नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चीन विरोधीहरूलाई संरक्षण र सम्मान गरिरहेको आरोप लगाएका छन्।
उनले दलाई लामाका प्रतिनिधि नेपाल आउँदा विमानस्थलदेखि नै राजकीय सम्मानसहित स्वागत गरिएको बताए।
बुधबार राजधानी काठमाडौंमा पार्टीले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष थापाले वर्तमान सरकारले चीनविरोधी गतिविधिलाई संरक्षण गरिरहेको आरोप पनि लगाए।
थापाकाअनुसार चीनले नेपाल सरकारलाई चीनविरोधी गतिविधिमा संलग्न व्यक्तिहरूलाई नेपालबाट निष्कासन गर्न चेतावनी दिएको छ।
उनले भने, ‘दलाई लामाको प्रतिनिधि नेपाल आएका थिए। उनलाई विमानस्थलदेखि नै राजकीय सम्मानसहित नेपाल ल्याइएको थियो। यो सरकारले चीन विरोधीहरुलाई संरक्षण दिइरहेको छ। यसले गर्दा चीनले सरकारलाई दुई वटा विकल्प दिएको छ। या त चीनको विरोधीलाई नेपालबाट निकाला गर्नुपर्यो नभए यसबाट उत्पन्न हुने परिणाम भोग्नको लागि तयार हुनुपर्यो भनेको छ।’
२३ र २४ भदौमा भएको ‘जेन–जी विद्रोह’ कुनै क्रान्ति नभई प्रायोजित प्रतिगमन र प्रतिक्रान्ति भएको दाबी गरे।
उपाध्यक्ष थापाले उक्त घटनालाई असंवैधानिक कदमको संज्ञा दिए। उनले विद्रोहको नाममा भएका गतिविधिहरू क्रान्तिको आवरणमा गरिएको प्रतिक्रान्ति तथा मुलुकमा अस्थिरता सिर्जना गर्ने षड्यन्त्र भएको टिप्पणी गरे।
उनले भने, ‘त्यो घट्ना (२३ र २४ भदौको जेनजी विद्रोह) प्रायोजित थियो। त्यो कुनै क्रान्ती थिएन। जेनजीको आवरण गरिएको त्यो कुनै क्रान्ती थिएन। त्यो वास्तवमा प्रतिगमन र प्रतिक्रान्ती थियो। त्यो एकदमै ठूलो असंवैधानिक कदम थियो।’
Shares

प्रतिक्रिया