कोशी


ओलीले फेरे चुनावी रणनीति: ठूला सभा नगर्ने, मतदाता फकाउन कार्यकर्ता परिचालन

ओलीले फेरे चुनावी रणनीति: ठूला सभा नगर्ने, मतदाता फकाउन कार्यकर्ता परिचालन

नेपालखबर
फागुन १, २०८२ शुक्रबार २०:५९, विराटनगर

आगामी फागुन २१ गते हुने निर्वाचनको सरगर्मी बढ्दै जाँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा चुनावी रणनीति परिवर्तन गरेका छन्।

क्षेत्रमा पुगेर फर्किएपछि ओलीले अहिले ठूला आमसभा र भाषणभन्दा पनि मतदाताको मन जित्न एमालेले अब ‘घरदैलो र व्यक्तिगत भेटघाट’ लाई प्राथमिकता दिँदै युवा तथा कार्यकर्ताहरूलाई मैदानमा उतारेका छन्।

शुक्रबार (आज)देखि सुरु भएको यस विशेष अभियान अन्तर्गत निर्वाचन क्षेत्र नम्बर ५ का २९ वटै वडाका प्रत्येक टोलहरूमा एमालेका कार्यकर्ताहरू एकै पटक परिचालन भएका छन्।

एमाले केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार, मतदाताका सुझाव सुन्न र उनीहरूलाई पार्टीसँग प्रत्यक्ष जोड्ने उद्देश्यले यो नयाँ रणनीति अपनाइएको हो।

यस भेटघाट कार्यक्रममा भूगोलमा रहने केन्द्रीय पदाधिकारीदेखि जिल्ला, क्षेत्रीय र स्थानीय टोल कमिटीका सदस्यहरू सबै हरेक घर घरमा पुग्ने, मतदाताको गुनासाहरू सुन्ने र मतदातालाई फकाउने ओलीको रणनीति अनुसार यो काम सुरु भएको हो।  

घरघरमा पुग्दा जनताबाट आउने विकासका सुझाव र पार्टीले आगामी दिनमा खेल्नुपर्ने भूमिकाका विषयलाई टिपोट गरी त्यसलाई सम्बोधन गरिने योजना बनाइएको दाहालले बताए।

दमक नगरपालिका–५ स्थित प्रशान्ति टोलमा घर घरमा पुग्दै आएकी अखिल नेपाल महिला संघ झापाकी अध्यक्ष लीला ढुङ्गेल दाहालले आज मात्रै झन्डै ७० घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिएको जानकारी दिइन्।

‘मतदाताहरूका सकारात्मक सुझाव तथा सल्लाह र गालीलाई पनि हामीले टिपोट गरेर ल्याएका छौँ,’ उनले भनिन्, ‘निकै उत्साहपूर्वक सुझावहरू दिइरहेका छन् र यसले कार्यकर्ताहरूलाई थप उत्साहित बनाएको छ।’

कार्यकर्ताहरूले मतदातालाई निर्वाचनमा सक्रिय सहभागी हुन र देशको नेतृत्वका लागि अध्यक्ष ओलीलाई विजयी गराउन आग्रह गर्ने गरेका छन्।

पार्टीको यो नयाँ रणनीतिले विशेष गरी सामाजिक सञ्जालमा एआईको प्रयोग गरी फैलाइएका भ्रमहरू चिर्न मुख्य भूमिका खेल्ने विश्वास लिइएको संयोजक दाहालले बताए।

पछिल्लो समय प्रविधिको दुरुपयोग गरी समाजमा फैलाइएका निकृष्ट शब्द र नकारात्मक सोचले नेपाली समाजको आत्मीयता र सद्भावमा चोट पुर्‍याएको भन्दै एमालेले घरदैलोमै पुगेर यथार्थ स्पष्ट पार्ने काम गरिरहेको छ। 

समाजमा भयरहित वातावरण निर्माण गर्न र आपसी मित्रवत् व्यवहार कायम राख्न समेत एमालेका कार्यकर्ताहरूले अपिल गर्ने गरेका छन्। यो अभियान आगामी केही दिनसम्म निरन्तर जारी रहने र यसले निर्वाचनको नतिजालाई थप सुनिश्चित गर्ने एमालेको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad