प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुमै चालिएको सुरक्षाका प्रभावकारी कदमका कारण अहिलेसम्म नेपालमा कोरोना भाइरसले महामारी रूप लिन नसकेको भए पनि पछिल्लो समय स्थिति बिग्रिँदै गएको बताएका छन्।
बुद्ध जयन्तीका अवसरमा बिहीबार भिडियोमार्फत शुभकामना सन्देश जारी गर्दैै प्रधानमन्त्री ओलीले नेपालमा पनि कोरोना महामारीले भयावह रूप लिने लक्षण देखिएकाले सजगता अपनाउन सबै नागरिकलाई आह्वान गरेका हुन्।
बुधबारसम्म नेपालमा कोरोनाबाट ९९ जना संक्रमित भइसकेका छन्। तर तीमध्ये १९ जना संक्रमणमुक्त भइसकेका छन्। यसअघि निको हुनेको संख्या २२ पुगेको भए पनि तीन जनामा पुनः कोरोना पोजिटिभ देखिएपछि यो संख्या केही घटेको हो।
याे पनि: पर्सामा दुई महिनाको शिशुसहित १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९९ पुग्यो
‘सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको त छैन। तर भयावह हुन सक्ने लक्षण देखिएका छन्,’ प्रधानमन्त्री ओलीले भिडियाे सन्देशमा भनेका छन्, ‘यदि आफ्नो सतर्कता, आफ्नो तयारी र रोकथाममा हामी सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रुप लिन सक्दछ। त्यसकारण हामी सजग हुनु जरुरी छ।’
विश्वमा कोरोना भाइरसबाट संक्रमित तथा मृत्यु हुने क्रम बढ्दै गएकाप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले ज्यान गुमाएका सबैप्रति श्रद्धासुमन प्रकट गरेका छन् भने बिरामीलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
कोरोना महामारीकै कारण यसपटक बुद्ध जयन्ती विगतका वर्षमा जस्तो धूमधामसाथ मनाउन नपाइएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले शान्तिको कामना गर्न र कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी, स्वयंसेवी, सहयोगीप्रति ऐक्यबद्धता जनाउन आआफ्ना संस्था तथा घरमा बिहीबार साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न अनुरोध गरेका छन्।
सुनाैँ भिडियाे:

प्रतिक्रिया