राजनीति


अब कमला नदीमा पुल सपना होइन, यथार्थ बन्दै छ: कुलमान घिसिङ

अब कमला नदीमा पुल सपना होइन, यथार्थ बन्दै छ: कुलमान घिसिङ

फाइल तस्बिर


नेपालखबर
माघ १५, २०८२ बिहिबार ८:३९, काठमाडौँ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले तराईरमधेशको लाइफलाइनका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत सिराहा–धनुषाको सीमामा पर्ने कमला नदीमा चाँडै पुल निर्माण हुने बताएका छन्। 

विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा निवर्तमान भौतिक पूर्वाधारमन्त्रीसमेत रहेका  घिसिङले हाल कमलामा अस्थायी डाइभर्सन निर्माण भएको तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै आफू मन्त्री हुँदा गत मंसिर ५ गते उक्त स्थानको स्थलगत निरीक्षणको पनि स्मरण गरेका छन्। 

‘गत मंसिर ५ गते उक्त स्थानको स्थलगत निरीक्षण गर्दा १४ वर्षसम्म पनि कमला पुल नबन्दा नागरिकले भोग्दै आएको सास्ती, जोखिमपूर्ण यात्रा र सवारीसाधनलाई लामो रुट प्रयोग गर्नुपर्ने बाध्यता देखियो। सोही अवस्थालाई मध्यनजर गर्दै नदी रहेको स्थानमा ह्युम पाइप राखी अस्थायी रूपमा आवत–जावतको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको थियो,’ मन्त्री हुँदा आफूले गरेको कामको स्मरण गर्दै उनले भनेका छन्, ‘निर्देशन मात्र होइन, कार्यान्वयन गरियो। अस्थायी डाइभर्सन सञ्चालनमा आएपछि स्थानीय बासिन्दा र यात्रुहरूलाई ठूलो राहत पुगेको थाहा पाउँदा खुशी लागेको छ।’

उनले १४ वर्षदेखि अलपत्र परेको ४६९ मिटर लम्बाइको कमला पुल पनि अहिले निर्माण सम्पन्न हुने चरणमा पुगेको बताएका छन्।

‘स्थलगत भ्रमणकै क्रममा पुल निर्माण तथा पुनःस्थापनाको काम तत्काल अघि बढाउन, नियमित अनुगमन गर्ने र काम सन्तोषजनक नभए ठेक्का तोड्ने स्पष्ट चेतावनी दिइएको थियो,’ उनले भनेका छन्, ‘रुग्ण ठेक्का तोड्ने चेतावनी, कडा अनुगमन र सक्रिय हस्तक्षेपकै कारण आज कमला पुल सपना होइन, यथार्थ बन्दैछ। यही हो नयाँ राजनीतिक संस्कार काम, परिणाम र जवाफदेहिता। हामी भाषणमा होइन, काममा विश्वास गर्छौं। हामी बहानामा होइन, परिणाममा विश्वास गर्छौं।’

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा गरेका कामले जनताको मन जितेका घिसिङ हाल उज्यालो नेपाल पार्टीका उम्मेदवारसमेत हुन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा घिसिङले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन्।

घिसिङ अन्तरिम सरकारको मन्त्री पदबाट राजीनामा दिएर राजनीतिमा उत्रेका हुन्।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा उनेपा मर्ज गराएका कुलमानले पुनः उनेपा कायम गरी अध्यक्ष पद सम्हालेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad