कोशी


सुनसरी ३ः विरासत फर्काउन गच्छदारलाई भगवती बाधक, दुवैको चुनौती रास्वपा

सुनसरी ३ः विरासत फर्काउन गच्छदारलाई भगवती बाधक, दुवैको चुनौती रास्वपा

सुमन सुस्केरा
माघ १६, २०८२ शुक्रबार १७:३, विराटनगर

सुनसरी क्षेत्र नम्बर ३ को चुनावी माहोल दिनप्रतिदिन रोचक बन्दै गएको छ। यसअघि मुख्य प्रतिस्पर्धी मानिएका नेकपा एमालेकी भगवती चौधरी र नेपाली कांग्रेसका विजयकुमार गच्छदारसँगै यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अशोक चौधरी पनि कडा टक्कर दिन मैदानमा छन्। 

एमालेबाट उम्मेदवार भएकी भगवती चौधरी २०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित भएकी थिइन्। उनलाई त्यतिबेला मतदातामाझ विकासको नयाँ आशाका रूपमा हेरिएको थियो। २०७९ सालको निर्वाचनमा क्षेत्र नम्बर ३ मा भगवतीले ४० हजार ७८८ मतसहित विजयी हुँदा गच्छदारले ३५ हजार छ सय मत मात्रै प्राप्त गरेका थिए।

यो पटकको निर्वाचनमा सोही क्षेत्रबाट भगवती चौधरी क्षेत्रको विकासका लागि आफ्नो उम्मेदवार भन्दै अर्को पटक पुनः कांग्रेस नेता गच्छदारसँग चुनावी मैदानमा भिड्दै छिन्। 

भगवतीलाई कतिपयले इमानदार र आफ्नो क्षेत्रका समस्यालाई नजिकबाट बुझ्ने नेताका रूपमा चित्रण गर्छन्। पढेलेखेकी र राष्ट्रिय राजनीतिमा प्रभाव राख्न सक्ने क्षमता भएकी चौधरीले विगतको आफ्नो छोटो कार्यकालमा पनि विकासका केही आधारभूत कामहरू थालेकोले त्यसैलाई आधार बनाएर प्रचार गर्दै आएकी छन्। 

यद्यपि, काठमाडौँ र क्षेत्रबीचको आउजाउका कारण जनसम्पर्कमा कमी देखिएको आरोप उनीमाथि लाग्ने गरेको छ। उनको पार्टी संगठन परिचालनमा अझै सक्रियता देखाउन नसकेको उनीमाथि आरोप लाग्दै आएको छ। 

चौधरीले स्थापना गरेको लघुवित्त संस्था बारे पनि विवाद हुने गरेको छ। तर उक्त संस्थाले धेरैलाई रोजगारी प्रदान गरेको र जनताको आर्थिकस्तर उकास्न सहयोग पुर्‍याएको भन्दै उनलाई लघुवित्तकै कारण जनताको साथ मिल्ने एमाले नेताहरू दाबी गर्छन्। फरवार्ड लघुवित्त वित्तीय संस्था मार्फत स्थानीय महिलाहरुलाई समूह बनाउने, रोजगारी सिर्जना गर्ने काममा लागेको उनका समर्थकहरूको भनाई छ।

पुरानो छवि देखाएर मैदानमा गच्छदार
२०४८ यता १३ पटक मन्त्री भइसकेका नेपाली कांग्रेसका विजयकुमार गच्छदार पुन: मैदानमा उत्रिएका  छन्। चार पटक उपप्रधानमन्त्री बनेका गच्छदारका लागि यसपटक माहोल फरक छ।  

गच्छदारले सुनसरीबाट २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा निर्वाचन जितेका हुन्। उनले २०४८, २०५१ र २०५६ मा सुनसरी क्षेत्र नम्बर २ बाट चुनाव लडेका थिए। सुनसरी क्षेत्र नं. २ त्यस बेला अहिलेको क्षेत्र नम्बर ३ को भूगोलमा थियो।

मधेश आन्दोलनपछि २०६४ सालको संविधान सभामा मधेशी जनअधिकार फोरमबाट चुनाव लडेका गच्छदार दोस्रो पटक २०७० सालको निर्वाचनअघि फोरम फुटाएर आफ्नै नेतृत्वमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठन गरेर सोहीबाट निर्वाचन जितेका थिए।  २०७४ को निर्वाचनमा पुनः नेपाली कांग्रेसमा फर्किएर निर्वाचन जितेको इतिहास उनीसँग छ। 

नेपाली राजनीतिमा लामो समयदेखि प्रभावशाली छवि बनाएका गच्छदारलाई धेरैले ‘भुईँ मान्छे’ तथा थारुहरूले  ‘धर्ती पुत्र’ का रूपमा चिन्ने गर्दछन्। विद्यार्थी राजनीतिबाट उदाएर राष्ट्रिय राजनीतिको मियो बनेको भनेर चर्चा गरिन्छ।

गच्छदारको पहिचान केवल एउटा नेताको रूपमा मात्र सीमित छैन; उनी विकासप्रेमी र मध्यमार्गी राजनीतिको एउटा बलियो खम्बाका रूपमा रहेकोले चुनावमार्फत पुनः आफ्नो उपस्थिती देखाउने कांग्रेस नेताहरूको दाबी छ।

गच्छदार निकट दुहबीका नेता महेश दत्त पछिल्लो समय नेपाली कांग्रेस भित्रको राजनीतिमा विभिन्न उतारचढाव देखिए पनि गच्छदारको भूमिका सधैँ समन्वयकारी देखिएकोले सबैको नेताका रुपमा एक भएर अघि बढेको दाबी गर्छन्।

उनले निर्वाह गर्ने मध्यमार्गी भूमिकाले नै मुलुकको संविधान निर्माण र कार्यान्वयनका चरणहरूमा महत्वपूर्ण उपलब्धि हासिल गर्न मद्दत पुगेको दाबी पनि गरे। 

वर्तमान समयमा युवा र प्रविधि बिना विकास सम्भव नभएको एजेण्डा सहित चुनावी मैदानमा देखिएका छन्। नागरिक तहमा गच्छदारको लोकप्रियताको मुख्य कारण उनको सहज पहुँच हो।

राष्ट्रिय स्तरको उच्च तहको नेता भए पनि आम सर्वसाधारणले उनलाई जुनसुकै समयमा भेट्न र आफ्ना समस्या राख्न सक्ने वातावरण रहेको उनका निकटस्थहरू बताउँछन्।

तर उनलाई चुनावी मैदानमा त्यती सजिलो भने छैन।  मुलुकको बदलिँदो परिस्थिति अनुसार आफूलाई परिष्कृत गर्दै लैजानुपर्ने चुनौतीका बीच गच्छदारले विकासका आयोजना र सुशासनलाई मुख्य प्राथमिकतामा राखेका छन्।  

उनले अहिले निर्वाचनमा मतदातासँग पुग्दा उनका प्रतिस्पर्धीले बालुवाटारको ललिता निवास प्रकरण उठाईदिँदा उनी निक्कै सकसमा छन्। 

स्थानीयस्तरमा यस क्षेत्रमा अहिले ‘परिवर्तन’ र ‘पुरानो विरासत’ बीच द्वन्द्वको चर्चा छ। 

सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजराज तिम्सिनाले यसपटक युवा मतदाताको झुकाव उल्लेख्य रूपमा ‘घण्टी’ (रास्वपा) तिर देखिएको बताए। युवा जमात नयाँ अनुहार र नयाँ राजनीतिक सोचको पक्षमा उभिएकाले पुराना र स्थापित नेताहरूलाई यसले निकै दबाब दिएको तिम्सिनाको बुझाई छ।

छैन एजेण्डा, मत परिवर्तनमा जित्ने दाउ
यस क्षेत्रमा त्रिपक्षीय भिडन्त हुने आकलन गर्न थालिएको छ। २०७९ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कमलबाबु मैनालीले ६ हजार ४५३ मत प्राप्त गरेका थिए। अहिले यो क्षेत्रमा रास्वपाका अशोककुमार चौधरी उम्मेदवार छन्।

उनले फागुन २१ गते हुने चुनाव पुरानो अभ्यास दोहोर्‍याउने नभई  इमान्दार राजनीति र नागरिक अधिकारलाई बलियो बनाउने अवसर भएको बताए। 

चौधरी भन्छन्, ‘तपाईंको साथ, सहभागिता र समर्थनकै बलमा यो यात्रा अघि बढ्छ।’ उनले आफ्नो आर्थिक अवस्था कमजोर रहेको भन्दै आर्थिक सहयोगको समेत याचना गर्न थालेका छन्।  

उनले नसके शुभेच्छा नै पर्याप्त हुने भन्दै चुनावको स्रोतसाधनका लागि आर्थिक सहयोग गर्न इच्छा हुनेहरूका लागि आफ्नो व्यक्तिगत बैंक खाताको क्युआर नै सार्बजनिक गरेका छन्।  उनले आफ्नो आम्दानीको चुनावपछि सम्पूर्ण आय–व्यय सार्वजनिक गरिने बताएका छन्।

रास्वपाबाट उम्मेदवार बनेका चौधरीले विशेषगरी युवाहरूको साथ पाएका छन्। बिघटित प्रतिनिधि सभामा रास्वपाबाट नै समानुपाति सांसदको अनुभव बटुलिसकेका चौधरी ‘परिवर्तन’ को नारालाई मुख्य हतियार बनाएका छन्।

उनले यस पटक जेनजी अर्थात् नयाँ पुस्ताका युवाहरूलाई आधार बनाएर जित्ने दाबी गरेका छन्। तर यसअघि समानुपातिक सांसद हुँदा क्षेत्रमा कुनै पनि योगदान गर्न नसकेको भन्दै मतदाताले उनको आलोचना गर्दै आएका छन्। 

‘यसपटकको चुनावमा पुरानो पुस्तालाई मनाउन गाह्रो भए पनि नयाँ पुस्ताका युवाहरू रास्वपाको पक्षमा ढल्किएका छन्,’ उनले भने, ‘प्रत्येक घरमा कम्तीमा एकजना जेनजी छन् उसले आफ्नो घरका परिवारलाई सम्झाउने भएको कारण यही क्याल्कुलेसनले हामी जित्छौँ।’

विगत ३८ महिना सांसद रहँदा आफूले गरेका कामहरूको विवरण (रिपोर्ट कार्ड) नै आफ्नो मुख्य एजेन्डा भएको चौधरीको दाबी छ।  
भित्री ग्रामीण क्षेत्रहरूमा पुराना नेताहरूको पकड रहे पनि सहरी र युवा मतदाताहरूले विकास र मान्छेभन्दा पनि नयाँ विकल्पलाई बढी प्राथमिकता दिइरहेको देखिन्छ।

सरस्वती माध्यमिक विद्यालयका प्रअ तेजप्रसाद तिम्सिना अहिले मान्छेले विकास भन्दा पनि नयाँ खोजीरहेको बताउँछन्। उनी भन्छन्, ‘अहिले मानिसले विकास हेरेका छन् कि अनुहार, केही भन्न सकिने अवस्था छैन।’ 

को छन् अन्य प्रतिस्पर्धी
सुनसरी क्षेत्र नम्बर ३ मा २३ जना प्रतिस्पर्धामा छन्। यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट दुर्गेश चौधरी, जसपा नेपालबाट बद्रीप्रसाद यादव,  आमआदमी पार्टीबाट रोहन साह, नेमकिपाबाट प्रकृति बासी, समावेशी समाजवादी पार्टीबाट किशोरकुमार विश्वास, नेकपा (माओवादी) बाट आशुतोष ढुङ्गेल, श्रम संस्कृति पार्टीबाट रामप्रसाद साह, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रमोद पौडेल, आमजनता पार्टीबाट रोशनकुमार साह, सार्वभौम नागरिक पार्टीबाट कृष्णकुमार चौधरीसहितका उम्मेदवार छन्। 

यस क्षेत्रबाट चितनारायण चौधरी, कुमारी उराँव, सुमनकुमारी चौधरी र कासनी थरुनीसहित चार जना स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा रहेको निर्वाचन अधिकृत पदमबहादुर कार्कीले जनाकारी दिए। यो निर्वाचन क्षेत्रमा १ लाख ३४ हजार ३०२ जना मतदाता रहेका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad