समाज


म्याग्दीका पाँच जनामा डेंगु संक्रमण, यस्तो हुन्छ डेंगुको लक्षण

म्याग्दीका पाँच जनामा डेंगु संक्रमण, यस्तो हुन्छ डेंगुको लक्षण

नेपालखबर
बैशाख २५, २०७७ बिहिबार ४:१८,

म्याग्दीका पाँच जनालाई डेंगु संक्रमण भएको छ। बुधबार दुई जनालाई डेंगु संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या पाँच पुगेको हो।

बेनी नगरपालिका-७ मङ्गलाघाट र मङ्गला गाउँपालिका-१ भरजुलाका एक–एक जनामा बुधबार डेङ्गु पोजेटिभ देखिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए। दुवै पुरुष बिरामीलाई बेनी अस्पतालमा भर्ना गरेर उपचार शुरु गरिएको छ।

मङ्गलाघाटका २८ वर्षीय युवा चार दिनअघि तनहुँबाट आएका थिए। भरजुलाका बिरामी गाउँमै खेतबारीको काम र जङ्गलमा निउरो टिप्न गएका थिए।

यसअघि वैशाख १८ गते बेनी नगरपालिका–९ घतानका ३० वर्षीय पुरुष, १९ गते बेनी–६ छापकी ५८ वर्षीया महिला र २१ गते पर्वत घर घइ बेनी–५ भिरमुनि बस्ने ३६ वर्षीया महिलामा डेङ्गु पोजेटिभ भेटिएको थियो।

वैशाख ९ गते मङ्गला–५ अर्मनका १७ वर्षका पुरुषलाई एकैपटक स्क्रब टाइफस र डेङ्गु भेटिएको थियो। माघ २ गते अन्नपूर्ण–६ घारकी ६५ वर्षीया महिलामा डेङ्गु भेटिएको थियो।

यसअघि भेटिएका डेङ्गुका एक बिरामीको स्वास्थ्यमा अन्य समस्या देखिएकाले पोखरा सिफारिस गरिएको छ। अन्य निको भएर घर फर्किएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए।

बेनी बजारको गणेशटोल, मङ्गलाघाट, बसपार्क, पारीबेनी र भिरमुनिलाई डेङ्गुको जोखिमयुक्त क्षेत्र मानिएको छ। एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु सरुवा रोग हो।

बर्खा र गर्मी मौसममा देखिने यो रोगबाट गत वर्ष नेपालमा सङ्क्रमितको ज्यानसमेत गएको थियो।

पाँचदेखि सात दिनसम्म उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकोको पछिल्लो भाग दुख्ने शरीरमा बिमिरा आउने, हाडजोर्नी तथा मांसपेसी दुख्ने डेङ्गुको मुख्य लक्षण हुन्।

टिन, रङका खाली डब्बा, टायर ट्युब, खाली ड्रमहरुमा पानी जम्न नदिने, घर, कौसीको गमला, फुलदानी, एयर कण्डिसन, कुलर, पानीको ट्याङ्कीमा डेङ्गु सार्ने लामखुट्टेले फुल पार्छ। डेङ्गु फैलिन नदिन म्याग्दीमा लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान चलाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad