सामाजिक सञ्जालमार्फत आफूविरुद्ध भ्रम फैलाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपभासपति स्वर्णिम वाग्लेले साइबर ब्युरोमा उजुरी दिएका छन्।
उपसभापति वाग्लेले बिहीबार साइबर ब्युरोमा दिएको उजुरीमा ‘सामाजिक सञ्जालमा झुटा र भ्रामक समाचार सिर्जना गरी मानमर्दन र सामाजिक सौहार्दता खल्बल्याउने कुनियतले सामग्री प्रचारप्रसार गर्नेहरू पत्ता लगाई हदैसम्मको कारबाही गरि पाउँ’ भनेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध भ्रम फैलाइएको बताएका छन्।
निवेदनमा भनेका छन्, ‘विगत केही दिनदेखि मेरो धर्म र व्यक्तिगत आस्थाबारे भ्रम सिर्जना गराई समाजको एउटा तप्काका नजरमा नकारात्मक धारणा पैदा गराउन सकिन्छ कि भन्ने संगठित दुस्साहस गरिँदै छ। झुटा र बनावटी विवरणहरू जोसकुैले सजिलै सम्पादन गर्न मिल्ने विकिपिडिया जस्तो वेबसाइटमा हिजो एक दिनमा मात्र १३५ पटक गलत इन्ट्री गराउँदै, स्क्रिनसट लिँदै व्यापक रुपमा नक्कली सामग्री फेसबुक र एक्समा प्रसारण गरिएको छ।’
रास्वपा ‘सनातन सम्भता’प्रति प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन्। ‘व्यक्तिगत आस्थाको विषयमा म हिन्दू हुँ र आफू आबद्ध राजनीतिक दलले सनातन सभ्यताको जगेर्ना गर्ने प्रतिबद्धता गरेको छ,’ वाग्लेले भनेका छन्, ‘हामी बहुलवादी लोकतान्त्रिक दल पनि भएकोले धार्मिक–सांस्कृति विविधतालाई पारस्पारिक सम्मान र सहअस्तित्वका सिद्धान्तका आधारमा कोही पनि अल्पसंख्यक समुदायको सदस्य यो देशमा असुरक्षित हुनहुन्न भन्ने दृढ मान्यता राख्दछौँ।’
उनले आफूविरुद्ध राजनीतिक उद्देश्यले भ्रम फैलाएको बताएका छन्। उजुरीमा भनेका छन्, एउटा सरल प्रविधिको दुरुपयोग गर्दै गलत राजनीतिक उद्देश्य लिएर सुनियोजित रुपमा भ्रम फैलाउनेहरू असहिष्णु, राजनीतिक अधर्मीहरू हुन भन्ने मेरो बुझाई छ।’
उनले यसमा संलग्न व्यक्तिलाई कारबाही गर्न माग गरेका छन्। उजुरीसँगै सामाजिक सञ्जालमा फैलाइएका सामग्रीको लिंक पनि साइबर ब्युरोमा बुझाएका छन्।
Shares

प्रतिक्रिया