प्रतिनिधि सभाको अघिल्लो चुनावमा एक जनाको ज्यान जाने गरी हुलदंगा भएको बाजुरामा यस पटक भने सबै उम्मेदवारले मर्यादित र शान्तिपूर्ण बनाउने प्रतिबद्धता जनाएका छन्।
बिहीबार सात राजनीतिक दल र एक स्वतन्त्र गरी आठ उम्मेदवारले सामूहिक प्रतिबद्धता जनाएका छन्। उनीहरूले गरेको नौ बुँदे प्रतिबद्धतामा निर्वाचनको प्रचार कार्य शौहार्दपूर्ण, मर्यादित र शान्तिपूर्ण बनाउने जनाएका छन्।
यससँगै एकअर्का राजनीतिक दल र उम्मेदवारको सम्मान र आदर गर्ने पनि उनीहरूले प्रतिबद्धता जनाएका छन्। व्यक्तिगत जीवनका विषयमा टिप्पणी नगर्ने बताउँदै उनीहरूले भनेका छन्, ‘उम्मेदवारको व्यक्तिगत जीवनका विषयमा टिकाटिप्पणी गर्ने, गराउने कार्य गर्दैनौँ।’
निर्वाचनको सम्बन्धमा उत्पन्न हुने विवाद आपसी संवादबाट समाधान गर्ने जनाएका छन्। निर्वाचनमा धाँधली नगर्न प्रतिबद्धता जनाउँदै उनीहरूले भनेका छन्, ‘निर्वाचनको प्रचार र मतदान प्रक्रियामा कसैबाट कुनै पनि प्रकारका घुसपैठ, धाँधली, नक्कली प्रकृतिका कार्य तथा व्यवहार भएमा वा गरेको पाइएमा हामी संयुक्त रुपमा अस्वीकार गर्दछौँ, अस्वीकार गर्नेछौँ।’
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी, नेकपा (एमाले)का लालबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रकाशबहादुर शाह, रास्वपाका हेमराज थापा, राप्रपाका केशरबहादुर शाही, नेकपा (माओवादी)का भूपेन्द्र विक, प्रलोपाका दिपक डीसी र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले प्रतिबद्धतामा हस्ताक्षर गरेर प्रेस विज्ञप्ति जारी गरेका छन्।
२०७९ सालमा भएको प्रतिनिधि सभाको चुनावका दिन बाजुराको त्रिवेणी नगरपालिका-७ स्थित नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा झडप भएको थियो। झडपमा नियन्त्रणका क्रममा सुरक्षाकर्मीको गोली लागेर त्रिवेणी-७ का सञ्जीव अयडी र चेतन अयडीको मृत्यु भएको थियो।
बाजुारामा प्रायः चुनावलाई लिएर झडप हुने गरेको छ। यस पटक भने सबै उम्मेदवारले सतर्कता अपनाउँदै चुनावी माहोल तात्नअघि नै शान्तिपूर्ण बनाउने प्रतिबद्धता गरेका हुन्।

Shares

प्रतिक्रिया