राजनीति


राष्ट्रिय सुरक्षालाई साझा जिम्मेवारीका रूपमा बुझौँ: गृहमन्त्री अर्याल

राष्ट्रिय सुरक्षालाई साझा जिम्मेवारीका रूपमा बुझौँ: गृहमन्त्री अर्याल

फाइल तस्बिर


नेपालखबर
माघ १०, २०८२ शनिबार ६:३, काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालले सीमा सुरक्षालाई संस्थागत र दिगो बनाउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल नेपाललाई सीमा क्षेत्रमा केन्द्रित विशिष्ट सुरक्षा फौजका रूपमा विकास गरिने बताएका छन्।

सशस्त्र प्रहरी मुख्यालय हलचोकमा शुक्रबार आयोजित २५औँ सशस्त्र प्रहरी दिवस तथा रजत महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।

सीमा सुरक्षालाई प्रभावकारी बनाउन अन्तरराष्ट्रिय अभ्यास र मापदण्डअनुरुप नयाँ बिओपीको विस्तार, आधुनिकीकरण तथा सम्पूर्ण सङ्गठनलाई प्रविधिमा आधारित लचिलो र द्रूत परिचालन योग्य बनाउने सरकारको ध्यान केन्द्रित भएको पनि उनले बताए।  

राष्ट्र निर्माण कुनै एक निकायको एकल प्रयासबाट सम्भव नहुने उल्लेख गर्दै गृहमन्त्री अर्यालले राष्ट्रिय सुरक्षासँग सम्बन्धित सम्पूर्ण दायित्वलाई साझा जिम्मेवारीका रूपमा बुझ्न आग्रह गरे। 

‘नजिकिँदै गएको प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षालाई पनि साझा उत्तरदायित्वका रूपमा बोध गरी समन्वयात्मकरूपमा गरिएको छ’, उनले भने।

बदलिँदो विश्व परिवेश र जटिल बन्दै गएका सुरक्षा चुनौतीका सन्दर्भमा थप चनाखो बन्नु अपरिहार्य रहेको जनाउँदै गृहमन्त्री अर्यालले राष्ट्रिय सुरक्षाका सम्बन्धमा गृह मन्त्रालयका नीति, निर्देशन र मार्गदर्शनअनुरुप परिचालित हुन निर्देशित दिए। 

मानवअधिकारको सम्मान, लैङ्गिक समानता र जनमैत्री कार्यशैली आजको सुरक्षा प्रणालीको आधारभूत मान्यता भएको उल्लेख गर्दै गृहमन्त्री अर्यालले अनुचित दबाब र प्रभावबाट सुरक्षा निकायलाई मुक्त राखी व्यावसायिक स्वतन्त्रता र क्षमता अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताए। 

उनले भने, ‘सुशासन कायम गर्न कानुनको कार्यान्वयनका क्रममा उत्पन्न हुन सक्ने जोखिमप्रति भयवित नबनी निष्पक्ष रूपमा कर्तव्य पालना गर्न आग्रह गर्दछु । असल नियतले गरिएको कार्यको जिम्मेवारी राज्यले वहन गर्नेछ।’

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमानाको सुरक्षा, अवैध चोरी निकासी नियन्त्रण, मानव बेचबिखन, लागुऔषधको ओसारपसार तथा सीमापार अपराध नियन्त्रणलाई प्राथमिकतामा राखी कार्यसम्पादन गर्दै आइरहेको बताए। 

अभाव र सीमितताबीच सशस्त्र प्रहरीले प्राप्त जिम्मेवारी कुशलतापूर्वक पूरा गर्दै आएको जनाउँदै उनले आसन्न निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन अन्य सुरक्षा निकयासँग समन्वयात्मक ढङ्गबाट परिचलित हुनेमा विश्वस्त हुन आग्रह गरे।

समारोहमा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलले प्रशासनिक कार्य तथा सीमा सुरक्षाका सम्बन्धमा उत्कृष्टकार्य गरेबापत रुपन्देहीस्थित सशस्त्र प्रहरी बल नेपाल नं ५ बिन्दबासिनी बाहिनी मुख्यालयलाई ‘२०८२ सालको उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गरे।

त्यस अवसरमा राष्ट्रपति पौडेलले ‘सशस्त्र प्रहरी बल नेपालको इतिहास’ पुस्तक लोकार्पणसमेत गरे। त्यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवले ‘सशस्त्र प्रहरीको रजत जयन्ती विशेषाङ्क’ लोकार्पण गरेका थिए। 

सो अवसरमा प्रधामन्त्री सुशीला कार्कीले अवकाश प्राप्त सशस्त्र प्रहरी नायब महानिरीक्षक महेन्द्रकुमार भट्टचनलाई ‘एपिएफ लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिन्।

समारोहमा सशस्त्र प्रहरी बलका तर्फबाट विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। 

समारोह अघि राष्ट्रपति पौडेलले अमर सशस्त्र प्रहरीको स्मृतिमा निर्मित स्मृति बाटिकामा पुष्पमाला अर्पण तथा रजत जयन्ती स्तम्भ तथा उद्यानको उद्घाटन गरेका थिए। 

त्यसअवसरमा राष्ट्रपति पौडेललाई सशस्त्र प्रहरीको टुकडीले सम्मान गारद अर्पण गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad