काठमाडौँलाई उत्तरी छिमेकी चीनसँग जोड्ने अरनिको राजमार्ग, व्यापारिक नाका तातोपानीको प्रवेशद्वार हुँदै जुगल हिमालसम्म फैलिएको छ सिन्धुपाल्चोकको क्षेत्र नम्बर १।
आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावका लागि १८ जना प्रतिस्पर्धीले यही क्षेत्र रोजेका छन्। जसमा नेपाली कम्युनिस्ट पार्टीका नेता माधव सापकोटा, नेपाली कांग्रेसका जिल्ला सभापति जंगबहादुर लामा, नेकपा एमालेबाट सरेश नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भरत पराजुलीसहित राप्रपाबाट राममणि न्यौपाने, उज्यालो नेपाल पार्टीबाट प्रताप लामा, मंगोल नेसनल अर्गानाइजेसनका दावा लामा प्रतिस्पर्धामा छन्।
यस्तै, श्रम संस्कृति पार्टीले फुर्वा तामाङलाई उम्मेदवार बनाउँदा नेपाल मजदुर किसान पार्टीले गीतादेवी कर्माचार्यलाई उठाएको छ। यस पटकको टक्करमा सबैभन्दा चर्चामा रहेका उम्मेदवार हुन्– नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा।
२०७९ को चुनावमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट ३० हजार ३ सय ७४ मत प्राप्त गरी विजयी भएका सापकोटाका लागि यो चुनाव आफ्नो पर्फमेन्सको प्रतिवेदन बुझाउने अवसर हो।
सिन्धुपाल्चोक १ का मतदाताका लागि तातोपानी नाका व्यापारिक विन्ददु मात्र होइन, यो यहाँको जीवनरेखा नै हो। तर, यही नाका भूकम्पले पूर्णरुपमा अवरुद्ध भयो।
वर्षौँदेखि थलिएको तातोपानी नाका खुलाउने मुद्दालाई उनले संसदको पहिलो सम्बोधनमै प्राथमिकताका साथ उठाए। कूटनीतिक र राजनीतिक पहलकदमीमार्फत नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन उनी सफल भएको र यही कुरा लिएर मतदाताको घरघर पुगिरहेको बताउँछन् उनको चुनाव परिचालन कमिटीका संयोजक केशव नेपाल।
‘हाम्रो सिंगो पार्टी एकताबद्ध छ। अहिले माधव सापकोटाकै पक्षमा लहर छ, किनकि, उहाँले गर्नुभएको सदनको काम, यहाँको नाका खोल्नका लागि खेल्नुभएको भूमिकाको प्रभाव परेको छ,’ उनले नेपालखबरसँग भने।
अन्य पार्टीभित्र देखिएको अन्तविरोधले आफूहरूलाई सहज हुने उनले बताए। यद्यपि, प्रतिस्पर्धा एमालेसँग भएको नेपाल बताउँछन्।
‘हामीसँग सेटअप छ, पालिका, वडा र बुथसम्म कार्यकर्ता परिचालित भइसकेका छन्,’ नेपालले थपे, ‘समानुपातिक मत दोब्बर बनाएर हामी जित्छौँ। हाम्रो उम्मेदवारको पक्षमा ह्विम आएको छ। ढुक्क भन्न सक्छु, हामी चुनाव जित्छौँ।’
सिन्धुपाल्चोकको सो क्षेत्रमा एमाले बलियो हो। गत निर्वाचनमा समानुपातिकतर्फ २२ हजार ०७४ मत ल्याई एमाले पहिलो दल बनेको थियो।
दोस्रोमा रहेको कांग्रेसको १७ हजार २५० मत छ। विभिन्न घटकसँग एकता गरेपछि बनेको नेकपाको कुल मत जोड्दा झण्डै १६ हजार देखिन्छ।
तर, यसपटक एमालेको उम्मेदवार चयनमा भएको विवादका कारण नेकपा आशावादी छ। सुरुमा आङदोर्जे शेर्पालाई अघि सार्ने निर्णय गरेको एमालेले पछि जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गर्यो।
श्रेष्ठले २०७४ मा जुगल गाउँपालिकाको अध्यक्ष जितेका थिए। तर, २०७९ को प्रदेश सभामा पराजित भएका थिए।
तर, फेरि उम्मेदवारी मनोनयनको दिन श्रेष्ठको नाम पनि हटाएर सरेश नेपाललाई टिकट दिइयो, जसकारण एमालेको एउटा समूह असन्तुष्ट देखिएको छ। कतिपय नेता र कार्यकर्ताले पार्टी नै छोडेको घोषणा गरेका छन्।
२०७९ मा एक्लै चुनाव लडेर २७ हजार १८ मत ल्याई उनै माधव सापकोटाको निकटतम् प्रतिद्वन्द्वी बनेका थिए नेपाल। एमाले सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्माचार्य ती असन्तुष्टि सबै हल भइसकेको जिकिर गर्छन्।
‘भोलि समीक्षा गरौँला, अहिले मूल लडाइँमा जाने भनेर सबैखालका असन्तुष्टि स्थगित गरेर उम्मेदवार बोकेर तल जाने अभियान सुरु भइसकेको छ,’ उनले भने, ‘एमालेको संगठन अहिले पनि मजबुत छ। अब हामी चुनाव जित्छौँ।’
यसपटक सापकोटालाई रोक्नसबैखाले तयारी भइरहेको उनको भनाइ छ। यद्यपि, मनोनयनकै दिन रास्वपा प्रवेश गरेर भरत पराजुलीले उम्मेदवारी दिएपछि एमालेलाई धक्का लाग्ने चर्चा पनि छ।
रास्वपाको सिन्धुपाल्चोक सभापति माया गुरुङले आफ्ना उम्मेदवारको पक्षमा माहोल बनिरहेको बताइन्।
‘व्यक्तिभन्दा पनि रास्वपा र घन्टीलाई जिताउने माहोल छ,’ उनले भनिन्, ‘एमालेका धेरै साथीहरू आउनुभयो। रास्वपामा आशा बढिरहेको छ। जनता जागिसकेका छन्।’
यद्यपि, अहिले नै जितहारको कुरा गरिहाल्न हतार हुने उनको भनाइ छ।
‘अलिकति मेहनत गर्नैपर्छ, सबै ठाउँमा पुग्न सकियो भने हामी चुनाव जित्छौँ, सभापति गुरुङले थपिन्, ‘एमाले र कांग्रेसभित्रको अन्तसंघर्षले भरतजीको माहोल बन्दै गएको छ।’
उता कर्माचार्य भने रास्वपाले एमालेको मात्र मत नकाट्ने बताउँछन्।
‘उहाँको आधार छैन, हाम्रो क्षेत्रमा लहर पनि छैन। बेलुका सुत्दा एउटा दल उठ्दा अर्काे! यो त अवसरवादी चरित्र भयो,’ कर्माचार्यले थपे, ‘भरतजी हाम्रो प्रतिस्पर्धी नै होइन। अलिअलि मत लगे पनि एमालेको मात्र होइन, सबैले लग्ने होला। तर, निर्णायक र उल्लेख्य मत लानुहुन्न।’
यस क्षेत्रमा पकड राखिरहेको कांग्रेसले यसपटक जिल्ला सभापति जंगबहादुर लामालाई पहिलोपटक चुनावी प्रतिस्पर्धामा उतारेको छ। तर, सो क्षेत्रका प्रभावशाली नेता मोहन बस्नेतले यसपटक टिकट नपाएपछि त्यसको असर पर्नसक्ने कांग्रेस सिन्धुपाल्चोक जिल्ला उपसभापति दोर्जे लामा बताउँछन्। तथापि, चुनाव आफ्नै दलले जित्ने उनी दाबी गर्छन्।
‘रास्वपाले जित्ने कुरै भएन, एमाले जित्ला जस्तो भएको थियो तर भित्र अन्तद्वन्द्व छ,’ उनले भने, ‘मोहन दाइले सभापति बनाउनुभएकै व्यक्ति अहिले उम्मेदवार भएकोले सहयोग गरिरहनुभएको छ।’
पार्टीभित्र केही नेता असन्तुष्ट रहे पनि चुनावमा मत दिने बेला एकजुट हुने उपसभापति लामा बताउँछन्।
‘लोकतान्त्रिक पार्टीमा अरुबेला मतभेद भए पनि चुनावको बेला एकढिक्का भएर मत दिन्छन्, कांग्रेस एक नम्बरमा छ,’ उनले ठोकुवा गरे।
सांसद भएका बेला माधव सापकोटाले सदनमा मात्र काम गरेको लामाले गुनासो गरे।
‘अघिल्लो चुनावमा हाम्रो उम्मेदवार थिएन, अब हामी काठमाडौँमा रहेका सबै भेट्छौ जिल्लामा पनि काम गर्छौं,’ कांग्रेस सिन्धुपाल्चोकका उपसभापति दोर्जे लामाले भने।
उता, निवर्तमान सांसद सापकोटाले जुरे पहिरो पीडितको समस्या समाधानका लागि पहल र अरनिको राजमार्गको स्तरोन्नतिलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। तर, एमालेले नेकपालाई प्रतिस्पर्धी नै नदेखेको जिल्ला इन्चार्ज सुवास कर्माचार्यको भनाइ छ।
‘हाम्रो प्रतिस्पर्धी त कांग्रेस हो, नेकपा तेस्रो हो, रास्वपा त यहाँ प्रतिस्पर्धामै छैन,’ उनले भने।
कांग्रेसले भने मुख्य प्रतिस्पर्धी कसैलाई नदेखेको उपसभापति लामा बताउँछन्।
Shares

प्रतिक्रिया