राजनीति


एकता टुटेलगत्तै कुलमानलाई बालेनका विश्वासपात्रको टक्कर

सडकमा भिडेको मान्छे हुँ, जित्छु : पाण्डे, रास्वपा चौथो हुन्छ : गणेश घिसिङ
एकता टुटेलगत्तै कुलमानलाई बालेनका विश्वासपात्रको टक्कर

सागर न्यौपाने
माघ ७, २०८२ बुधबार २१:१६, काठमाडौँ

काठमाडौँ महानगरपालिकामा मेयर बालेन शाहका कुनै विश्वासपात्र थिए भने ती नगर प्रहरी प्रमुख राजु पाण्डे नै थिए। सबैजसो काममा बालेनले पाण्डेलाई नै खटाउने गर्थे। 

उनीहरूको यो निकट सम्बन्ध महानगरमा मात्र सीमित थिएन। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको चुनावी सरकारमा पाण्डेलाई मन्त्री बनाउने प्रस्ताव बालेनले गरेका थिए। यद्यपि, पाण्डे मन्त्री बन्न सकेनन्। 

यही अवधिमा बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गरेर वरिष्ठ नेता बने। आफ्ना विश्वासपात्र र सहयोगी सबैजसोलाई रास्वपाका विभिन्न जिम्मेवारी दिलाए। ३६ जनालाई समानुपातिक उम्मेदवार बनाए। उनले माघ ४ गते मेयरबाट राजीनामा दिए। प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएका उनी झापा ५ को चुनावी प्रचारमा छन्।

बालेनको राजीनामापछि नगर प्रहरी प्रमुख रहेका पाण्डेले पनि राजीनामा दिए। 

जेनजी सरकारको मन्त्री बनाउन नसकेका बालेनले उनै पाण्डेलाई आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको चुनावमा काठमाडौँ क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाएका छन्। रोचक त, सोही निर्वाचन क्षेत्रबाट उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पनि उम्मेदवार छन्। कुनै समय कुलमानलाई रास्वपामा मिसाएर ठूलो दल बनाउन बालेन लागिपरेका थिए। 

रास्वपा सभापति रवि लामिछाने नक्खु कारागारमा रहेकै बेला घिसिङलाई पार्टीमा भित्र्याउने उनैले गरेका थिए। आफ्ना विश्वासपात्र कुमार व्यञ्जनकारमार्फत बालेनले कुलमान र रवि मिलाउने प्रयास गरे पनि सफल नभएपछि पुस १३ गते आफूले मात्रै रास्वपासँग एकता सम्झौता गरे। 

तर उनलाई कुलमान पनि मिसाउन निकटस्थहरूले दबाब दिइरहे। सोही कारण पुस १४ गते घिसिङ संरक्षक रहेको उनेपालाई पनि रास्वपामा एकता गराउन उनी बाध्य भए। रवि र कुलमानबीच सातबुँदे सहमति हुँदा आफैँ साक्षी बसे। 

जसअनुसार कुलमान रास्वपाको वरिष्ठ उपसभापति बनेका थिए। यद्यपि केन्द्रीय समिति र समानुपातिक उम्मेदवारमा कुरा नमिल्दा रास्वपाले एकता सम्झौता भएको १२ दिनमै पुस २७ गते एकतर्फी रूपमा एकता भंगको निर्णय गर्‍यो। 

त्यसपछि कुलमान उनेपाको अध्यक्ष बन्दै आफ्नै पार्टीलाई अघि बढाउने निर्णय गरे र देशभरिका १२० निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरे। 

अहिले प्रतिनिधि सभाको चुनावमा उनै बालेनले आफ्ना सहयोगी पाण्डेले कुलमानविरुद्ध उठाएका छन्। 

सो क्षेत्रका मतदाताहरू घिसिङ र पाण्डेबीच प्रतिस्पर्धा हुने अनुमान गर्छन्। किनकि, घिसिङ काम गरेर चर्चा कमाएका नेता हुन्। बालेनको क्रेज र घन्टीको प्रभावले पाण्डेलाई सहज बनाउनसक्ने बुझाइ उनीहरूको छ। यद्यपि, कांग्रेस र एमालेले परम्परागत मत आफैँसँग रहेको दाबी गरिरहेका छन्।

किनकि २०७४ र २०७९ को प्रतिनिधि सभाको चुनावमा सो क्षेत्र क्रमशः एमाले र कांग्रेसले जितेका थिए। 

यसपटक काठमाडौँ-३ मा कांग्रेसले पूर्ववडाध्यक्ष रमेश अर्याललाई उम्मेदवार बनाएको छ। आफू पार्टी सभापति बनेपछि गगन थापाले मेयरका दाबेदार मानिएका अर्याललाई अवसर दिएका हुन्। गत निर्वाचनमा पनि उक्त क्षेत्रमा कांग्रेसकै उम्मेदवार (सन्तोष चालिसे) विजयी भएका थिए। 

नेकपा एमालेले त्यहाँ रामेश्वर फुयाललाई उम्मेदवार बनाएको छ भने नेपाली कम्युनिस्ट पार्टीले निरज लामा र राप्रपाले डा सुन्दरसिंह बोहरालाई उठाएको छ।

२०७९ को चुनावमा कांग्रेसका सन्तोष चालिसे १५ हजार १ सय ५८ मत ल्याएर निर्वाचित भएका थिए। यद्यपि, त्यसबेला कांग्रेससँग नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत पाँच दलीय गठबन्धन थियो। गठबन्धन नगरी एमालेका कृष्णबहादुर राईले ११ हजार १ सय ९६ मत ल्याएका थिए। सो निर्वाचन क्षेत्रमा रास्वपा तेस्रो स्थानमा थियो। रास्वपाका दुर्गाविक्रम थापा क्षेत्रीले ५ हजार ८ सय ६५ मत ल्याएका थिए। 

सो निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ पनि कांग्रेस पहिलो दल बनेको थियो। कांग्रेसले १० हजार ६ सय १९ मत ल्याउँदा एमालेले ९ हजार ४ सय ४९ मत पाएको थियो। यस्तै, रास्वपाले पनि ९ हजार २ सय १८ मत पाएको थियो। प्रत्यक्षमा भन्दा रास्वपाले समानुपातिकतर्फ ३ हजार ३ सय ५३ मत बढी पाएको थियो। २०७४ मा पनि सो क्षेत्रमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा भएको थियो। एमालेका कृष्णबहादुर राई १९ हजार १ सय ६९ मत ल्याएर विजयी हुँदा कांग्रेसकी अम्बिका बस्नेतले १४ हजार ८ सय ८४ मत पाएकी थिइन्। यद्यपि, त्यसबेला एमालेसँग नेकपा माओवादी केन्द्रको चुनावी तालमेल थियो।

यसपटक रुझान आफूहरूसँग भएको रास्वपाका सचिवालय सदस्य विराजभक्त श्रेष्ठले दाबी गरे।

तर, उज्यालो नेपाल पार्टीका नेताहरू सो कुरा मान्दैनन्। कुलमान घिसिङ उठेपछि रास्वपा कमजोर भएको उनेपाका नेता गणेश घिसिङको भनाइ छ।

‘अहिलेसम्म हाम्रो र कांग्रेसबीच नै प्रतिस्पर्धा हुने देखिन्छ,’ उनले नेपालखबरसँग भने, ‘यो क्षेत्रमा तामाङ, राई, लिम्बू र शेर्पाहरूको ७० प्रतिशत बसोबास छ, उहाँहरूको समर्थन पूरै पाउने विश्वास लिएका छौँ।’ 

रास्वपा सो क्षेत्रमा चौथो हुने उनको दाबी छ।

‘अघिल्लो पटकको चुनावमा हामी नभएर रास्वपाले मत पाएको हो, यसपटक तेस्रो पनि हुँदैन चौथो हो,’ घिसिङले थपे। 

रास्वपाबाट उम्मेदवार बनेका राजु पाण्डे कुलमान घिसिङले पार्टी छोडेर गएकोले प्रतिस्पर्धा गर्नुपरेको बताए।

‘देशले चाहेको परिवर्तन हो, अहिले रास्वपाको लहर छ,’ पाण्डेले नेपालखबरसँग भने।

ब्युरोक्रेसीबाट आएका घिसिङलाई आफूले हराउने उनले दाबी गरे। 

‘म सडकमा भिडेर आएको मान्छे हुँ, टेबलवर्क गरेर आएको होइन, जनताले मलाई भोट दिन्छन्,’ उनी भन्छन्।

घिसिङले आफू सोही क्षेत्रको बासिन्दा भएको र लामो समयदेखि सो क्षेत्रका जनताले चुनाव लड्न आग्रह गरिरहेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad