धवलागिरि–१ गुर्जाका रामबहादुर छन्त्यालको मतदान केन्द्र गाउँमै छ, तर बसोबास पोखरामा । नाति–नातिनाको पढाइ र स्वास्थ्य उपचारका लागि सहर झरेका उनी गाउँमा बिहेवारी वा चुनाव हुँदा मात्रै टेक्छन्।
“गाउँमा विकासका पूर्वाधार र रोजगारी भइदिएको भए बजार बस्नुपर्ने बाध्यता हुँदैनथ्यो,” रामबहादुरले आफ्नो बाध्यता सुनाए। अन्नपूर्ण–५ पाउद्धारका भीम पुनको व्यथा पनि उस्तै छ। सन्तान वैदेशिक रोजगारीमा छन्, उनी नाति–नातिना डोर्याउँदै ८ वर्षदेखि पोखरामा छन् । उनी भन्छन्, “गाउँमा खेतीयोग्य जमिन बाँझै छ, विद्यार्थी नभएर स्कुल रित्तिएका छन्। गाउँमै बस्ने वातावरण भइदिए कति जाति हुन्थ्यो १”
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको चहलपहल बढ्दा म्याग्दीका यी दुई प्रतिनिधि पात्रजस्तै हजारौँ मतदाता यतिबेला सहरमा छन्। गाउँ रित्तिँदै गएपछि र मतदाता सहरमा थुप्रिएपछि उम्मेदवारहरू पनि भोट माग्न गाउँ छाडेर पोखरा पुग्न थालेका छन्।
बसाइँसराइ
विगतका चुनावमा प्रचारप्रसार जिल्लाभित्रै सीमित हुन्थ्यो। तर यसपालि चिसो छल्न बेँसी झरेका र स्थायी रूपमै पोखरा बस्ने म्याग्देलीको संख्या ठूलो भएपछि उम्मेदवारहरूले आफ्नो रणनीति बदलेका छन्।
नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र नेकपाका अर्जुन थापा यतिबेला पोखरामै केन्द्रित छन्। उनीहरूले सम्पर्क समाजमार्फत मतदातासँग भेटघाट तीव्र बनाएका छन्। नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी (केबी) र स्वतन्त्र उम्मेदवार डा। महावीर पुन पनि पोखरा जाने तयारीमा छन्। “धेरै मतदाता सहरमा हुनुहुन्छ, उहाँहरूका सुझाव र अपेक्षा सुन्न पोखरा पुगेका हौँ,” एमाले उम्मेदवार श्रेष्ठले भने।
जिल्ला निर्वाचन कार्यालयका अनुसार म्याग्दीमा हाल ८६ हजार ३ सय ९७ मतदाता कायम छन्। अघिल्लो निर्वाचन ९२०७९० को तुलनामा यो संख्या मात्र २ सय ७७ ले बढी हो। जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमका अनुसार बढ्दो बसाइँसराइ र घट्दो जन्मदरका कारण मतदाता संख्या स्थिर जस्तै देखिएको हो।
स्थानीय तहको पञ्चीकरण शाखाको तथ्याङ्क झन् डरलाग्दो छ। आव २०८१र८२ मा म्याग्दीका विभिन्न स्थानीय तहमा ८९ परिवार भित्रिँदा २४७ परिवारले थातथलो छाडेर अन्यत्र गएका छन्। २०७८ को जनगणनाअनुसार १० वर्षको अन्तरालमा म्याग्दीको कुल जनसंख्या १ लाख १३ हजारबाट घटेर १ लाख ७ हजारमा झरेको छ।
म्याग्दी बहुमुखी क्याम्पसका समाजशास्त्रका प्राध्यापक गोरखबहादुर जिसी सडक र बिजुली पुगे पनि मानिस गाउँमा टिक्न नसकेको बताउँछन्। “सुविधा पुगे पनि रोजगारी र आयआर्जनको अवसर नहुँदा मानिस पलायन भइरहेका छन्,” उनी भन्छन्।
उम्मेदवारका एजेन्डामा ‘पलायन रोक्ने’ दाबी
मुख्य प्रतिस्पर्धामा देखिएका कांग्रेसका भण्डारी, एमालेका श्रेष्ठ, नेकपाका थापा र स्वतन्त्र उम्मेदवार डा.पुन सबैका चुनावी एजेन्डामा ‘बसाइँसराइ नियन्त्रण’ साझा मुद्दा बनेको छ । स्वतन्त्र उम्मेदवार पुनलाई रास्वपाले समेत समर्थन गरेको छ।
उम्मेदवारहरूले नीति निर्माण तहमा म्याग्दीको आवाज बुलन्द गर्ने, जलविद्युत् र पर्यटनमार्फत रोजगारी सिर्जना गर्ने र गाउँमै गुणस्तरीय शिक्षा–स्वास्थ्यको प्रत्याभूति दिने बाचा गरेका छन् । तर, मतदाता भने पुरानै बाचा दोहोरिनेमा सशंकित छन्। “चुनावका बेला सबैले सपना बाँड्छन्,” पोखरामा भेटिएका झलक थापाले भने, “हामीलाई त गाउँमै फर्केर बस्न सक्ने ठोस योजना चाहिएको छ।” (सन्तोष गाैतम/रासस)
Shares

प्रतिक्रिया