नेकपा एमालेले पार्टीको गुमेको साख फर्काउन र आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउन भन्दै मिसन जागरण अभियान सञ्चालन गर्ने भएको छ।
यसका लागि एमालेले जिम्मेवारी तोक्दै पार्टीका सबै केन्द्रीय सदस्यलाई कार्ययोजना पठाएको छ।
केन्द्रीय सदस्यहरूलाई पठाइएको मिसन जागरणको अवधारणामा गत निर्वाचनको समीक्षा, पार्टीले हार बेहोर्नुका कारण, कार्यकर्ता र जनता पार्टीप्रति निराश हुनुको कारण आदि विस्तृत रूपमा केलाइएको एमालेले जनाएको छ।
मुख्यगरी २०७४ को निर्वाचनमा वाम गठबन्धनका कारण उत्साहित जनता माओवादीसँगको पार्टी एकता टिकाउन नसक्दा र पछि एमाले फुट्दा निराश भएर पलायन भएको कुरा त्यस दस्तावेजमा उल्लेख गरिएको छ।
‘२०७४ को आम निर्वाचन र नेकपाको गठनबाट उत्साहित बनेको जनमत नेकपाको विघटन र एमालेको विभाजनबाट समेत निराश हुँदै क्रमश वैकल्पिक शक्तितर्फ आकर्षित भएको हो’ पार्टीले तयार गरेको मिसन जागरण अभियानको अवधारणामा भनिएको छ, ‘आकस्मिक र अस्वाभाविक रूपमा आम निर्वाचनबाट नेपालको राजनीतिमा मुख्य शक्तिका रूपमा स्थापित रास्वपा नेपालको अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो।’
आफ्नो नेतृत्वको सरकारले गरेका राम्रा काम जनस्तरसम्म प्रचार गर्न नसक्दा त्यसको असर आम जनतासम्म पुगेको ठहर एमालेले गरेको छ। सोही कारण भदौ २३ र २४ गतेका घटना भएको दाबी एमालेले गरेको छ।
पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार मिसन जागरण अभियानको जिम्मेवारी लिने नेताहरूले वर्तमान राजनीतिको पृष्ठभूमि, निर्वाचनमा पराजयका कारण र पार्टीको भावी नीतिबारे स्पष्ट पारिएको छ।
पार्टीका नेताहरू राजनीतिक उतार चढाव, निर्वाचनपछिको पार्टीको राजनीतिको मूल्यांकन र भावी कार्यदिशाबारे स्पष्ट भएर उनीहरूले मातहतमा सही सन्देश प्रवाह गर्न सकून् भन्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको उनले बताएका छन्।
‘पार्टी केन्द्रले पठाएको दस्तावेज सबै कमरेडहरूले विस्तृत अध्ययन गर्नुहुनेछ। पार्टी कमजोर हुनाका कारण, देशी-विदेशीको चलखेल, निर्वाचनमा एमालेविरुद्ध अल्गोरिदमको प्रयोगजस्ता विषयहरू विस्तृत रूपमा व्याख्या गरिएको छ’, आचार्यले भने, ‘एमालेले अब गर्नुपर्ने डिजिटल वार, त्यसको प्रयोग र जनतासँगको सम्बन्ध सुधार तथा कमिटी प्रणाली सञ्चालनका विधिसमेत उल्लेख गरेर मिसन जागरणको डकुमेन्ट पठाएका छौँ।’
जनतासँगको सम्बन्ध सुधारका लागि एमालेले ‘६ ज’को नीति अघि सारेको छ।
‘जनतामा जाऔँ, जनताका कुरा सुनौँ, जनप्रिय बनौँ, जनसंगठन परिचालन गरौँ, जबजलाई आत्मसात् गरौँ र जनमत सर्वेक्षणका आधारमा समेत प्रत्येक तहमा प्रतिस्पर्धामा सफलता हासिल गर्न सक्ने योग्य र सक्षम नेतृत्व तयार गरौँ’ भनेर एमालेको दस्तावेजमा उल्लेख गरिएको छ।
एमालेले डिजिटल संगठन र प्रभावकारी प्रचारलाई प्राथमिकतमा राखेको छ। पार्टीले सामाजिक सञ्जालको व्यापक प्रयोग गर्न कार्यकर्तालाई निर्देशन जारी गरेको छ। साथै ‘अल्गोरिदम’ र ‘पर्सेप्सन म्यानेजमेन्ट’मा विशेष ध्यान दिन पनि कार्यकर्तालाई भनेको छ।
३१ पृष्ठको सो अवधारणा पत्रमा पार्टीका नेताहरूको जिम्मेवारी तोकिएको छ।
प्रमुख आचार्यका अनुसार सबै केन्द्रीय सदस्यहलाई पालिकाको जिम्मेवारी दिइएको छ। केन्द्रीय सदस्यले नपुगेका ठाउँमा पार्टीका अन्य नेताहरूलाई समेत जिम्मेवारी दिइएको छ। जिम्मेवारी पाएका नेताहरू स्थलगत रूपमा खटेका छन् कि छैनन् भनेर अनुगमनको पनि व्यवस्था गरिएको छ।
केन्द्रबाट खटिने नेताहरूलाई होटलमा भन्दा जनताको घरमै बस्न आग्रह गरिएको आचार्यले बताए। उनका अनुसार यो अभियान र जिम्मेवारी आगामी स्थानीय तह र प्रदेशको निर्वाचनसम्म कायम रहने छ।
Shares

प्रतिक्रिया