नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सर्लाहीमा भव्य स्वागतको तयारी भएको छ।
बारेसमार्फत् सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेपछि थापा आज आफ्नो निर्वाचन क्षेत्रमा पुग्न लागेका हुन्।
काठमाडाैँबाट बिमानमा बाराको सिमरा गएका थापा त्यहाँबाट गाडी चढेर सर्लाही गएका छन्।
थापा पार्टीका स्थानीय कार्यकर्ता र मतदातासँगको भेटघाटका लागि सिधै निर्वाचन क्षेत्रका लागि प्रस्थान गरेका कांग्रेसका युवा नेता रघु कार्कीले जानकारी दिए।
‘हामी केहीबेरमै अब सर्लाही पुग्ने छौँ,’ थापासँगै रहेका कार्कीले नेपालखबरसँग भने, ‘सुरुमा सभापतिज्यू सर्लाही क्षेत्र नम्बर ४ को धनकौलस्थित क्षेत्रीय कार्यालयमा पुग्ने कार्यक्रम छ। त्यसक्रममा बाटाेमा पर्ने विभिन्न स्थानमा राखिएका स्वागत कार्यक्रममा उहाँ सहभागी हुनुहुनेछ।’
थापाले आजैदेखि धनकौलबाट कार्यकर्ता र मतदातालाई भेटघाट सुरु गर्ने कार्कीले जानकारी दिए।
आफ्नो निर्वाचन क्षेत्रमा रहँदा थापाले विभिन्न स्थानीय तहमा आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम छ।
‘उहाँ अब झण्डै एक साता मधेसमा रहनु हुनेछ,’ कार्कीले भने, ‘त्यसक्रममा सर्लाहीका अन्य निर्वाचन क्षेत्र र मधेसका अरु जिल्लामा पनि उहाँ पुग्ने कार्यक्रम छ।’
आगामी २१ फागुमा हुने निर्वाचनका लागि थापाले माघ ६ गते वारेसमार्फत उम्मेदवार दर्ता गराएका थिए।
Shares

प्रतिक्रिया