नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा परिवर्तन ल्याइएको उल्लेख गर्दै अब देशको पालो आएको बताएका छन्।
विशेष महाधिवेशनबाट कांग्रेसको सभापति बनेको दशौँ दिन शुक्रबार (माघ ९ गते) पार्टीको केन्द्रीय कार्यालय (ललितपुर, सानेपा) मा पदभार ग्रहणपछि थापाले अब देशको समुन्नतिका लागि अघि बढ्ने संकल्प गरेका हुन्।
पदबहालीपछि शुक्रबार साँझ तस्बिरसहित फेसबुकमा लेखेका छन्, ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश! यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दै छौँ हामी। हाम्रो केवल एक ध्येय छ- देशको समुन्नति।’
गत पुस ३० गते गगन थापाको नेतृत्वमा निर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य शुक्रबार पहिलोपटक आफ्नो पार्टी कार्यालय 'बीपी स्मृति भवन'मा प्रवेश गर्दै पद बहाली गरेका हुन्।
वैधानिकता विवादका कारण यसअघि पार्टी कार्यालय निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नै ओगटिरहेको थियो।
थापा सभापति भइसकेपछि तथा माघ २ गते निर्वाचन आयोगले आधिकारिकता दिइसकेपछि पनि देउवा पक्षले माघ ३ गतेसम्म केन्द्रीय कार्यसमितिको बैठक त्यहीँ राखेको थियो।
त्यही दिन उसले नवनिर्वाचित कांग्रेसलाई निर्वाचन आयोगले दिएको वैधानिकताविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने निर्णय गरेको थियो।
तर देउवा पक्षले माघ ४ गते दायर गरेको रिट निवेदनमा सर्वोच्चले माघ ६ गते अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
विवादकै कारण सभापति गगन थापा पक्षले केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालयमा नराखी बाहिर राख्नुपरेको थियो।
विशेष महाधिवेशनबाट चुनिएको भोलिपल्ट थापा पक्षले पहिलो बैठक माघ १ गते कुपण्डोलको म्यासेम र दोस्रो बैठक माघ ३ गते नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा राखेको थियो।
शुक्रबार भने गगन नेतृत्वको कांग्रेसले आफ्नै पार्टी कार्यालयमा बैठक राखेको हो।
बैठकले सभापति थापालाई आउने फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनपछि (विजयी भएमा) प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ।
यसपटक गगन थापाले निर्वाचन क्षेत्र परिवर्तन गर्दै मधेसको सर्लाही क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने भएका छन्। यसअघि उनी काठमाडौँ-४ बाट चुनाव लडिरहेका थिए।
Shares

प्रतिक्रिया