राजनीति


पुरानो ठाउँमा ढाँट्न सकिँदैन भनेर केही नेता नयाँ क्षेत्रमा आएका छन्: केपी शर्मा ओली

पुरानो ठाउँमा ढाँट्न सकिँदैन भनेर केही नेता नयाँ क्षेत्रमा आएका छन्: केपी शर्मा ओली

नेपालखबर
माघ २७, २०८२ मंगलबार १३:३, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै क्षेत्रमा विश्वास गुमाएका नेताहरू नयाँ क्षेत्रको खोजीमा आउने गरेको टिप्पणी गरेका छन्। 

सोमबार झापाको गौरीगञ्जमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै आफूले काम गर्न नसकेपछि अरु नयाँ ठाउँमा जानुपर्ने बाध्यता आइलागेको ओलीको भनाइ थियो। 

‘हामीले थाहा पाउनुपर्छ आफ्नै जिल्लाबाट कोही मान्छे किन चुनाव लड्दैन? आफ्नै जिल्लामा कसैले पत्याउने स्थिति छैन। त्यहाँ ढाँट्न सकिँदैन,’ ओलीले प्रश्न गरे, ‘काठमाडौँमा जितिसकेको मान्छेले त्यहाँबाटै किन आँट गर्दैन फेरि लड्न?’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) काठमाडौँको मेयरबाट राजीनमा दिएर झापा पुगेका छन्। उनले झापा-५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदावरी दिएका छन्। 

त्यस्तै, नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही-४ बाट उम्मेदवारी दिएका छन्। उनी यसअघि काठमडौँ-४ बाट चुनाव जित्दै आएका थिए। 

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट उम्मेदावर बनेका छन्। यसअघि उनी गोरखाबाट सांसद बनेका थिए। 

उनले यो सबै बुझेर मात्रै मत दिन आग्रह गरे। ‘यो साथीहरूले बुझ्नुभएको छ, दाजुभाइ दिदीबहिनीहरूले बुझ्नुभएको छ,’ ओलीले भने। 

झापाको गौरीगञ्जसँगको सम्बन्ध २०२६ सालदेखि नै रहेको स्मरण गर्दै उनले २०२९ सालसम्म आफू त्यहीँको संगठनमा खटिएको बताए। २०३० सालमा जेल परेपछि केही समय आउन नपाएको तर २०४७ सालको अन्तिमदेखि फेरि उक्त ठाउँसँगको यात्रा निरन्तर रहेको बताए। 

‘अलि समय भएको थियो, मैले यहाँहरूसँग भेट्न नपाएको। आज भेटघाट भएर खुशी लागेको छ। यद्यपि यो ठाउँसँगको मेरो सम्बन्ध धेरै पुरानो छ,’ अ‍ोलीले भने, ‘म २०२६-२७ सालदेखि यस ठाउँमा आउने र सङ्गठन गर्ने गरेको हुँ। २०३० सालमा जेल परेपछि मैले यतातिर आउने मौका मिलेको थिएन। जेलबाट छुटेपछि केही समय मैले यता गाउँघरतिर आउने मौका मिलेको थिएन फेरि। २०४७ सालको अन्तिमबाट फागुन चैतबाट म यो ठाउँमा आउन थालेको हुँ।’

उनले गौरीगन्ज क्षेत्रमा भएको कायापलटको चर्चा गर्दै विगतको गौरीगञ्ज र वर्तमानको ‘सेल्फी रोड’ बनेको गौरीगञ्जमा आकाश–जमिनको फरक रहेको चर्चा गरे। ‘गौरीगन्ज उहिलेको गौरीगन्ज म सम्झिन्छु। २०२६-२७ सालमा हेर्दाको गौरीगन्ज म सम्झिन्छु। आजको गौरीगन्ज त सेल्फी रोड भन्छन् नि सेल्फी रोड जस्तै छ। सेल्फी खिच्ने बाटो जस्तै छ गौरीगन्ज,’ उनले भने।

विकासका पूर्वाधारबारे चर्चा गर्दै अध्यक्ष ओलीले हुलाकी राजमार्ग आफ्नै पहलकाकारण सफल भएको बताए।  ‘यो ठाउँमा ठुलो परिवर्तन आएको छ। म सांसद भएर गएपछि संसद्मा प्रतिपक्षमा थियौँ, त्यसवेला। लेराको पुल बनाउनुपर्छ भनेर लेराको पुलको माग मैले सधैँ राख्थेँ। म बोल्न उठेपछि मान्छेहरूले जिस्क्याउने स्थिति हुन्थ्यो लेराको पुल भन्न आँट्यो भनेर। लेराको पुल बनाउन धेरै गाह्रो भो। तर मैले मेची महाकाली नै हुलाकी बाटोलाई हुलाकी राजमार्गमा विकास गरेपछि लेराको पुलको गीत गाइरहनु परेन लेराको पुल आफैँ बन्यो,’ ओलीले भने। 
उनले कन्काईको एउटा पुल बाहेक अधिकांश काम सम्पन्न भइसकेको र रतुवा र कमला नदीका पुलमा देखिएका प्राविधिक समस्या समाधानको चरणमा रहेको बताए। सामाजिक सुरक्षाका क्षेत्रमा आफ्नै नेतृत्वको सरकारले महत्त्वपूर्ण योगदान गरेको चर्चा गर्दै उनले ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्‍याएको दाबी गरे। 

अध्यक्ष ओलीले समाजमा सद्भाव बिथोल्ने प्रयासहरूप्रति सचेत गराए। मधेसी र पहाडीबीचको भेदभाव अन्त्य गरी सामाजिक न्याय र समानताका आधारमा राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा उनले जोड दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad