमाले छन्।

काठमाडौं ९ मा रास्वपा, एमाले, कांग्रेस र राप्रपाले क्रमशः मत पाउँदा १० मा कांग्रेस, रास्वपा, एमाले र राप्रपा गरी मत बाँडिएको थियो।

गण्डकीका १८ क्षेत्रमध्ये एमाले १०, कांग्रेस ४, नेकपा र रास्वपा २–२ क्षेत्रमा समानुपातिकतर्फ पहिलो छन्। गोरखा १ मा नेकपा, कांग्रेस, एमाले र रास्वपाको क्रमशः उपस्थिति छ भने २ मा नेकपा, कांग्रेस, रास्वपा र एमालेले स्थान बनाएका छन्।

मनाङमा कांग्रेस, एमाले र नेकपाको मत देखिँदा मुस्ताङमा एमाले, कांग्रेस र नेकपाको स्थान तय भएको छ। लमजुङ, पर्वत, मुस्ताङमा एमाले, कांग्रेस, रास्वपा र नेकपाले क्रमशः मत पाएका छन्। म्याग्दीमा एमाले, कांग्रेस, नेकपा र रास्वपाले मत पाउँदा बाग्लुङ १ मा कांग्रेस, एमाले, रास्वपा, जनमोर्चा र नेकपामा मत विभाजित छ। 

यस्तै बाग्लुङ २ मा कांग्रेस, एमाले, नेकपा र जनमोर्चाले मत पाउँदा कास्की १, ३, तनहुँ २, स्याङजा १, मा एमाले, कांग्रेस, रास्वपा र नेकपाको क्रमशः मत आएको देखिन्छ। कास्की २ मा रास्वपा, एमाले, कांग्रेस र राप्रपाको स्थान तय भएको छ। 

स्याङ्जा २ मा कांग्रेस, एमाले, रास्वपा र राप्रपा अनि तनहुँ १ मा कांग्रेस, एमाले, रास्वपा र नेकपाको मत छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ मा रास्वपा, कांग्रेस, एमाले र राप्रपाले राम्रो मत ल्याँदा २ मा एमाले कांग्रेस, रास्वपा र राप्रपाको मत क्रमशः छ।

लुम्बनीका २६ क्षेत्र मध्ये एमाले १३, कांग्रेस ६, नेकपा र जसपा २–२, रास्वपा, नाउपा र राप्रपा १–१ क्षेत्रमा समानुपातिकतर्फ पहिलो स्थानमा छन्। गुल्मीका दुवै क्षेत्रमा एमाले पहिलो र कांग्रेस दोस्रो बन्दा १ मा रास्वपा र २ मा नेकपा तेस्रो स्थानमा छन्। पाल्पाका दुवै क्षेत्रमा पनि एमाले पहिलो र कांग्रेस दोस्रो हुँदा रास्वपाले तेस्रो स्थानमा मत पाएको छ भने अर्घाखाँचीमा एमाले, कांग्रेस, रास्वपा र नेकपाको स्थान क्रमशः छ। रुपन्देही १ मा कांग्रेस पहिलो हुँदा रास्वपा एमालेलाई उछिनेर दोस्रो स्थानमा छ भने २ मा रास्वपा पहिलो हुँदा एमालेभन्दा कांग्रेस पछाडि छ। 

रुपन्देही ३ मा कांग्रेस, एमाले, रास्वपाको मत आउँदा ४ मा जसपा र कांग्रेस मुख्य प्रतिद्वन्द्वी देखिन्छन्। रुपन्देही ५ मा एमाले, कांग्रेस, जनमत र रास्वपाको क्रमशः मत देखिन्छ। यता कपिलवस्तु १ मा एमाले, कांग्रेस र रास्वपा, २ मा कांग्रेस, एमाले र जसपा तथा ३ मा एमाले, राप्रपा र कांग्रेसको मत क्रमशः छ। 

दाङ १ मा एमाले, कांग्रेस, नेकपा र रास्वपा, २ मा एमाले, कांग्रेस, रास्वपा र नेकपा अनि ३ मा कांग्रेस, एमाले, रास्वपा र नेकपाको क्रमशः मत छ। बाँके १ मा एमाले, कांग्रेस र नाउपा, २ मा जसपा, राप्रपा र कांग्रेस, ३ मा कांग्रेस, एमाले र नाउपाको क्रमशः मत देखिन्छ भने बर्दिया १ मा एमाले, नाउपा र कांग्रेस, २ मा नाउपा, एमाले र कांग्रेसको मत देखिन्छ। रुकुम पूर्व, रोल्पामा नेकपा, कांग्रेस र एमालेको क्रमशः मत देखिँदा प्युठानमा एमाले, कांग्रेस र नेकपा प्रतिस्पर्धामा छन्। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ मा कांग्रेस, एमाले र रास्वपाको मत देखिँदा २ मा राप्रपा, कांग्रेस र रास्वपाको राम्रो मत छ।

कर्णालीका १२ क्षेत्र मध्ये नेकपा ४, कांग्रेस ३ र एमाले ५ सिटमा समानुपातिकतर्फ पहिलो थिए। सल्यान, डोल्पा, रुकुम पश्चिम र कालिकोटमा नेकपा, एमाले र कांग्रेसले क्रमशः मत पाउँदा मुगु, जुम्लामा एमाले, कांग्रेस र नेकपाको मत देखिन्छ। यस्तै हुम्लामा कांग्रेस, नेकपा र एमालेको स्थान क्रमशः रहँदा जाजरकोट र सुर्खेत १ मा कांग्रेस, एमाले र नेकपा प्रतिस्पर्धी देखिन्छन्। दैलेख १, २ र सुर्खेत २ मा एमाले, कांग्रेस र नेकपाले क्रमशः मत पाएको देखिन्छ।

सुदूरपश्चिमका १६ क्षेत्रमध्ये समानुपातिक मतमा कांग्रेस ८, एमाले ५ र नाउपा ३ सिटमा पहिलो छ। बाजुरा, अछाम–१ र २, डोटी, डडेल्धुरा, कञ्चनपुर २ र ३ कांग्रेस, एमाले र नेकपाको क्रमशः मत देखिन्छ भने बझाङ, दार्चुला, बैतडी, कञ्चनपुर १, कैलाली ४ मा एमाले, कांग्रेस र नेकपाको मत छ। यस्तै कैलाली १ र ३ मा नाउपा, कांग्रेस र नेकपा, २ मा नाउपा एमाले र कांग्रेसले प्रतिस्पर्धी मत पाउँदा कैलाली ५ मा कांग्रेस, एमाले र नाउपाको क्रमशः मत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad