नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा विकास निर्माणका कामलाई गति दिन तीन सिफ्टमा काम गर्नुपर्ने बताएका छन्।
सोमबार चितवनमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उपसभापति शर्माले देश विकासका लागि ठोस आर्थिक मोडेल, श्रम संस्कृतिमा परिवर्तन र राजनीतिक शुद्धीकरणका लागि कडा कदमहरू चाल्न आवश्यक रहेको बताए। श्रम संस्कृतिमा परिवर्तन ल्याउनु पर्ने उनको भनाइ थियो।
धनी देशहरू राति पनि काम गर्ने तर नेपाल राति सुत्ने प्रवृत्तिको अन्त्य गर्न शर्माले ८-८ घण्टाको तीन सिफ्टमा विकास निर्माणका काम गर्ने योजना सुनाए। अस्पताल, बाटो र पुल निर्माणका कामहरू राति पनि गराएर तीन वर्षमा सकिने काम एक वर्षमै सम्पन्न गरी लागत घटाउन सकिने उनले बताए।
उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुनर्संरचना गर्नुपर्ने औंल्याए। कांग्रेसको कुनै पनि तहको नेता वा कार्यकर्तामाथि भ्रष्टाचारको मुद्दा अदालतमा दर्ता हुनासाथ तत्काल सदस्यता निलम्बन गरिने कडा नीति ल्याइने बताए।
त्यससँगै अख्तियारमा ‘मेरो र तेरो मान्छे’ नभई विशेषज्ञता र पारदर्शिताको रोस्टर बनाएर नियुक्ति गरिनुपर्नेमा उनको जोड थियो।
Shares

प्रतिक्रिया