राजनीति


गगन मधेस झर्दा, बालेनले ‘ब्यालेट विद्रोह’ गर्दैगर्दा यस्तो हुँदैछ ५५ सिटको हिसाबकिताब

गगन मधेस झर्दा, बालेनले ‘ब्यालेट विद्रोह’ गर्दैगर्दा यस्तो हुँदैछ ५५ सिटको हिसाबकिताब

लोकेन्द्र भट्ट
माघ २६, २०८२ सोमबार २१:४९, काठमाडौँ

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेश ‘हटकेक’ बनेको छ। प्रतिनिधिसभाका ३२ वटा निर्वाचन क्षेत्र रहेको मधेस सबै दलको नजरमा परेको देखिन्छ। स्थलगत रिपोर्टिङका लागि नेपालखबरको टोली माघ दोस्रो साता मधेस पुग्दा चुनावको सरगर्मी चढ्न थालिसकेको थियो।

सर्लाहीदेखि सप्तरीसम्म २४ वटा निर्वाचन क्षेत्रको स्थलगत रिपोर्टिङका क्रममा हामीले मधेसको मुड फेरिएको पायौँ। चुनावी नतिजाबारे मतदाताको धारणा र प्रमुख दलका शीर्षस्थ नेताको हिसाब–किताब मिलेको देखिँदैन।

नेपालखबरको टोलीसँग जोडिएका मधेसका अधिकांश मजदुर, किसान, साना व्यवसायी, युवा विद्यार्थीहरू गोप्य मतदानबारे खुला संवादमा आए। मधेसका मतदातामा अहिले दलगत एजेन्डाभन्दा अनुहारप्रति आकर्षण बढ्ता छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारिएका बालेन्द्र शाह (बालेन)प्रति मधेसमा लोभलाग्दो आकर्षण देखियो। बालेन क्रेजबाट नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र मधेसवादी दलका कार्यकर्ता समेत प्रभावित देखिन्छन्। 

कांग्रेस सभापति गगन थापाको सर्लाही–४ मा उम्मेदवारीले रास्वपा छायामा परेजस्तो देखिए पनि धेरै ठाउँमा पुराना दलले बलियो उपस्थिति देखाउन सकेका छैनन्।

चुनावी मैदानमा देखिएको न्यून उपस्थितिका सम्बन्धमा कांग्रेस, एमाले र मधेसवादी दलका नेताहरूले निर्वाचनको अनिश्चितता र चुनावी आचारसंहिता मानेको देखाए। रास्वपालाई भने आचारसंहिताले छेकेको देखिँदैन।

निर्वाचन क्षेत्रका चोक, चौतारा, चिया पसल, सिटी सफारी, गाडीमा रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह र उम्मेदवारका फोटा झुण्ड्याइएको छ। रास्वपाका उम्मेदवार पनि आक्रमक प्रचार–प्रसार गर्न व्यस्त भेटिन्छन्। संघीयता र नागरिकताको विषयमा विगतको अडान र अभिव्यक्ति भने रास्वपालाई मधेसमा गलपासो बनेको छ। मधेसको बौद्धिक र कर्मचारी वर्गको झुकाव भने कांंग्रेसतिर मोडिएको देखिन्छ।

कांग्रेसको नेतृत्वमा गगन थापा आएपछि कार्यकर्तामा उत्साह मात्र थपिएको छैन, तटस्थ मतदाता पनि कांग्रेसतिर ढल्किएको पाइएको छ। मधेसवादी दलका केही प्रभावशाली नेता चुनावको मुखमा एमालेमा छिरे पनि मधेसमा एमालेको माहोल अझै देखिइसकेको छैन। एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतका पछिल्ला अभिव्यक्तिप्रति मधेसका नागरिकको चित्त दुखाइ छ। 

यता मधेसकेन्द्रित जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीप्रति मधेसको मोहभंग हुँदै गएको भान हुन्छ। मधेस प्रदेशको शासन सञ्चालन र केन्द्रमा देखाएको सत्तालोलुपताले उनीहरूप्रति कतिपय क्षेत्रका मतदाता आक्रोशित सुनिए। जनताको आक्रोश र पार्टी विभाजनको चोट बोकेका मधेसकेन्द्रित दलहरूको चुनावी अभियान सुस्त–शान्त देखिन्छ।

५५ सिटको हिसाब–किताब
अघिल्लो निर्वाचन पनि हेर्दा समानुपातिकतर्फ मधेस प्रदेशमा करिब २० लाख भोट खस्ने अनुमान गर्न सकिन्छ, जसबाट २३ जना सांसद चयन हुन सक्छन्। 

प्रत्यक्षतर्फ मधेसका ८ जिल्लामा ३२ सिट र समानुपातिकतर्फ २३ जोड्दा मधेसमा मात्रै दलहरूले ५५ सिटको हिसाबकिताब गर्दै आएका छन्। 

गत निर्वाचनमा मधेसका ३२ सिटमध्ये एमालेले ९ र कांग्रेसले ७, जसपाले ६, लोसपाले ४, एकीकृत समाजवादीले २ र माओवादीको चुनाव चिन्हधारीले १ ठाउँमा जित्दा ३ ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए। मधेसमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र लोसपाको गठबन्धनविरुद्ध एमाले–जसपा एक ठाउँमा थिए भने जनमत, रास्वपा लगायतका दल एक्लै मैदानमा थिए। 

समानुपातिकतर्फ कांग्रेसको ४ लाख ३४ हजार ९७१, एमालेको ३ लाख ७१ हजार ७०९, जसपाको २ लाख ९८ हजार ७४४, जनमतको २ लाख ९६ हजार ४८४, माओवादी–नेसपाको १ लाख ७९ हजार ८७०, लोसपाको १ लाख ९ हजार ३९० र एकीकृत समाजवादीको १ लाख ७ हजार ८४ मत आएको थियो।

यस्तै रास्वपाले ७२ हजार ९३५, राप्रपाले ६८ हजार ६५३, नागरिक उन्मुक्ति पार्टीले ४१ हजार १, नेपाल संघीय समाजवादी पार्टीले ३८ हजार ३१२ र बहुजन एकता पार्टीले १५ हजार ७७४ मत प्राप्त गरेको थियो। 

यसपाली पनि मधेसमा करिब २० लाख मत खस्ने अनुमान छ, जसबाट समानुपातिकमा २३ सिट सुनिश्चित हुन्छ। मधेसमा धेरैको अनुमान के छ भने बालेन क्रेजले गर्दा यसपाली मधेसको समानुपातिक भोटमा रास्वपाले ‘लिड’ गर्नेछ। २३ मध्ये १५ सिट आफ्नो पक्षमा हुने रास्वपाका नेताहरूको दाबी छ। 

प्रत्यक्षतर्फका ३२ सिटमा भने कांग्रेस र अरु पार्टीहरू नै हावी हुने देखिन्छ। यसपटक मधेसका प्रत्यक्षतर्फका ३२ वटै क्षेत्रमा उम्मेदवारी दिएको कांग्रेसले १२–१६ सिट जित्न सकिने कांग्रेस सभापति थापाको आकलन छ। सर्लाही ४ का उम्मेदवार समेत रहेका थापा मधेसमा कांग्रेसले सानदार कमब्याक गर्ने बताउँछन्। 

‘कांग्रेसलाई मधेसले औधी माया गरेको थियो। कांग्रेसले पनि त्यति नै माया गर्छ है भनेर सर्लाही ४ मा मैले उम्मेदवारी दिएको हो। मधेसमा कांग्रेस सानदार कमब्याक गर्छ,’ उनले भने। 

कांग्रेस नेता तथा धनुषा ३ का उम्मेदवार विमलेन्द्र निधिले देशभरिमा कांग्रेसले भोट पाउने भन्दै मधेसमा पनि राम्रो भोट पाउने बताए। सभापति थापा सर्लाही आउनु मधेसको सौभाग्य भएको भन्दै पूर्वसहमहामन्त्री तथा धनुषा ४ का उम्मेदवार महेन्द्र यादव कांग्रेसले मधेसमा दुई तिहाइ सिट जित्ने दाबी गर्छन्।

यता एमाले भने आसन्न निर्वाचन सहज नहुने विश्लेषण गरिरहेको छ। पार्टी र नेतृत्वमाथि चौतर्फी घेराबन्दी भएको र टिकट वितरणमा ध्यान नपुग्दा मधेसमा विरासत जोगाउन चुनौती थपिएको एमालेको बुझाइ छ। 

यद्यपि, एमाले उपमहासचिव तथा धनुषा ४ का उम्मेदवार रघुवीर महासेठ सबै एक्लाएक्लै चुनावी मैदानमा रहेकाले विगतको भन्दा सहज हुने बताउँछन्। 

‘अहिले मधेसी जनताको दिमागमा एमालेले नै देश बनाउन सक्छ, मधेस बनाएको छ भन्ने परेको छ। यो सात वर्षको समयमा देशमै भौतिक विकासले फड्को मारेको छ। सबै एक्लाएक्लै चुनाव लडिरहेकाले हामीलाई सहज भएको छ,’ उनले भने, ‘अघिल्लो चुनावको भन्दा बढी सिट जित्छौँ।’

नेकपाका नेता नारायणकाजी श्रेष्ठ सिंगो देश र मधेसले आफूहरूप्रति सकारात्मक भाव देखाएको बताउँछन्। गत निर्वाचनमा मधेसमा जितविहीन तत्कालीन माओवादी, एकीकृत समाजवादी, नेसपा लगायतसँग एकतापछि बनेको नेकपाको कम्तीमा ६–८ सिट जित्ने आकलन छ। संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्न मधेसी जनताले नेकपालाई मत दिने श्रेष्ठको भनाइ थियो।

श्रेष्ठ आफै सर्लाही ३ बाट उम्मेदवार छन्।

मधेसी समुदायका बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको रास्वपा मधेसमा ‘ब्यालेट विद्रोह’ गर्ने तयारीमा छ। २०७९ निर्वाचनमा रास्वपा मधेसमा निष्प्रभावी देखिएको थियो। ३२ निर्वाचन क्षेत्रमा ७२ हजार मात्र समानुपातिक भोट पाएको रास्वपा प्रत्यक्षतर्फ कहीँ पनि प्रतिस्पर्धामा आउन सकेको थिएन। 

‘यो बीचमा पुरानो दल, प्रादेशिक स्तरमा रहेका दल, केन्द्रीय स्तरमा रहेका दलहरूबाट भएको अभ्यासबाट निराश जनताले विकल्पका रूपमा आफूहरूलाई हेरेको रास्वपा प्रवक्ता तथा धनुषा ३ का उम्मेदवार मनिष झा बताउँछन्। 

‘अहिले स्वीकार्यता कस्तो छ भन्ने कुरा अब की बार, बालेन सरकार भनेर सबै ठाउँ देखिन्छ। चुपचाप घन्टी छाप भनेर सबैले बोल्नु हुन्छ। यो कुराले देखाउँछ– राजनीतिक रूपमा अब रास्वपा मधेसमा स्थापित भइसक्यो। सम्भवतः अब यो देशमा मात्र होइन कि मधेस प्रदेशमा पनि रास्वपा सबैभन्दा ठूलो पार्टी हुँदैछ,’ उनी भन्छन्।

तर, आन्तरिक रूपमा चाहिँ मधेसमा ५ देखि ८ सिट जित्न सकिने रास्वपाको हिसाब–किताब छ। रास्वपाका एक नेताले नेपालखबरसँगको अनौपचारिक संवादमा भने, ‘प्रत्यक्षमा ५ देखि ८ सिट जित्छौँ। समानुपातिकतर्फ भने मधेसमा हामी पहिलो दल बन्ने पक्का जस्तै छ।’ 

सर्लाही ४ का रास्वपा उम्मेदवार अमरेश सिंह भने मधेसका ३२ क्षेत्रमध्ये रास्वपाले कम्तीमा २० सिट जित्ने दाबी गर्छन्। 

‘यहाँका जनता, युवा र विदेशमा रहेका नेपालीहरू बालेनलाई प्रधानमन्त्रीको रूपमा हेर्न चाहन्छन्। यहाँका जनताको माग बालेन सरकार भन्ने सपना साकार हुनेछ,’ उनी भन्छन्।

मधेस प्रदेशमा स्थापित दल जसपा भने रास्वपा मधेस छिरेपछि दबाबमा देखिन्छ। २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम नेपालले ५२ सिट ल्याएर तहल्का मच्चाएको थियो। दोस्रो संविधानमा सभामा उसको लोकप्रियताको ग्राफ ह्वात्तै घट्यो। यादवले नेतृत्व गरेको तत्कालीन मधेसी जनअधिकार फोरमले प्रत्यक्षतर्फ दुई र समानुपातिकतर्फ आठ गरी १० सिट मात्र जित्यो।

२०७४ को निर्वाचनमा यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमले प्रत्यक्षतर्फ १० र समानुपातिकतर्फ ६ गरी १६ सिट जितेकोमा २०७९ को निर्वाचनमा जसपा १२ सिटमा खुम्चियो। यसपटक महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई जसपामा समाहित गराएर चुनावी मैदानमा उत्रिएका उपेन्द्रको पक्षमा अहिलेसम्म माहोल आइसकेको छैन। लोसपासँगको एकताले प्रत्यक्षतर्फ सहजता देखिएपनि फागुन २१ सम्म अहिलेकै अवस्था कायम रहे समानुपातिकमा जसपालाई संकट देखिन्छ। 

अध्यक्ष यादव भने मधेसमा जसपाको उपस्थिति सबभन्दा राम्रो र अब्बल दर्जाको रहने बताउँछन्।

‘अब मधेसका जनता जागिसके, बुझिसके, अब अलमलमा पर्दैनन्,’ उनी भन्छन्। 

जसपाले प्रत्यक्षमा ८ देखि १० सिट जित्ने नेताहरूको आकलन छ। 

एक नेताले भने, ‘समानुपातिकमा केही समस्या हुनसक्छ। तर, प्रत्यक्षतर्फ ८ देखि १० सिट जित्न गाह्रो नहोला भन्ने हाम्रो आकलन छ।’ 

२०७९ को निर्वाचनमा तराई–मधेसमा वैकल्पिक शक्तिका रूपमा उदाएको जनमत पार्टीप्रति पनि मधेसमा मोहभंग भएको पाइएको छ। गत निर्वाचनमा जनमतका अध्यक्ष सीके राउतले जसपाका उपेन्द्र यादवलाई सप्तरी २ मा हराएपछि निकै ठूलो हलचल पैदा भयो। प्रत्यक्षतर्फ राउतले मात्र जिते पनि समानुपातिकमा जनमतले ५ सिट पाएको थियो। मधेस प्रदेशमा जनमत ३ लाख २९ हजार १७७ प्राप्त गरी तेस्रो दल बनेको थियो भने प्रदेशतर्फ प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी मधेस प्रदेशसभामा १३ सांसद पुगेका थिए। केन्द्रमा सत्ताको सहयोगी र मधेस प्रदेशमा १४ महिना सरकार चलाएको जनमत एउटा चुनावी चक्रसम्म पनि टिक्न सकेन। यसपालिको चुनाव नआइपुग्दै जनमत छिन्नभिन्न भइसकेको छ। 

राउतका मुख्य सारथी नै विरुद्धमा उत्रिँदा दबाबमा देखिएको जनमतलाई रास्वपाको बालेन कार्डले थप चुनौती थपिदिएको छ। यद्यपि राउत गत निर्वाचनभन्दा जनमतप्रति विश्वास र भरोसा जागेको दाबी गर्छन्। 

‘०७९ सालको चुनावमा हामी होमिँदा स्थानीय निर्वाचनमा दुई वटा पालिकामा मात्रै विजय हासिल गर्दा यो पार्टी समाप्त भइसक्यो भन्ने थियो। त्यो निराशाका बीचमा पनि हामी जनताका बीचमा गएका थियौँ। हामीसँग धेरै राम्रा उम्मेदवारहरू नहुँदा मतदातामा र उम्मेदवारमा पनि आत्मविश्वास थिएन। यो पार्टी सरकारमा पनि जान सक्दैन, किन भोट हाल्ने भन्ने थियो। अहिलेको स्थितिमा सारा कुरा तोडिएको छ। जनतामा आत्मविश्वास छ,’ उनी भन्छन्।

जनमत जित्छ भन्ने कुराले उम्मेदवारमा आत्मविश्वास देखिनुका साथै यसपालि सशक्त उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा रहेको राउतको दाबी छ।

‘उम्मेदवारलाई जित्छु भन्ने भरोसा छ। यस्तो उम्मेदवार पाएपछि र जनतामा आत्मविश्वास भएपछि यसपालि परिणाम धेरै राम्रो हुन्छ भनेर हामीले आकलन गरेका छौँ,’ उनी भन्छन्, ‘हामीले अहिले मोटामोटी १६ देखि १८ वटा क्षेत्रमा विजय हासिल गर्ने लक्ष्य राखेका छौँ, जित्छौँ जस्तो लाग्छ हामीलाई।’ 

अनौपचारिक गफगाफमा भने राउतले प्रत्यक्षमा ३ देखि ५ सिट जित्ने हिसाब सुनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad