राजनीति


१८ वर्षपछि ‘गुलाब’ बोकेर कालीकोट फर्किए प्रकाण्ड, पूर्वसहकर्मीसँग नै मुख्य भिडन्त

१८ वर्षपछि ‘गुलाब’ बोकेर कालीकोट फर्किए प्रकाण्ड, पूर्वसहकर्मीसँग नै मुख्य भिडन्त

लोकेन्द्र भट्ट
माघ ९, २०८२ शुक्रबार १९:१५, काठमाडौँ

कालीकोटमा उम्मेदवारी दर्तापछि चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ। माओवादीको लालकिल्ला मानिने कालीकोटमा माओवादी पृष्ठभूमिका दुई जना भेट्रान नेता उम्मेदवार उठेपछि चुनावी चर्चा बढेको छ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मात्र होइन, १८ वर्षपछि कालीकोटका भेट्रान नेता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) चुनावी मैदानमा छन्। उनको मुख्य प्रतिस्पर्धा माओवादी जनयुद्धका सहकर्मी नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीसँग हुने आकलन छ। पूर्वमुख्यमन्त्री तथा निवर्तमान सांसद शाहीका साथै कांग्रेसका हर्षबहादुर बम, एमालेका नगिन्द्र शाही ‘नेसनल’ र रास्वपाका प्रकाश न्यौपाने ‘कालीकोटे’सँग पनि प्रकाण्डले मुकाबिला गर्नुपर्नेछ।

नेकपामा शाहीविरुद्ध जीवनबहादुर बुढा र कांग्रेसका बमविरुद्ध भूपेन्द्रजंग शाहीले बागी उम्मेदवारी दिएका थिए। माओवादी युद्धकालमा जनमुक्ति सेनाका कमान्डर समेत रहेका राष्ट्रिय सभाका पूर्वसांसद बुढा बागी उम्मेदवारी दिएपछि नेकपाका उम्मेदवार महेन्द्रलाई चुनौती थपिएको थियो।

यता कांग्रेसका युवा नेता भूपेन्द्रको बागी उम्मेदवारीले कांग्रेसका उम्मेदवार हर्ष बिस्मातमा थिए। नेपाल विद्यार्थी संघमा उपाध्यक्ष र तरुण दलको महासचिवको जिम्मेवारी सम्हालिसकेका भूपेन्द्र कर्णालीमा कांग्रेसको चर्चित अनुहारका रूपमा चिन्छिन्। कालीकोटमा ०७० र ०७४ को निर्वाचनमा उम्मेदवार बनेका भूपेन्द्रको व्यक्तिगत प्रभाव राम्रै छ। राजनीतिक परिवारका शाहीले बागी उम्मेदवारी फिर्ता नलिएको भए कालीकोटको चुनावी परिणाम सहजै आकलन गर्न कठिन थियो। उम्मेदवारी फिर्ताको अन्मित समयमा आज जीवन र भूपेन्द्र पछाडि हटेका छन्। यद्यपि, ०६४ पछिका सबै चुनाव जितेको तत्कालीन माओवादी तथा अहिलेको नेकपाको आन्तरिक कलह, पुरानै उम्मेदवार छनोट र मतदाताको फेरिएको मुडले चुनावी परिणाम फेरबदल हुने कतिपयको विश्लेषण छ। 

कालीकोटले महेन्द्रबहादुरलाई तीन पटक चुनाव जिताइसकेको छ। ०७४ मा प्रदेश झरेर कर्णाली प्रदेशको नेतृत्व गरिसकेका उनीसँग मतदाताका तमाम प्रश्न छन् भने ०७० र ०७९ मा संघीय सांसद बन्दा पनि कालीकोटमा आधारभूत परिवर्तन देखिएको छैन। शाहीले फेरि उम्मेदवार बन्ने चाहना देखाएपछि कालीकोट नेकपामा सुरुमै विवाद सुरु भएको थियो। 

नेकपाले कालीकोटबाट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम एकल सिफारिस पनि गरेको थियो। प्रचण्डले रुकुमपूर्व रोज्दा कालीकोटमा प्रचण्डको रोजाइमा महेन्द्र नै परे। आधा दर्जनभन्दा बढी आकांक्षीलाई पाखा लगाएर महेन्द्रलाई टिकट थमाए। यता कांग्रेसका भूपेन्द्रले पार्टी नेतृत्वविरुद्ध विशेष महाधिवेशनमार्फत विद्रोह गरेका थापाको टिकट वितरणको निर्णयविरुद्ध कालीकोटमा विद्रोह गरेका थिए। पार्टीभित्र नियमित महाधिवेशनको पक्षमा प्रखर ढंगले उभिएका भूपेन्द्रले चुनावी अभियान थालेको कालीकोटमा सभापति थापाले हर्ष रोजे। शेखर कोइराला समूहका नेता भूपेन्द्रको यसपटक सहानुभूतिको मत तान्ने योजनामा ब्रेक लगाइदिए। ०७० र ०७४ को प्रतिनिधिसभा चुनावमा माओवादीका महेन्द्रसँग पराजित भूपेन्द्रले २०७४ मा पनि माओवादीका दुर्गाबहादुर रावतसँग त्यही नियति भोगे।

२०७९ मा भूपेन्द्रलाई कांग्रेस–माओवादी गठबन्धन हुँदा माओवादीकै महेन्द्रलाई मत माग्नुपर्ने जिम्मेवारी आइलाग्यो। अहिले टिकट पाउने भूपेन्द्रको आशा विशेष महाधिवेशनको आँधीले उडाइदियो। पार्टीका नेताहरूको आग्रहमा शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । नेकपाका जीवन र कांग्रेसका भूपेन्द्रको उम्मेदवारी फिर्ताले महेन्द्र र हर्षलाई राहत मिलेको छ।

प्रमुख दलको संगठन भर्सेस प्रकाण्डको विरासत
बागीले उम्मेदवारी फिर्ता नलिए पनि नेकपा र कांग्रेसभित्रको आन्तरिक कलहले माओवादीका नेता प्रकाण्डलाई लाभ हुने देखिएको छ। २०७९ को निर्वाचनमा उम्मेदवार समेत नपाएको रास्वपाले यसपटक इन्जिनियर प्रकाश न्यौपानेलाई उम्मेदवार बनाएको छ। चर्चित टिकटकर न्यौपानेले कालीकोटमा युवापंक्तिको मत तान्न सक्ने आकलन छ।

१८ वर्षपछि संसदीय राजनीतिको चुनावी मैदानमा उत्रिएका प्रकाण्ड कालीकोटका स्थापित नाम हो। २०६४ को निर्वाचनपछि फेरि बन्दुक बोकेका प्रकाण्ड १८ वर्षपछि ‘गुलाब’ बोकेर कालीकोटको चुनावी ब्याटलमा फर्किएका छन्। नेत्रविक्रम चिन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)का दोस्रो नेता प्रकाण्डको गृहजिल्लामा राम्रो पकड छ।  नेकपा (माओवादी)मा कालीकोटबाट पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्यजस्ता पदमा नेताहरूको ठूलो प्रतिनिधित्व छ।

नेकपाले भूमिगत राजनीति गर्दा विप्लवको अखडा र प्रभावित जिल्लाको रूपमा सुरक्षा निकायको पहिलो सूचीमा कालीकोट थियो। पूर्व सभासद् धिरिन्द्रा उपाध्याय, पूर्वराज्यमन्त्री नवीन विक, खम्ब बुढा, लोकजंग शाही, कर्ण भण्डारी, कालीबहादुर शाही, रणदीप ऐडी, विशाखर जैसी, शितल विष्ट, अनिपाल विक, दिनेश विक, पदम विक र कञ्चन शाहीलाई प्रकाण्डका शक्तिको स्रोतका रूपमा हेरिन्छ।

२०२५ जेठ ४ मा कालीकोटमा जन्मिएका प्रकाण्ड जनयुद्ध  र माओवादी आन्दोलनको कर्णालीका संस्थापक नेता मानिन्छन्।  माओवादीले जनयुद्धको सुरु गरेपछि २०५२ देखि २०६३ सम्म ११ वर्ष प्रकाण्डले भूमिगत जीवन बिताए। माओवादीको जनयुद्धमा प्रकाण्डका भाइहरू अमरबहादुर विक (योद्धा) र सिंहबहादुर विक (कोपिला)ले ज्यान गुमाएका थिए।

२०६३ मा अन्तरिम व्यवस्थापिका सदस्य भएका उनी महिला बालबालिका तथा समाज कल्याण मन्त्री भएका थिए। २०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा कालीकोटबाट निर्वाचित भएका उनी २०६७ मा पर्यटन तथा नागरिक उड्डयन मन्त्री भए। प्रचण्ड नेतृत्वको माओवादीले क्रान्तिमा धोका दिएको भन्दै अधुरा सपना पूरा गर्ने लक्ष्य लिएर विप्लवसँगै प्रकाण्ड २०६९ सालमा नयाँ पार्टी बनाएर अलग भएका थिए।

विप्लव नेतृत्वको पार्टीले सशस्त्र युद्धको नीति लिएपछि २०७५ देखि २०७८ सम्म प्रकाण्ड २ वर्ष पुन: भूमिगत भए। २०७७ फागुन २१ मा तत्कालीन केपी शर्मा ओली सरकारसँग तीन बुँदे सहमतिपछि प्रकाण्ड सम्मिलित तत्कालीन नेकपा (हाल नेकपा माओवादी) खुला राजनीतिमा आएको थियो। त्यसपछि उनी पहिलो पटक चुनावी मैदानमा आएकाले कालीकोटमा यसपटक व्यक्तिगत, जातीय र भेगीय हिसाबले निर्वाचनको परिणाम प्रभावित हुने देखिन्छ।

प्रकाण्ड स्वयं दलित समुदायको भएकाले दलित समुदायको साथ र माओवादी पृष्ठभूमिले नेकपाका असन्तुष्ट कार्यकर्ताको मत उनीप्रति आकर्षित हुन सक्छ। नेकपामा नगएर प्रगतिशील लोकतान्त्रिक पार्टी बनाएका जनार्दन शर्मा फ्याक्टरले पनि कालीकोटको चुनावी परिणाम प्रभावित पार्न सक्ने आकलन गरिएको छ। यता एमालेका महासचिव शंकर पोखरेल र माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच दाङ–२ र कालीकोटमा एकअर्काका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ।

सहमति अनुसार दाङ–२ मा माओवादीले एमालेका उम्मेदवार महासचिव पोखरेललाई समर्थन गरेको छ। माओवादीले दाङ–२ मा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको छैन। कालीकोटमा एमालेले फिर्ता लिएर सहयोग गर्छ या भित्री तालमेल मात्र, देखिन बाँकी छ। 

९ वटा पालिका रहेको कालीकोटमा खाँडाचक्र, तिलागुफा र रास्कोट नगरपालिका तथा शुभकालिका, नरहरिनाथ, पाचालझरना, पलाता, महावै र सान्नी त्रिवेणी गाउँपालिका छन्। गत स्थानीय निर्वाचनमा खाँडाचक्र र सान्नी त्रिवेणीमा स्वतन्त्र उम्मेदवार निर्वाचित हुँदा रास्कोट, तिलागुफा, महावै, पाचलझना माओवादीले जितेको छ। यस्तै, कांग्रेसले शुभकालिका र नरहरिनाथ जित्दा एमाले पालिकामा जितविहीन भएको थियो।

समानुपातिकतर्फ तत्कालीन माओवादी केन्द्रको १४ हजार २२९, एमालेको १२ हजार ५६४, कांग्रेसको १० हजार ५८५, एकीकृत समाजवादीको २ हजार ५३, नेमकिपाको १ हजार ३४०, राप्रपाको १ हजार २७३ र रास्वपाको ६०१ मत छ।

माओवादी र समाजवादी मिलेर बनेको नेकपाको समानुपातिक मत १६ हजार २८२ हुन आउँछ। गत स्थानीय निर्वाचनमा प्रकाण्डको पार्टीले कालीकोटमा करिब ४ हजार मत पाएको थियो। कालीकोटमा नेकपा, कांग्रेस र एमालेको सांगठनिक शक्तिसँग प्रकाण्डको विरासतबीच कसको पल्ला भारी हुन्छ फागुनको तेस्रो साता कुर्नुको विकल्प छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad