चितवन १ मा यसअघिका दुई वटा चुनावमा कडा प्रतिस्पर्धा हुन पाएन। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा यो क्षेत्रमा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे ५१ हजार ८० मतका साथ निर्वाचित भएका थिए। सो समयमा नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटी पाण्डेसँग १५ हजार ७२० मतान्तरका साथ पराजित भएका थिए।
उनै पाण्डेलाई ०७९ को निर्वाचनमा नवनिर्मित दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि ढकालले ७ हजार ५८४ मतान्तरका साथ पराजित गरे।
यसपटक रास्वपाले चितवन १ मा ढकाललाई दोहोर्याउँदा पाण्डे भने उम्मेदवार छैनन्। बरु, ०७४ को चुनावमा पाण्डेसँग पराजित बुर्लाकोटी उम्मेदवार छन्, कांग्रेसबाट। एमालेले दावादोर्जे लामा र नेकपाले डा कृष्णराज पन्तलाई अघि सारेका छन्।
यी ठूला पार्टीका बलिया उम्मेदवारलाई एक जेनजी उम्मेदवारले टक्कर दिने कोसिस गरिरहेका छन्। उनी हुन्, विकास कामी। प्रगतिशील लोकतान्त्रिक पार्टीबाट टिकट पाएका विकास जेनजी आन्दोलनसँग उदाएका युवा हुन्। आन्दोलनपछि उनी जेनजी मुभमेन्ट अलायन्समा आबद्ध छन्। अलायन्सको सहमतिमै आफू चुनावमा होमिएको उनको भनाइ छ।
रोजगारीको सिलसिलामा रुस गएका विकास २०७७ सालमा नेपाल फर्किएका थिए। त्यतिबेला एमसीसीको विरोधमा आन्दोलन चलिरहेको थियो। यही विषयले उनलाई राजनीतितिर तान्यो।
त्यसपछि सामाजिक मुद्दामा चलेका आन्दोलनमा उनी सहभागी भए। मिटरब्याज, लघुवित्त पीडित, भूमिहीन तथा दलित किसानको आन्दोलन र पछिल्लो जेनजी आन्दोलनमा पनि उनी सक्रिय रहे।
‘आफ्नो देशको माया कति छ भन्ने कुरा देशबाट टाढा गएपछि महसुस हुँदो रहेछ। मलाई पनि विदेशिएपछि देशको माया र यहाँका किसानका दुःख, पीडा र समस्या सामाजिक सञ्जालबाट देखेरै महसुस भयो,’ विकास भन्छन्।
विकास सुशासन, भ्रष्टाचारको अन्त्य, सामाजिक न्याय, समावेशिता, सकारात्मक परिवर्तन र राजनीतिक पुस्तान्तरणको निम्ति भएको जेनजी आन्दोलनको माग, भावना र एजेन्डा अनुसार आफूलाई आफ्नै क्षेत्र चितवन–१ का आम जनतासमक्ष चिनाउने प्रयत्नमा रहेको बताउँछन्।
‘हाम्रो आन्दोलनको माग, भावना र एजेन्डा अनुसार आफूलाई यहाँका आम जनतासमक्ष चिनाउने प्रयत्न भइरहेको छ,’ विकासले भने, ‘हामी हुर्किएको राजनीतिक संस्कारलाई भत्काएर नेपाली समाजमा रहेको वैमनस्य, मनमुटाव, द्वेष, विकृति र विसंगति चिरेर समुन्नत समाज निर्माण गर्नको निम्ति नयाँ राजनीतिक संस्कार निर्माण गर्नु पर्ने कुरामा म लागिपरेको छु।’
जेनजी आन्दोलनको एजेन्डा र माग पूरा गर्नको निम्ति एक पटक मतदाताले नव पुस्तालाई जिताउन मत दिने उनको विश्वास छ।
आफ्नो पुर्खादेखिकै थलो चितवन–१ भएकाले त्यहाँका समस्या, अफ्ट्यारा, मागदेखि लिएर हरेक चाल–चलन र समाजलाई आफूले राम्रोसँग बुझेको हुनाले अन्य दलका उम्मेदवारभन्दा बढी आफू सक्षम भएको विकास दाबी गर्छन्।
आफूलाई जनतासमक्ष आफ्नै सन्तान र सेवकका रूपमा प्रस्तुत गर्दै स्थानीय किसानका समस्या, जेनजीका माग र आफ्नो क्षेत्रमा मल बैंक स्थापना जस्ता मुद्दाहरूलाई प्राथमिकतामा राखेको उनले बताए।
चुनावी प्रचार–प्रसारका लागि विकासलाई आर्थिक अभाव भए तापनि शुभचिन्तकहरूले केही सहयोग दिएको र त्यसैको भरमा प्रचार–प्रसार अगाडि बढिरहेको उनको भनाइ छ। बलिया उम्मेदवारसँग प्रतिस्पर्धा गरिरहे पनि मतदाताले आफूलाई मत दिनेमा विश्वस्त रहेको उनले बताए।
‘मतदाताबाट पनि सकारात्मक प्रतिक्रिया आइरहेको छ,’ उनले भने।
Shares

प्रतिक्रिया