राजनीति


प्रशासनको चेतावनीलाई रविको चुनौती: निषेध गरिएको ठाउँमै बजाए घण्टी

प्रशासनको चेतावनीलाई रविको चुनौती: निषेध गरिएको ठाउँमै बजाए घण्टी

सुनिता विष्ट
माघ २७, २०८२ मंगलबार १४:४७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नवलपरासी जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले निर्वाचन आचारसंहिता उल्लंघन नगर्न सचेत गराएको छ। एकै दिन ११ स्थानमा चुनावी सभा र मतदाता भेटघाटको कार्यतालिका सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालयले पत्र काट्दै ध्यानाकर्षण गराएको हो ।

वलपरासी जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको अंकुशका बाबजुद रास्वपा सभापति रवि लामिछानेले मंगलबार निर्धारित समयतालिका अनुसार नै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का विभिन्न स्थानमा सम्बोधन गरेका छन्। 

'निर्वाचन आचारसंहिता २०८२' लागू भइसकेको अवस्थामा ठुलो संख्यामा भेला र चुनावी प्रचारप्रसार गर्नु आचारसंहिता विपरीत हुने कार्यक्रम नगर्न समितिले सोमबार नै पत्र काटेको थियो। (पत्र तल हेर्नुहोस्)

सहायक प्रमुख जिल्ला अधिकारी एवं आचारसंहिता अनुगमन अधिकृत पोषनराज भण्डारीले प्रतिनिधि सभा सदस्यको आसन्न निर्वाचनलाई निष्पक्ष बनाउन रास्वपाको 'जनसम्पर्क तथा घण्टी अभिवादन' कार्यक्रम आचारसंहिता प्रतिकूल हुने बताए। 'हामीले कार्यक्रम नै रोक्नुपर्छ भनेका होइनौँ, तर आचारसंहिताको दायरा नाघ्न पाइँदैन,' भण्डारीले नेपालखबरसँग भने, 'उहाँको गतिविधिबारे रिपोर्टिङ भइरहेको छ, आचारसंहिता उल्लंघन ठहरिए कानुनअनुसार कारबाही हुन्छ।'

प्रशासनले निगरानी बढाए पनि लामिछानेको सचिवालयले भने मतदाता भेटघाटलाई पूर्ववत् तालिकाअनुसार नै चलिरहेको रविको सचिवालयले पुष्टि गरेको छ। लामिछानेले मंगलबार बिहान सुनवल, परासी, बेलासपुर र महेशपुर चोकमा आयोजित कोणसभालाई सम्बोधन गरिसकेका छन्।

‘हाम्रो कार्यक्रम जारी छ, केही रोकिएको छैन। अहिले हामी कार्यक्रममै छौँ’, लामिछानेको सचिवालयका अविनाश आचार्यले नेपालखबरसँग भने।

कार्यतालिका अनुसार उनले दिउँसो भुजहवा, सूर्यपूरा, बेलाटारी, रुपौलिया, गोपिगञ्ज र जिमिरेभार हुँदै बर्दघाट बजारमा अन्तिम सम्बोधन गर्नेछन्। सोमबार मात्रै रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा चुनावी प्रचार सकेर उनी नवलपरासी आइपुगेका हुन्।

प्रशासनले लामिछानेको कार्यक्रममा आचारसंहिता विपरीत शक्ति प्रदर्शन वा भड्किलो प्रचार गरिएको पाइए निर्वाचन आयोगलाई कारबाहीका लागि सिफारिस गरिने सहायक प्रजिअ तथा आचारसंहिता अनुगमन अधिकृत पोषनराज भण्डारीले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad