नेकपा एमालेसँगको ५१ वर्ष लामो राजनीतिक यात्रा टुंग्याएका डा भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उम्मेदवार बनेपछि अछाम–१ को चुनावी माहोल तातेको छ। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा रावलको प्रतिस्पर्धीका रुपमा सात जना उम्मेदवार चुनावी मैदानमा छन्।
जसमा नेपाली कांग्रेसका भरतकुमार स्वाँर, नेकपा एमालेका दीपक साउद, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ओमप्रकाश रावल, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्र शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र शाह, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका लोकेन्द्रबहादुर शाही र स्वतन्त्र उम्मेदवार भीम बहादुर कुँवर छन्।
२०१२ साल मंसिर २१ मा सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा जन्मिएका रावल अहिले आफैँले निर्माण गरेको एमालेविरुद्ध मैदानमा खडा भएका छन्। अछामको साँफेबगर निवासी रावल विद्यार्थीकालदेखि नै वामपन्थी राजनीतिमा आबद्ध थिए।
०३२ सालदेखि एमालेको राजनीतिमा लागेका रावलले विभिन्न समयमा गरी १३ महिना जेल जीवन बिताएका छन्। २०४६ सालमा कृषिमन्त्री झलनाथ खनालको स्वकीय सचिव बनेका रावल ०४८ मा अछाम–१ मा एमालेबाट उम्मेदवार बनेर पराजित भए। २०५१ को मध्यावधिमा अछाम–१ बाट निर्वाचित भएका उनी ०५२ सालमा पर्यटन राज्यमन्त्री भने २०५५ मा पर्यटनमन्त्री बन्न पनि सफल भए।
२०५६ को चुनावमा पराजित रावल २०६४ मा समानुपातिक सांसद बनेर २०६६ मा गृहमन्त्रीसम्म भए। ०७० मा अछाम–२ बाट निर्वाचित उनी ०७२ मा उपप्रधान तथा रक्षामन्त्री भएका थिए। २०७४ मा अछाम–१ बाट निर्वाचित रावललाई ०७९ को निर्वाचनमा एमाले अध्यक्ष ओलीले टिकटबाटै वञ्चित गरे।
२०७८ मंसिरमा सम्पन्न एमालेको दसौँ महाधिवेशनमा केपी ओलीसँग अध्यक्ष पदमै प्रतिस्पर्धा गरेपछि रावल एमालेबाट किनारा लगाइए। २०८१ पुसमा पार्टीको नीति विपरीत अभिव्यक्ति दिएको भन्दै रावललाई एमालेले संगठित सदस्यसमेत नहरने गरी कारबाही ग¥यो। त्यसपछि ०८१ माघमा रावलले ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ गठन गरेका थिए। रावलको मातृभूमि जागरण अभियान २०८२ कात्तिक २६ मा नेकपामा समाहित भएको थियो।
कानुनमा स्नातक र राजनीतिशास्त्रमा पीएचडी गरेका अनि एउटा कवितासंग्रहसँगै तीन पुस्तकका लेखक रावलको राजनीतिक इतिहासका अगाडि अछाम–१ का सात जना उम्मेदवार छायामा देखिन्छन्।
कांग्रेस उम्मेदवार स्वार पार्टीको पूर्वजिल्ला सभापति हुन् भने एमालेका उम्मेदवार साउद माओवादीको केन्द्रीय सदस्यसम्म बनेका थिए। स्वारले २०७४ मा रावलसँग हार व्यहोरेका थिए भने ०७० मा तत्कालीन माओवादीको उम्मेदवार हुँदा साउदले पनि सोही नियति भोगेका थिए। रावलसँग राजनीतिक विरासत भए पनि यसपटक संगठनमा भने कांग्रेस र एमालेकै पल्ला भारी छ।
२०७९ स्थानीय निर्वाचनमा अछाम–१ का पालिकामा कांग्रेसले दबदबा छ। कांग्रेसले ४ पालिका जित्दा तत्कालीन माओवादी केन्द्र १ पालिकामा सीमित थियो भने एमाले शून्य भएको थियो। अछाम–१ का ४२ वडामध्ये कांग्रेसले १९, एमालेले १३, तत्कालीन माओवादीले ५, एकीकृत समाजवादीले २ र स्वतन्त्र ३ वडाध्यक्ष जितेका छन्।
अछाम–१ मा २०७९ को निर्वाचनमा कांग्रेसले समानुपातिकतर्फ १४ हजार ५ सय २५ मत पाउँदा एमालेले १३ हजार ९ सय ६८ मत पाएको थियो। यस्तै, तत्कालीन माओवादी केन्द्रले ७ हजार २२८ र एकीकृत समाजवादीले २ हजार ७ सय ४७ मत पाएको थियो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको मत ७८५ र राष्ट्रिय प्रजातन्त्र पार्टीको मत १६१ मात्र थियो। रावल उम्मेदवार रहेको नेकपा अर्थात् तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादी)को समानुपातिक मत जोड्दा ९ हजार ९ सय ७५ मात्र हुन आउँछ।
नेकपाका नेताहरु रावलको राष्ट्रिय व्यक्तित्व र अछाम–१ मा गरेको कामले चुनाव सजिलै जितिने बताउँछन्। उम्मेदवार रावल पनि अछाम–१ का जनताले आफूलाई निर्वाचित गराउनेमा विश्वस्त सुनिन्छन्। कांग्रेस उम्मेदवार स्वाँरले भने आफ्नो मुख्य प्रतिस्र्धी एमाले उम्मेदवार साउद भएको बताए।
‘अछाममा कांग्रेसको माहोल राम्रो छ। पार्टीका साथीहरु एक ढिक्का भएर चुनावी मैदानमा छौँ। घरदैलो र भेटघाट कार्यक्रम भइरहेको छ,’ उनी भन्छन्, ‘हामी विजयी हुने निश्चित जस्तै छ। नेकपाका उम्मेदवार भीम रावल र एमालेका उम्मेदवार दीपक साउदको मत तान्ने खिचातानी छ। जनताहरुले त्यस्तो अवस्थामा कांग्रेसलाई मत दिन्छु भन्नु भएको छ।’
अछाम–१ मा २६ वर्षपछि कांग्रेसले जित हात पार्ने स्वाँरको दाबी छ। यस्तै एमाले उम्मेदवार साउदले पनि चुनावको प्रचार–प्रसारको काम तीव्र रुपमा अगाडि बढेको बताए।
‘यहाँ हाम्रो मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस हो। कांग्रेससँग मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ। अहिले पनि हामी कांग्रेससँग प्रदेशमा सत्ता सहकार्यमै छौँ,’ उनले भने।
जनाधार, संगठनको संरचना र नयाँ अनुहार आफ्नो जितको आधार भएको साउदको दाबी छ। रावल राष्ट्रिय व्यक्तित्व भए पनि विकास निर्माणको काम हेर्दा जनता निराश रहेको भन्दै अछाम-१ ले नयाँ अनुहार निर्वाचित गराउने साउदले बताए।
‘जनताले नयाँ अनुहार खोजेका छन्। जनताको सेवकका रुपमा काम गर्ने उपयुक्त पात्र म हो,’ उनी भन्छन्।
रास्वपाका उम्मेदवार ओमप्रकाश रावलले आफ्नो पार्टीको देशभर माहोल देखिएको भन्दै अछाम–१ मा यसपटक घण्टी बज्ने बताए।
उम्मेदवारहरुले जितको आ-आफ्नै दाबी पेस गरे पनि अछाम–१ मा उम्मेदवार छनोट नै रोचक देखिन्छ।
अछाम–१ मा एमाले स्थापित गराएका भीम रावल माओवादीको सांगठनिक बलमा ‘तारा’ लिएर चुनावी मैदान उत्रिँदा माओवादीलाई स्थापित गराउने दीपक साउद ‘तरंग’ एमालेको ‘सूर्य’ लिएर मत मागिरहेका छन्। २०७० मा दोस्रो संविधान सभा निर्वाचनमा रावलले सूर्य बोकेका बेला साउदको हातमा ‘हँसिया हथौडा’ थियो। १२ वर्षपछि ‘सूर्य’ बोकेका साउद र ‘तारा’ बोकेका रावलबीचको भिडन्त कम्ता रोचक छैन।
नेकपाको सांगठनिक मत जोगाउने र एमालेको मत तान्ने रणनीतिमा रहेका रावललाई एमालेले प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार साउदलाई टिकट थमाएर चक्मा दिएको छ। तत्कालीन माओवादीको ठूलो मत पूर्वमाओवादी साउदले पाउने एमालेको दाबी छ।
२०७९ मा अछाम–१ मा एमालेको उम्मेदवार बनेका झपट बोहरालाई यसपटक पनि पार्टीले टिकट दिएको थियो। तर, अछाम–१ मा जित निकाल्न आफू पछि हटेर साउदलाई उम्मेदवार बनाउने ठाउँमा पुगेको बोहराले नेपालखबरलाई बताए।
उनले भने, ‘पार्टीलाई जित दिलाउन म ब्याक भएको हुँ। दीपक साउदलाई उम्मेदवार बनाउने निर्णय हाम्रो स्ट्राटेजिक मुभ हो। त्यसले हाम्रो जित सुनिश्चित गरेको छ।’
एमालेको यो चालपछि रावल काठमाडौँमा रहेका एमाले नेता–कार्यकर्तासँग घनिभूत संवादमा छन्। तिनलाई आफ्नो पक्षमा ल्याएर जित सुनिश्चित गर्ने उनको दाउ छ।
अछाममा चुनावी परिणामको इतिहास
२०१५ सालको आम चुनावमा प्रतिनिधिसभाको ७२ नम्बरबाट कांग्रेसका दिलबहादुर बुढथापा र ७५ नम्बरबाट तत्कालीन गोरखा परिषद्का इन्द्रसिंह रावल निर्वाचित भएका थिए। त्यतिबेला अहिलेको अछाम जिल्ला अस्तित्वमा थिएन। अछामसँग दैलेख, बाजुरा र डोटीको केही भाग मिलेर ७२ र ७५ नम्बरका प्रतिनिधिसभा निर्वाचन क्षेत्र थिए।
क्षेत्र नं. ७२ अछाम–बाजुराबाट कांग्रेसका दिलबहादुर बुढथापा (कुँवर) निर्वाचित भएका थिए भने कांग्रेसका कुँवरसँग नेपाल राष्ट्रवादी गोरखा परिषद्का जगदीशशमशेर जबरा मुख्यप्रतिस्पर्धी थिए। सोही भाग पछि गएर अछाम जिल्ला बनेको थियो। २०१८ साल वैशाख १ गते नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा अछाम पनि छुट्टै जिल्लाका रूपमा अस्तित्वमा आएको थियो। त्यसपछि राष्ट्रिय पञ्चायतबाट २०१९, २०२४ मा नृपबहादुर स्वाँरले अछामको प्रतिनिधित्व गरेका थिए भने २०३० मा टेकबहादुर रावल, २०३३ मा कृष्णबहादुर रावल र देवेन्द्र बहादुर शाह, २०३८ मा नैनबहादुर स्वाँर राष्ट्रिय पञ्चायतबाट निर्वाचित भएका थिए।
यस्तै जनकबहादुर शाह माननीयमा मनोनीत भएका थिए। २०४३ मा अछाममा भएको राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा जनकबहादुर शाह र विजयबहादुर स्वाँर विजयी भएका थिए। ०४६ मा बहुदल आएपछि २०४८ को आम निर्वाचनमा अछामका तीन वटा निर्वाचन क्षेत्रबाट कांग्रेसका बलबहादुर कँवर, गोविन्दबहादुर शाह र रामबहादुर विष्टले बाजी मारे। ०५१ सालको मध्यावधि निर्वाचनमा अछामका तीन वटा निर्वाचन क्षेत्रलाई २ मा झारियो।
२०५१ सालको मध्यावधिमा निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका भीमबहादुर रावल र २ मा भीमबहादुर कडायत निर्वाचित भएका थिए। ०५६ को चुनावमा कांग्रेसले अछाममा कमब्याक ग¥यो। अछाम–१ मा गोविन्दबहादुर शाह र २ मा रामबहादुर विष्टले बाजी मारे। २०६४ को पहिलो संविधान सभा निर्वाचनमा अछाम–१ मा एमालेका शेरबहादुर कुँवर र अछाम २ मा माओवादीका शरदसिंह भण्डारीले निर्वाचित भएका थिए।
२०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा अछाम–१ मा एमालेका भीम रावल र अछाम –२ भरत साउद निर्वाचित भए। यस्तै ०७४ मा तत्कालीन एमाले–माओवादीको गठबन्धनबाट अछाम–१ मा भीम रावल जित्दा अछाम–२ मा एमालेकै यज्ञबहादुर बोगटीको भाग्य खुल्यो। २०७९ को निर्वाचनमा तत्कालीन (कांग्रेस, माओवादी, एकीकृत समाजवादी) गठबन्धनबाट अछाम–१ मा एकीकृत समाजवादीका शेरबहादुर कुँवर निर्वाचित हुँदा अछाम–२ मा २३ वर्षपछि कांग्रेसले जितको स्वाद चाखेको थिए।
कांग्रेसका जिल्ला सभापति पुष्पबहादुर शाहले एमाले उम्मेदवार यज्ञबहादुर बोगटीलाई पराजित गरेका थिए। यसपटक सबै दल एक्ला–एक्लै चुनावी मैदानमा छन् भने एमालेका भेट्रान नेता भीम रावल नेकपाको ‘तारा’ बोकेर मतदाताको दैलोमा छन्। राष्ट्रिय तहमै स्थापित नेता रावलको अछाममा जबरजस्त छाप छ। फागुन २१ को निर्वाचनबाट अछाम–१ मा उम्मेदवार स्वाँरले २६ वर्षे भोक मेटाउने कांग्रेस नेताहरुको दाबी छ। अछाम–२ मा भने कांग्रेसका स्थापित नेता बलबहादुर कुँवर पार्टी छोडेर नेकपाबाट उम्मेदवार छन्।
Shares

प्रतिक्रिया