‘जेनजी’ आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले भौतिक संरचना ध्वस्त भएपछि कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन वैकल्पिक हलमा सुरु हुने भएको छ। आज आइतबारदेखि सुरु हुने सातौँ अधिवेशन वीरेन्द्रनगर–६ गणेशचोकस्थित कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्रको सभाहलमा बस्ने तयारी गरिएको छ।
गत भदौ २३ र २४ गते भएको आन्दोलनले प्रदेशसभा भवनमा करोडौँको क्षति पुर्याएपछि सचिवालयले अस्थायी विकल्प रोजेको हो। प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार आन्दोलनकारीको तोडफोडबाट फर्निचर, कम्प्युटर, इलेक्ट्रोनिक्स र सवारीसाधनसहित ३ करोड ९४ लाख १६ हजार ३ सय ९४ रुपैयाँ बराबरको भौतिक क्षति भएको थियो।
'आन्दोलनबाट क्षतिग्रस्त भवन तत्काल प्रयोग गर्न सकिने अवस्थामा छैन,' सचिव बुढाथोकीले भने, 'परिसरभित्रै अस्थायी संरचना निर्माण भइरहे पनि त्यो तयार नहुन्जेल कृषि मन्त्रालयअन्तर्गतको तालिम केन्द्रबाटै बैठक सञ्चालन गर्नेछौँ।' सचिवालयले उक्त सभाहलमा रोस्टम निर्माण, सभामुख र सांसदहरूको सिट व्यवस्थापन, साउन्ड सिस्टम र सुरक्षा प्रबन्ध मिलाइसकेको छ।
यसअघि सभामुख नन्दा गुरुङ र मुख्यमन्त्री यामलाल कँडेलले उक्त अस्थायी सभाहलको स्थलगत अनुगमन गरी तयारीबारे जानकारी लिएका थिए। साउन २१ मा बजेट पारित गरेर छैटौँ अधिवेशन अन्त्य भएको ६ महिनाभित्रै संवैधानिक व्यवस्थाअनुसार सरकारले हिउँदे अधिवेशन आह्वान गरेको हो।
छैटौँअधिवेशनमा १४ कानुन
दोस्रो कार्यकालको छैटौँ अधिवेशनसम्म आइपुग्दा कर्णाली प्रदेशसभाले १४ वटा कानुन निर्माण गरेको छ। सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार दर्ता भएका २३ विधेयकमध्ये १४ वटा प्रमाणीकरण भइसकेका छन् भने ४ वटा विचाराधीन छन्। सरकारले ३ वटा विधेयक भने फिर्ता लिएको छ।
सरकारका प्रवक्ता विनोदकुमार शाहले प्रदेशसभा परिसरमै नयाँ अस्थायी भवन बन्दै गरेको र त्यो तयार नहुन्जेल मात्र तालिम केन्द्रको हल प्रयोग गरिने जानकारी दिए। हिउँदे अधिवेशन आइतबार दिउँसो १ बजे सुरु हुनेछ।
Shares

प्रतिक्रिया