निर्वाचनको मिति नजिकिँदै गर्दा रञ्जु दर्शनाको व्यक्तिगत क्यालेन्डरमा दुई वटा ठूला मितिहरू एकापसमा ठोक्किइरहेका छन्। फागुन १८ गते उनको सन्तान जन्मिने सम्भावित मिति (डेलिभरी डेट) छ भने २१ गते देशको नयाँ संसद् र सरकारको भविष्य तय गर्ने निर्वाचन।
एकातिर जीवन जन्मिने दिन, अर्कोतिर देशको दिशाबोध हुने दिन— एउटै पात्रको क्यालेन्डरमा इतिहास र मातृत्व सँगसँगै लेखिँदै छन्।
९ महिनाको यो गर्भावस्थामा घरमै आराम गर्न छाडेर काठमाडौँ–१ का गल्लीगल्लीमा मत माग्दै हिँडिरहेकी छिन् उनी। यो संघर्ष आफ्नै लागि हो या जन्मिन लागेको बच्चाको सुरक्षित भविष्यका लागि?
रञ्जुका आँखामा एउटी आमाको वात्सल्य र एउटी विद्रोहीको चमक एकैसाथ देखिन्छ। कोख जोगाउने कोमलता र व्यवस्था हल्लाउने आँट– एउटै दृष्टिमा मिसिएजस्तो।
निकै गम्भीर भावमा उनी भन्छिन्, ‘यो नेपालकै इतिहासमा वार कि पारको समय हो। म चाहन्छु, अब मेरो सन्तान १५–१६ वर्ष भएर एसईई वा प्लस टु दिएपछि बस्ने लाइन चाहिँ पीटीई र आएल्ट्सको नहोस्। उसले लाइनै नबसी सेवा सुविधा पाउने संरचना निर्माण गर्नुपर्छ भन्ने सोचाइ लिएर गर्भावस्थामै भए पनि मैदानमा उत्रिएकी हुँ।’
रञ्जुको उम्मेदवारीको कथा कम रोचक छैन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुमा उनलाई समानुपातिक सूचीको खस–आर्यतर्फको पहिलो नम्बरमा राखेको थियो। सुरक्षित सिट, सुनिश्चित भविष्य– राजनीतिमा धेरैले खोज्ने बाटो।
तर, पार्टीभित्र र बाहिर रञ्जुजस्तो स्थापित अनुहार किन समानुपातिकमा बसेको भन्दै आलोचना भयो। त्यसपछि सिसाको घरमा बसेर राजनीति गर्ने रहर उनलाई भएन।
‘समानुपातिक निर्वाचन प्रणाली छान्ने कि नछान्ने भन्ने निर्णयमा पुग्न नै मैले धेरै सोचेकी थिएँ,’ त्यो विवादास्पद मोडको सम्झना गर्दै उनी भन्छिन्, ‘किनभने म प्रत्यक्षमै भिड्ने खालको नेचर भएको मान्छे हुँ। तर पहिलोपटक गर्भवती भएर पनि होला, के होला, कसो होला भन्ने भयो। समानुपातिकमा पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा गरेर पहिलो नम्बरमा परेकी थिएँ। तर, पछि धेरैजनाले केरकार पो गरे– तपाईं समानुपातिकमा? अर्काको सिट खोस्ने? प्रत्यक्षमा लड्न नसक्ने?’

त्यसपछि रञ्जुले एउटा साहसिक निर्णय गरिन्, समानुपातिकको सुरक्षित सिट त्याग्ने र प्रत्यक्षमा होमिने। ८ महिनाको गर्भ बोकेर काठमाडौँ–१ को कडा प्रतिस्पर्धामा उत्रिनु चानचुने कुरा थिएन। यो निर्णय चुनावी गणितभन्दा धेरै माथि थियो– यो चरित्रको परीक्षा थियो।
तर, उनलाई यो जोखिमपूर्ण र साहसिक निर्णयको विन्दुमा पुग्न न्युजिल्यान्डकी तत्कालीन प्रधानमन्त्री जसिन्डा आर्डेनको एउटा डकुमेन्ट्रीले ठूलो ऊर्जा दियो। जसिन्डाले प्रधानमन्त्री पदमा रहँदै सन्तानलाई जन्म दिएकी थिइन्, सन्देश स्पष्ट थियो– नेतृत्व र मातृत्व एकअर्काका विरोधी होइनन्।
‘मैले त्यही समयमा न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डाको डकुमेन्ट्री हेरेकी थिएँ,’ उनले आफूलाई गर्भावस्थामै चुनावमा होमिन उत्प्रेरित गरेको त्यो क्षण सम्झिँदै भनिन्, ‘उहाँ पनि ठ्याक्कै प्रधानमन्त्री हुनुभन्दा अगाडि चुनाव अभियानकै दौरानमा गर्भवती हुनुहुन्थ्यो। पछि उहाँको पार्टीले जित्यो, उहाँ प्रधानमन्त्री हुनुभयो, ठ्याक्कै त्यही समयमा उहाँको छोरी जन्मिइन्। उहाँले ३ हप्ता ब्रेक लिएर पछि प्रधानमन्त्रीको कुर्सी सम्हाल्नुभयो। त्यो हेर्दा म पनि इन्स्पायर्ड भएँ, चाहे गर्न सकिन्छ भन्ने लाग्यो। शरीरले जुन दिन रोकिन भन्छ, रोकिनुपर्छ। होइन भने हिँडिरहनुपर्छ। गर्भावस्थालाई एकदम ठूलो हाउगुजी बनाउनु हुँदैन।’
काठमाडौँ १ मा मत माग्दै हिँडिरहँदा रञ्जुका कुरा केबल आफ्नो क्षेत्रमा सीमित छैनन्। उनी झापा ५ को राजनीतिक अहंकारको चर्चा गर्छिन्। काठमाडौँ महानगरको साँचो बुझाएर झापा ५ मा केपी ओलीसँग चुनाव लड्न पुगेका आफ्नो पार्टीका वरिष्ठ नेता बालेन शाहको निर्णयसँग निकै खुसी छिन् उनी। बालेनले ओलीसँग भिड्ने जुन साहस गरे, त्यसलाई उनी एउटा युगान्तकारी कदम मान्छिन्।
‘झापा–५ मा कोही एक अमूक व्यक्तिको पराजयभन्दा पनि यो देशलाई बर्बरतातिर ढाल्ने अहंकारको पराजय हुन जरुरी छ,’ उनी भन्छिन्, ‘यो देश कसैको पेवा होइन– न्यायालय, सुरक्षा निकाय कसैको पेवा होइन। त्यसैले बालेनजीले जुन आँट गर्नुभयो, त्यो केवल चुनावी प्रतिस्पर्धा होइन, सत्ता संस्कृतिमाथिको प्रश्न हो।’
रञ्जुको पार्टी रास्वपा अहिले बहुमतको सपना देखिरहेको छ। रञ्जु रास्वपालाई एउटा ह्विम मात्रको पार्टी भनिएको रुचाउँदिनन्।
‘०७९ सालमै जसरी रास्वपा राम्रो सिट संख्यासहित संसदमा पुग्यो, त्यतिबेलै सांसद भएपछि के–के काम कसरी गर्न सकिन्छ भन्ने बेन्चमार्क सेट गर्न सफल भएको पार्टी हो यो,’ उनी भन्छिन्, ‘यसपालिको हाम्रो उद्देश्य भनेको कोही एकजना व्यक्तिलाई मात्र हेरेर चुनाव लड्ने होइन, समग्र रूपमा बहुमत ल्याउनका लागि वा दुई तिहाइभन्दा बढी ल्याउनका लागि लडिरहेका छौँ। राष्ट्रिय स्वतन्त्र पार्टी एउटा ह्विम मात्रको पार्टी होइन, यसले एजेन्डा र डेलिभरीको बेन्चमार्क सेट गरेको छ। हामी बहुमत ल्याउँछौँ र प्रणालीगत सुधार गर्छौँ।’
काठमाडौँ १ मा यतिखेर रञ्जुका मुख्य प्रतिस्पर्धी छन्, रवीन्द्र मिश्र। कुनै बेला एउटै पार्टीबाट वैकल्पिक राजनीतिको सपना देखिरहेका दुई पात्र आज फरक धारमा उभिएका छन्। २०७४ को स्थानीय तह निर्वाचनमा रञ्जु विवेकशीलको तर्फबाट काठमाडौँ महानगरको मेयर लडिरहँदा रवीन्द्र एउटै मोर्चामा थिए, रञ्जुका नेता थिए। तर आज समय फेरिएको छ।
‘उज्ज्वल थापा दाइले जुन वैकल्पिक राजनीतिको बीजारोपण गर्नुभयो, त्यहीँबाट नै हामी सबैजनाले नेपालमा युवाहरू पनि राजनीतिमा आउनुपर्छ भन्ने चेतना पायौँ,’ रञ्जु त्यो क्षण सम्झिँदै भन्छिन्, ‘रवीन्द्रजीले पनि बीबीसीबाट आएर नयाँ राजनीति सुरु गर्छु भन्नुभयो। तर पछि वैकल्पिक राजनीतिको त्यो यात्रालाई बीचमै छाडेर अब म छुट्टै विचार बोक्छुु भनेर अर्को बाटो लिनुभएको उहाँले नै हो, हामीले होइन।’
९ महिनाको गर्भ बोकेर हिँड्दा रञ्जुलाई घरभित्रबाट अदम्य साथ मिलेको छ। उनका श्रीमान् किशु उनको ‘मुख्य पिलर’ नै बनेका छन्। किशु आफ्नो अफिसको काम रातभर गरेर भए पनि बिहान साढे ६ बजेदेखि रञ्जुसँगै घरदैलोमा हिँडिरहेका छन्।
सासूले उस्तै प्रेरित गरिरहेको बताउँछिन् उनी।
‘मलाई सबैभन्दा धेरै साथ दिने मेरो सासू हो,’ उनले भनिन्, ‘सासूले मेरो श्रीमान् र आमाजूलाई जन्माउने अघिल्लो दिनसम्म पनि काम गर्दै जन्माउनुभएको हो, घाँस काट्दै जन्माउनुभएको हो। मेरो सासूको आमाले पनि सासूलाई जन्माउने अघिल्लो दिनसम्म रुख चढेर घाँस काट्दै हुनुहुन्थ्यो। हाम्रा महिलाहरूले पहिला यसरी काम गरेर आएका हुन् भन्दै उहाँले त चाहेको र सकेको काम गर्न हौसला दिनुभएको छ।’
घरदैलोमा जाँदा मतदाताले देखाएको प्रेम पनि उस्तै मिठो छ।
‘कतिपय मतदाताहरूले दही–चिउरा खुवाउन खोज्नुहुन्छ, बस्नुस् भन्नुहुन्छ। कति महिला दिदीबहिनीहरूले त ममा आफ्नै प्रतिविम्ब देखिरहनुभएको छ, साह्रै खुसी लाग्छ,’ रञ्जुले भनिन्।
रञ्जु केवल भोट माग्न हिँडेकी छैनन्, उनीसँग संसदमा छिरेपछि गर्ने कामको स्पष्ट सूची छ। उनको पहिलो प्राथमिकतामा छ— ह्विसल ब्लोअर पोलिसी।
भ्रष्टाचारविरुद्ध बोल्ने कर्मचारी र नागरिकलाई सुरक्षा दिने यो कानुनको बारेमा उनी भन्छिन्, ‘सरकारी कामकाज भइरहँदा झट्ट समाचार सुन्छौँ— यो टेन्डर हुँदा यस्तो चलखेल भइरहेको छ। सरकारी संयन्त्रभित्र कोही न कोही यस्ता निडर र कर्मठ कर्मचारी हुनुहुन्छ, जसले त्यो अनियमितता सहन नसकेर भण्डाफोर गर्न चाहनुहुन्छ। तर उहाँहरूलाई संरक्षण गर्ने पोलिसी छैन। सिट्ठी बजाइदिने नागरिकलाई राज्यले संरक्षण गर्नुपर्छ। यो मेरो पहिलो प्राथमिकता हो।’
दोस्रो प्राथमिकतामा उनी सुरक्षित मातृत्वको कुरा गर्छिन्। सायद आफ्नै भोगाइबाट सिकेर होला, उनी भन्छिन्, ‘हरेक अस्पतालको डेटाबेसमा महिलाहरूको फोन नम्बर राख्न सकियोस् र राज्यको निकायबाट फोन आओस्— तपाईंलाई कस्तो छ? सन्चै छ? खानपिन पुगिरहेको छ? यो एउटा सपना छ। हाम्रो सामाजिक संरचना र राज्यले महिलाहरूलाई यसमा साथ दिनुपर्छ।’
काठमाडौँका गल्लीहरूमा हिँड्दै गर्दा रञ्जुलाई लाग्छ, भोलि उनको सन्तानले यो इतिहास पढ्नेछ।
‘भोलि मेरो बच्चाले आजको मेरो यो भिडिओ, म सडकमा मत माग्दै हिँडिरहेको भिडिओ हेर्दा गर्व गरोस्। मेरो आमा म पेटभित्र हुँदा यो देश बनाउँछु भन्दै सडकमा हिँडिरहनुभएको थियो भनेर उसले गर्व गरोस्। म त्यस्तै काम गर्न चाहन्छु,’ रञ्जुले भनिन्।
त्यसैले त रञ्जुका लागि यो यात्रा निर्वाचनको प्रतिस्पर्धा मात्र होइन, यो त एउटा पुस्ताले अर्को पुस्तालाई दिन लागेको सुरक्षित देशको उपहार पनि हो।
यतिखेर घरदैलोमा उनी हिँडिरहेको दृश्य देख्दा लाग्छ– उनी कोखमा सन्तान र काँधमा देशको जिम्मेवारी बोकेर हिँडिरहेकी छिन्। फागुन १८ गते एउटा नयाँ जीवन जन्मिनेछ र २१ गते उनले चाहेझैँ भयो भने, उनले जितिन भने– नयाँ संसद् मात्र होइन, नयाँ नेपालको दिशातर्फ एउटा ढोका खुल्नेछ।
फोटो/भिडिओः सरोज शाही

प्रतिक्रिया