राजनीति


रामेछापमा कांग्रेसको मत बिग्रिए एमालेलाई सहज, रोक्ने प्रयासमा नेकपा, रास्वपा र उज्यालो पार्टी

रामेछापमा कांग्रेसको मत बिग्रिए एमालेलाई सहज, रोक्ने प्रयासमा नेकपा, रास्वपा र उज्यालो पार्टी

सागर न्यौपाने
माघ १३, २०८२ मंगलबार २२:१८, काठमाडौँ

३४ वर्षयताको चुनावी नतिजा हेर्दा रामेछापमा कम्युनिस्ट पार्टीकै ज्यादा प्रभाव देखिन्छ। यद्यपि, कुनै एक दलको गढ भने होइन यो जिल्ला।

२०४८ देखि २०७९ सम्म कांग्रेस, एमाले र माओवादी केन्द्रले यहाँ जित हात पारेका छन्। प्रजातन्त्रको पुनःस्थापनापछि यो जिल्लामा दुई निर्वाचन क्षेत्र थिए। क्षेत्र नम्बर १ मा कांग्रेसका लक्ष्मणप्रसाद घिमिरेले जित निकाल्दा क्षेत्र नम्बर २ मा भने संयुक्त जनमोर्चाका कमलप्रसाद चौलागाइँ विजयी भएका थिए।

२०५१ मा भएको मध्यावधि चुनावमा क्षेत्र नम्बर १ मा एमालेका देवशंकर पौडेल निर्वाचित भए। यस्तै, २ मा कांग्रेसका पद्मशंकर अधिकारीले जिते। 

२०५६ मा क्षेत्र नम्बर १ बाट एमालेका कमलप्रकाश सुनुवार जित्दा २ मा कांग्रेसका रामहरि ढुङ्गेल विजयी भए। 

तर, २०६४ को पहिलो संविधान सभा चुनावमा रामेछापको दुवै क्षेत्र नेकपा माओवादीले जित्यो। क्षेत्र नम्बर १ बाट तारानारायण श्रेष्ठ निर्वाचित हुँदा २ बाट डिल्लीमान तामाङले जित निकाले। 

२०७० मा फेरि संविधान सभाको दोस्रो निर्वाचन भयो। यो चुनावमा एउटा माओवादी र एउटा कांग्रेसले जिते। क्षेत्र नम्बर १ मा कांग्रेसका आङटावा शेर्पा निर्वाचित हुँदा २ मा माओवादीका श्यामकुमार श्रेष्ठ विजयी भए। 

२०७२ मा नयाँ संविधान जारी भएपछि निर्वाचन क्षेत्र समायोजन भयो। दुई क्षेत्र रहेको रामेछाप एक क्षेत्रमा खुम्चियो। ०७४ मा एमाले–माओवादी गठबन्धनबाट श्यामकुमार श्रेष्ठ दोहोरिए। ०७९ को चुनावमा कांग्रेस–माओवादीसहित पाँच दलीय गठबन्धन बन्यो। कांग्रेसका पूर्णबहादुर लामा (कान्छाराम)ले टिकट पाए र जिते। 

कांग्रेस र नेकपाबाट पुरानै अनुहार, अरू सबै नयाँ
दुई नगरपालिका र ६ गाउँपालिकाका ६४ वडामा छरिएका मतदाताको मनोविज्ञान फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कता ढल्किएला? काठमाडौँदेखि मन्थलीसम्म चासो छ। यसपटक १७ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। त्यसमा पनि केही नयाँ छन्। 

जसमा एमालेका माधवप्रसाद ढुङ्गेल, कांग्रेसका रामचन्द्र खड्का र नेकपाका श्यामकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन्। यस्तै, कुलमान घिसिङको उज्यालो नेपाल पार्टीबाट दीपबहादुर योञ्जन चुनावी रेसमा छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका डा कृष्णहरि बुढाथोकी, राप्रपाका गोरे तामाङ, नेमकिपाकी केशरी श्रेष्ठ चुनावी मैदानमा छन्। यस्तै, अरुण कार्की, सन्तोष घिमिरे र बाबुकाजी खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

अघिल्लो चुनावको समीक्षा 
०७९ सालको समानुपातिक मत हेर्दा पनि तीन दलबीच प्रतिस्पर्धा भएको देखिन्छ। २८ हजार १ सय ५० मत ल्याएर रामेछापमा समानुपातिकतर्फ एमालेले सबै दललाई उछिन्यो। 

कांग्रेसले २४ हजार १ सय ०१ मत पाएको थियो। जबकि, प्रत्यक्षतर्फ कांग्रेसकै पूर्णबहादुर तामाङ ४७ हजार ०९९ मत ल्याएर विजयी भएका थिए।

त्यसबेला माओवादी केन्द्रले समानुपातिकमा २१ हजार ०५४ मत पायो। माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि समानुपातिकमा १ हजार ३ सय ४८ मत पाएको छ। अहिले यी दुवै दलबीच एकता भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ४ हजार ६ सय २३ मत पाएको थियो। 

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा १ लाख ८० हजार १०६ मतदाता थिए। तर, पछिल्लो तीन वर्षको अवधिमा ७ हजार ८४६ नयाँ मतदाता थपिएका छन्। तिनीहरू अधिकांश २० देखि २५ वर्षका छन्। उनीहरूको मत निर्णायक बन्न सक्छ।

कांग्रेसलाई आफ्नै मत जोगाउन तनाव
टिकट वितरणप्रति कांग्रेसका केही नेता असन्तुष्ट छन्। पार्टी केन्द्रले पूर्व जिल्ला सभापति रामचन्द्र खड्कालाई उम्मेदवार बनायो।

त्यागी नेताका रूपमा रामेछापमा चिनिएका खड्का २०७० को दोस्रो संविधान सभामा उठेर पराजित भएका हुन्।

तर, उनलाई कांग्रेसको एक समूहले असहयोग गर्ने सम्भावना रहेको कांग्रेस नेताहरू बताउँछन्। खड्का महँगो चुनाव र पार्टीभित्रका असन्तुष्टिले समस्या पार्नसक्ने बताउँछन्। 

‘कांग्रेसले सबै भोट हाल्यो भने हार्ने सम्भावना छैन,’ उनले भने, ‘अघिल्लो पटकको जित जोगिन्छ। कांग्रेसले बदमासी गर्दा पनि म हार्दिनँ। समग्रमा प्रतिस्पर्धी एमाले हो। कांग्रेसले भोट यताउता पार्दा एमालेसँग प्रतिस्पर्धा हुन्छ। पार्टीको पूरै मत पाए एमाले प्रतिस्पर्धामै आउँदैन। सजिलै चुनाव जितिन्छ।’

तर, निर्वाचन साह्रै महँगो भएको, काठमाडौँ बसेका मतदाता ओसार्नुपर्ने चुनौती रहेको उनको भनाइ छ। यसपटक १ लाख मत खस्ने अनुमान उनीहरूको छ। त्यसमा पनि चुनाव जित्न ३० हजार मत ल्याउनुपर्छ। 

एमालेका उम्मेदवार माधव ढुङ्गेल अघिल्लो पटक पाएको समानुपातिक मतमा केही मत थपेर रामेछाप जित्ने दाबी गर्छन्। 

‘देशभर पाँचवटा सिट मात्रै जितियो भने पनि रामेछाप जित्छौँ,’ उनले नेपालखबरसँग भने, ‘यसअघि पाएको २८ हजार समानुपातिक मतमा थपेर जित्छौँ। हाम्रो जिल्लामा माहोल आएको छ। रामेछाप र सुनापती बाहेक सबै ठाउँमा हामी मज्जाले मत पाउँछौँ। कसैले पनि भोट दिन्नौँ भनेका छैनन्। जनताले घरघरमा खुसी भएर स्वागत सत्कार गरेका छन्।’

उता, नेकपाका श्यामकुमार श्रेष्ठ भने तेस्रो पटक जित निकाल्न सकिनेमा आशावादी छन्।

‘व्यक्तित्वको प्रभावका आधारमा चुनाव मज्जाले जितिन्छ,’ उनले भने, ‘मान्छेले उम्मेदवार हेर्छन्। यो पालि अन्तिममा मत हाल्ने बेला एक घण्टासम्म सोच्छन्। नयाँ थपिएका मत निर्णायक छन्। मेरो प्रभाव त्यहाँ पर्छ।’

‘अन्य पार्टीका केही नेताले मप्रति सदाशय राख्नुहुन्छ। यहाँको दुई वटै प्रदेश सभा हामीले जितेका हौँ। ०७० को अप्ठेरो अवस्थामा पनि जितेको थिएँ, यसपालि पनि गम्भीर परिस्थितिमा म जित्छु,’ श्रेष्ठले थपे।  

तीन दलका नेता मात्र होइन, यसपटक रास्वपा र उज्यालो नेपाल पार्टीका नेता पनि जित्ने दाबी गर्छन्। रामेछापको राजनीतिमा उज्यालो नेपाल पार्टीको प्रभाव पर्नसक्ने देखिन्छ। किनकि, उनेपाका अध्यक्ष कुलमान घिसिङको गृहजिल्ला बेथान हो। घिसिङले दीपबहादुर योञ्जनलाई उम्मेदवार बनाएका छन्।

अहिले मतदाताले नयाँ अनुहार चाहिरहेकोले आफ्नो माहोल राम्रो भएको योञ्जनले बताए।

‘विस्तारै माहोल बन्दै गएको छ, कुलमानजीले जन्माएको पार्टी हो, उहाँ जन्मेको ठाउँ भएकाले कसैसँग प्रतिस्पर्धा हुँदैन। सबैभन्दा बढी मतले जित्छौँ नि,’ योञ्जनले भने, ‘यसपालि कुलमान जीलाई रामेछापको अपार माया पाउनुहुनेछ। संगठन बनाउँदैछौँ।’ 

सहरी क्षेत्रमा तहल्का मच्चाउने अपेक्षा गरिएको अर्काे दल राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी अभियान थाल्दैछ। रास्वपाका रामेछाप जिल्ला सचिव दिलबहादुर थापाले माघ १५ गतेपछि घरदैलो अभियान सुरु गर्ने बताए।

‘मतको हिसाबले कांग्रेस, एमाले, नेकपाको धेरै देखिए पनि उहाँहरूको पार्टीभित्र टिकट वितरणदेखि नै विवाद छ। त्यो हाम्रा लागि प्लस प्वइन्ट हो,’ उनले भने, ‘हाम्रो उम्मेदवार डा कृष्णहरि बुढाथोकी अब्बल हुनुहुन्छ। उहाँको समाजसेवाको छविले चुनाव जित्छौँ नै भन्नेमा छौँ।’ 

यसैगरी, सहसचिव टेकबहादुर सुनुवार पनि संगठन निर्माण भएकोले चुनावका लागि सहज भएको बताउँछन्। 

‘हाम्रो क्रियाशील सदस्य ९ हजार छन्, सबै पालिकामा तदर्थ कमिटी गठन गरेका छौँ, जनताहरू पुराना दलसँग खुसी हुनुहुन्न। यसपटक रास्वपाले केही गर्छ भन्ने आशा सबैमा छ,’ उनले भने।  

होला त उलटफेर?
३४ वर्षदेखि कांग्रेस र कम्युनिस्टको आलोपालो चलेको रामेछापमा यसपटकको प्रतिस्पर्धा रोचक हुने देखिन्छ।

समानुपातिकमा पहिलो रहेको एमाले, प्रत्यक्षमा जितेको कांग्रेस र ०७४ पछि जित निकाल्ने नेकपाको योजना सफल होला कि नहोला, स्पष्ट छैन। किनकि, तीन दलले असन्तुष्ट कार्यकर्तालाई कसरी सम्हाल्छन् र नयाँ पार्टीले कति मत काट्छन्, त्यसैले रामेछापको आगामी प्रतिनिधिसभा सदस्यको भविष्य तय गर्नेछ।

तर, नेकपाका केन्द्रीय सदस्य देवशंकर पौडेल रामेछापको कम्युनिस्ट आन्दोलनको मूल नेतृत्व र मूल प्रवाह आफूहरूसँग रहेकोले परिणाम आफ्नै पक्षमा आउने बताउँछन्। 

‘रामेछापमा रास्वपाले त्यस्तो प्रभाव पार्ने छैन। मत त उसले पाउँछ तर आफैँ जित्ने देखिँदैन,’ उनले भने, ‘चारपाँच गाउँ घुमेको आधारमा मज्जाले जित्ने देखिन्छ। अब हामी सबैतिर पुगेपछि अझै माहोल बन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad