आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि तेह्रथुमबाट १२ जना प्रतिस्पर्धामा छन्। एमालेको गढ मानिने तेह्रथुम जिल्लाको चुनावी प्रतिस्पर्धा यो पटक रोचक देखिएको छ।
दलहरू आफ्नो चुनावी रणनीति बनाउँदै गर्दा धेरै उम्मेदवारहरू घरदैलोमा पुग्न थालिसकेका छन्। फागुन ४ गतेदेखि चुनावी प्रचार प्रसारको लागि निर्वाचन आयोगले समय निर्धारण गरेको भए पनि पहाडी जिल्लाहरूमा चुनावी गतिविधि सुरु भइसकेका छन्।
यसरी चुनावी गतिविधि गर्न गाउँ गाउँ जाने उम्मेदवारहरू कोही नयाँ अनुहार, कोही पुरानै र कोही आगन्तुक उम्मेदवार भनेर समेत चित्रित गर्न थालिएको छ।
तेह्रथुममा राजनीतिक सरगर्मी बढेको छ। नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिस्ट पार्टी र श्रम संस्कृति पार्टी अहिले चुनावी चर्चामा छन्।
२०७४ सालमा मोरङ क्षेत्र नम्बर ३ मा उम्मेदवार बन्न तेह्रथुमबाट मोरङ झरेका एमाले नेता भानुभक्त ढकाल आगामी निर्वाचनका लागि फेरि तेह्रथुम उक्लिएका छन्।
२०७४ सालमा एमालेको गढ मानिएको मोरङबाट राम्रो मतका साथ निर्वाचित भएका ढकाललाई २०७९ सालको निर्वाचनमा मतदाताले नपत्याउँदा नेपाली कांग्रेसका नेता सुनिल शर्मासँग २२ हजार ७ सय ३६ मत अन्तर पराजित भएका थिए। अगामी फागुन २१ म हुने निर्वाचनमा उनले मोरङ छाडेका छन्। उनी अहिले तेह्रथुम जिल्लामा चुनावी गतिविधिमा सक्रिय रहेको स्थानीय नेताहरू बताउँछन् ।
निर्वाचन गतिविधिमा संलग्न रहेका ढकाललाई स्थानीय मतदाताहरूले जिल्लामा नबसेको व्यक्तिका रूपमा चित्रण गर्छन्। तर ढकाल भने आफू चुनाव जित्नेमा विश्वस्त देखिन्छन्। उनी पार्टीको केन्द्रीय सचिव भएकै कारण सबै कार्यकर्ता परिचालित गर्न सहज भएको छ। स्थानीय मतदाताका अनुसार, राष्ट्रिय राजनीतिलाई राम्रोसँग बुझेका र पटक पटक मन्त्री भइसकेका उनलाई हेवी वेटको रूपमा हेर्दै आएका छन्।
उनका प्रतिस्पर्धीका रूपमा नेपाली कांग्रेसका सन्तोष सुब्बा छन्। उनी २०७९ सालमा प्रदेश सभा तेह्रथुम क्षेत्र १ (१) बाट पराजित भएका व्यक्ति हुन्। उनी नेकपा एमालेका किशोरचन्द्र दुलालसँग पराजित भएका थिए। सुब्बाले प्रतिनिधि सभाको टिकट ल्याएका कारण उनलाई युवा उम्मेदवारको रूपमा मतदाताले बुझेका छन्।
यो क्षेत्रमा भेटिएका एक मतदाताभन्छन्, ‘सन्तोष युवा हो, सदरमुकाममा जहिल्यै भेटिन्छ। खोजेको बेला भेट्न सकिने खालको नेता हामीले छान्ने हो।’
उनी नेपाली कांग्रेसको जिल्ला सचिव भइसकेका व्यक्ति हुन्। प्रदेश सभामा उम्मेदवार भएको बेला सन्तोषमाथि सहकारीको विवादमा परेको आरोप लाग्दै आएको थियो। यसअघि तेह्रथुमबाट कांग्रेसले नै प्रतिनिधिसभामा चुनाव जितेकोले उनीहरू आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आएका छन्।
नेपाली कम्युनिस्ट पार्टीले रणध्वज लिम्बुलाई उम्मेदवार बनाएको छ। उनलाई पनि जिल्लामा नबसेको नेताको रूपमा चित्रण गरिन्छ। तेह्रथुमकै भए पनि अहिले मकवानपुरतिर नै बसेको भनेर चर्चा हुने गरेको अन्य दलका नेताहरू नै बताउँछन्। पहिला आठराई गाउँपालिकामा घर भए पनि उनी भूमिगत कालदेखि (नेकपा मालेको स्थापना पश्चात्) मकवानपुर तिरै बस्दै आएका थिए।
त्यस्तै प्रतिस्पर्धीको रूपमा सुरेन्द्र कार्की छन्। पारिवारिक पृष्ठभूमि एमाले भएका कार्कीका लागि यो नयाँ अनुभव हो। उनका बुबा वीरेन्द्र कार्की एमालेबाट म्याङ्लुङ नगर कमिटीको अध्यक्षमा पराजित भएका हुन् भने आमा लक्ष्मी कार्की एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा अनेमसंघ तेह्रथुम जिल्ला कमिटी अध्यक्ष थिइन्। उनीहरूले छोरा सुरेन्द्र रास्वपाका उम्मेदवार बनेपछि पार्टीबाट तत्कालै राजीनामा दिएका छन्।
२०७९ को निर्वाचनमा तेह्रथुममा उम्मेदवार नहुँदा समेत मत प्राप्त गरेकोले यहाँ रास्वपाको राम्रै उपस्थित हुने आकलन गरिएको छ। राजनीतिक पृष्ठभूमि र उनी इन्जिनियर भएको कारणले समेत उनलाई शालीन व्यक्तित्वको रूपमा हेरिन्छ। युवा र शालीन स्वभाव उनको आकर्षण हुने अनुमान गरिएको छ। उनी जेन्जी उमेर समूहका हुन्।
तेह्रथुमबाट नै श्रम संस्कृति पार्टीका उम्मेदवार सुबेन्द्र थेगुवा (लिम्बु) छन्। उनी पहिचानको पक्षमा सङ्गठित र वकालत गर्ने व्यक्ति भएको कारण पहिचानका पक्षधरहरूले उनलाई भोट हाल्ने अनुमान गरिन्छ।
त्यस्तै सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट शङ्कर मान लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टी होमभक्त लिम्बु (कुरुम्वाङ), मङ्गोल नेशनल अर्गनाइजेसन गङ्गा बहादुर चोङवाङ लिम्बु, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) टंक प्रसाद भट्टराई, नेपाल जनमुक्ति पार्टीका सागर नाथ रेग्मी, राष्ट्रिय परिवर्तन पार्टी उषा लक्ष्मी तुम्वाहाङफे, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मन कुमार लिम्बु उम्मेदवार बनेका छन्।
२०७९ सालको निर्वाचनमा काङ्ग्रेसबाट सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा विजयी भएकी थिइन्। एमालेका विजय सुब्बालाई १ हजार ७९ मतान्तरले पछि पार्दै उनी संसद पसेकी थिइन्। गुरुङले १९ हजार ७ सय २ मत ल्याउँदा सुब्बाले १८ हजार ६ सय २३ मत प्राप्त गरेका थिए।
Shares

प्रतिक्रिया