राजनीति


जापान पुगे राष्ट्रपति पौडेल

जापान पुगे राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलको फाइल फोटो


नेपालखबर
माघ १९, २०८२ सोमबार ७:२६, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेल औपचारिक भ्रमणका लागि आज (सोमबार) बिहान जापान पुगेका छन्। 

राष्ट्रपतिको सचिवालयका अनुसार उनलाई जापानस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा र जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले स्वागत गरे। 

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन जापान पुगेका हुन्। 

जापान भ्रमणका अवसरमा राष्ट्रपति पौडेल माघ १९ गते सोमबार जापान सरकारले अयाोजना गर्ने नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी हुनेछन्। 

त्यस्तै माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा उनले जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग भेटवार्ता गर्नेछन्। 

भ्रमणका क्रममा राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले शिष्टाचार भेटवार्ता गर्नेछन्। 

भ्रमणका क्रममा जापानी व्यावसायिक समुदायसँग र जापानस्थित नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत समारोहमा राष्ट्रपति पौडेल सहभागी हुनेछन्। 

नेपाल जापानबीच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो।

राष्ट्रपति पौडेल जापान भ्रमण सकेर यही माघ २१ गत बुधबार स्वदेश फर्कने कार्यक्रम छ।

जापानको औपचारिक भ्रमणका लागि उनी आइतबार राति नेपालबाट जापान प्रस्थान गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad