राजनीति


गगनले लिए बदला : दुई तिहाइभन्दा बढी सिटमा आफ्नै उम्मेदवार, देउवा-कोइराला २७ प्रतिशतमा सीमित

गगनले लिए बदला : दुई तिहाइभन्दा बढी सिटमा आफ्नै उम्मेदवार, देउवा-कोइराला २७ प्रतिशतमा सीमित

लोकेन्द्र भट्ट
माघ ६, २०८२ मंगलबार २१:२२, काठमाडौँ

प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगन थापाले दुई तिहाइभन्दा बढी सिटमा आफ्नो पक्षका उम्मेदवार उठाएका छन्। पुस २७–३० मा सम्पन्न विशेष महाधिवेशनबाट सभापति निर्वाचित थापाले शेरबहादुर देउवा समूहलाई १९ र शेखर कोइराला समूहलाई ८ प्रतिशतमा सीमित पारिदिएका छन्। 

सभापति थापाले १२० सिटमा आफूनिकटलाई उम्मेदवार बनाउँदा देउवा पक्षका ३२ र कोइराला पक्षबाट १३ जना मात्र चुनावी मैदानमा छन्। थापा पक्षको हिस्सा ७३, देउवा पक्षको १९ र कोइराला पक्षको ८ प्रतिशत उम्मेदवार छन्।

प्रतिनिधिसभाको समानुपातिकतर्फ र माघ ११ हुने राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार छनोट गर्दा देउवा र कोइरालाबाट पेलिएका सभापति थापाले प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा बदला लिएको देखिन्छ। फागुन २१ निर्वाचनमा कांग्रेसबाट प्रधानमन्त्रीका उम्मेदवारका रुपमा अगाडि सारिएका थापाले समानुपातिकतर्फका सांसदको हिसाब–किताब मिलाउन प्रत्यक्षमा आफूनिकट दुई तिहाइ उम्मेदवार चुनावी मैदानमा पठाएको बुझ्न गाह्रो छैन।

प्रदेशगत हिसाब
कोसी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये १७ सिटमा थापा पक्षका उम्मेदवार बनेका छन्। देउवा पक्षले ५ र कोइराला पक्षले ६ सिटमा मात्र टिकट पाएको छ। 

थापा पक्षबाट पाँचथरमा नरेन्द्र कुमार केरुङ, इलाम–१ निष्कल राई, झापा ३ मा राजेन्द्र घिमिरे, झापा ५ मा मन्धरा चिमरिया पौडेल, मोरङ १ मा खड्गबहादुर फागो, मोरङ ४ मा गुरुराज घिमिरे, मोरङ ५ मा फूलकुमार लालवती र सुनसरी १ मा सुरेन्द्र तामाङ उम्मेदवार बनेका छन्। 

यस्तै थापा पक्षबाट धनकुटामा दिनेश राई, तेह्रथुममा सन्तोषी सुब्बा, संखुवासभामा दिपनकुमार श्रेष्ठ, भोजपुरमा बालकृष्ण थापा, सोलुखुम्बुमा प्रकाशसिंह कार्की, ओखलढुंगामा कुमार लुइँटेल, खोटाङमा वीरकाजी राई, उदयपुर १ मा विदुर बस्नेत र उदयपुर २ मा रामकुमार राई उम्मेदवार बनेका छन्। 

देउवा पक्षबाट ताप्लेजुङमा गजेन्द्रप्रसाद लिम्बू, झापा १ मा केशवराज पाण्डे, झापा ४ मा देउमान थेबे, सुनसरी ३ विजय गच्छदार, सुनसरी ४ मा ज्ञानेन्द्र कार्की गरी ५ जना उम्मेदवार बनेका छन्। शेखर कोइराला पक्षबाट इलाम २ मा भेषराज आचार्य, झापा २ मा सरिता प्रसाईं, मोरङ २ मा मिनेन्द्र रिजाल, मोरङ ३ मा सुनिल शर्मा, मोरङ ६ मा शेखर कोइराला र सुनसरी २ मा राजीव कोइराला गरी ६ जना उम्मेदवार बनेका छन्।

मधेस प्रदेश प्रदेशका ३२ सिटमा सभापति थापाले २१ सिटमा आफू पक्षीय उम्मेदवार उठाएका छन्। चुनाव लड्न सर्लाही ४ पुगेका थापाले देउवा र कोइराला निकटलाई टिकटमा कसेको देखिन्नछ। मधेसमा देउवा पक्षका ९ र कोइराला पक्षका २ जना उम्मेदवार छन्।

थापा पक्षबाट सप्तरी ४ मा रामकुमार यादव, सिरहा १ मा रामसुन्दर चौधरी, सिरहा ३ मा सुवासचन्द्र यादव, सिरहा ४ मा चन्द्रकलाकुमारी यादव, धनुषा १ मा रामपल्टन यादव, धनुषा २ मा दिनेश पर्सेला, महोत्तरी १ मा मुकेशराज काफ्ले, महोत्तरी ३ मा बजरंग नेपाली, सर्लाही ४ मा गगन थापा र सर्लाही १ मा शम्भुलाल श्रेष्ठ उम्मेदवार बनेका छन्।

थापा पक्षबाटै सर्लाही २ मा डा सरोज यादव, रौतहट १ मा अनिल झा, रौतहट २ मा फिर्दाैस आलम, रौतहट ३ मा रामकृपाल यादव, रौतहट ४ मा देवप्रकाश तिमिल्सिना, बारा १ मा शम्भु बुढाथोकी, बारा २ मा भैयाराम चौधरी, बारा ३ मा फरमुल्लाह मन्सुर, बारा २ मा श्यामबाबु गुप्ता र पर्सा ४ मा सुरेन्द्र चौधरी उम्मेदवार छन्। 

देउवा पक्षबाट सप्तरी ३ मा दिनेश यादव, सिरहा २ मा रामचन्द्र यादव, धनुषा ३ मा विमलेन्द्र निधि, धनुषा ४ मा महेन्द्र यादव, महोत्तरी ५ मा महेन्द्रराय यादव, सर्लाही ३ मा विनोद खनाल, पर्सा १ मा अनिल रुंगट्टा, पर्सा २ मा अजय चौरसिया र पर्सा ३ मा रमेश रिजाल उम्मेदवार बनेका छन्। कोइराला पक्षबाट सप्तरी ४ मा तेजुलाल चौधरी र महोत्तरी २ मा किरण यादव मात्र उम्मेदवार बनेका छन्।

बागमती प्रदेशमा सभापति थापा पक्षको एकलौटी नै देखिन्छ। ३३ मध्ये २९ सिटमा थापा पक्षका उम्मेदवार बन्दा देउवा पक्षले ४ सिटमा मात्र टिकट पाएको अवस्था छ। 

थापा पक्षबाट उम्मेदवार हुनेमा  दोलखामा अजयबाबु सिवाटोटी, सिन्धुली १ मा उज्वल बराल, रसुवामा मोहन आचार्य, काभ्रे १ मा गुणराज मुक्तान, काभ्रे २ मा मधु आचार्य, सिन्धुपाल्चोकमा जंगबहादुर तामाङ, सिन्धुपाल्चोक २ मा वंशलाल तामाङ, धादिङ १ मा कृष्ण रिजाल, धादिङ २ मा रमेश धमला, नुवाकोट २ मा जगदीश्वरनरसिंह केसी, भक्तपुर १ मा किरण न्यौपाने र भक्तपुर २ मा कविर राणा रहेका छन्। 

काठमाडौं १ मा प्रवल थापा, २ मा कविर शर्मा, ३ मा रमेश अर्याल, ४ मा सचिन तिमल्सिना, ५ मा प्रदीप पौडेल, ६ मा कृष्ण सबुज बानियाँ, ७ मा प्रमोदहरि गुरागाईं, ८ मा सपना राजभण्डारी, ९ मा नानु बास्तोला र १० मा हिमाल कार्की गरी १० जना नै थापा निकट उम्मेदवार हुन्।

यस्तै ललितपुर १ मा उदयशम्शेर राणा, २ मा प्रेमकृष्ण महर्जन, ३ मा जितेन्द्र श्रेष्ठ, चितवन १ मा राजेन्द्र बुर्लाकोटी, चितवन २ मा मीनाकुमारी खरेल र चितवन ३ मा टेकप्रसाद गुरुङ पनि थापा पक्षबाटै उम्मेदवार बनेका छन्।

बागमतीमा देउवा पक्षबाट सिन्धुली २ मा सुशीला थिङ, नुवाकोट १ मा डा प्रकाशशरण महत, मकवानपुर १ मा महालक्ष्मी उपाध्याय (डिना) र मकवानपुर २ मा बुद्ध लामा गरी ४ जनाले मात्र टिकट पाएका छन्।

गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रमा थापा पक्षले १४ सिटमा उम्मेदवार खडा गर्दा देउवा पक्षले ४ जना उम्मेदवार मात्र पाएको छ। थापा पक्षबाट गोरखा १ मा प्रेमकुमार खत्री, गोरखा २ मा प्रकाशचन्द्र दवाडी, लमजुङमा गमप्रसाद गुरुङ, कास्की १ मा तिलक रानाभाट र कास्की २ मा माधवप्रसाद बास्तोला उम्मेदवार बनेका छन्।

यस्तै थापा पक्षबाटै पर्वतमा अर्जुन जोशी, स्याङजा १ मा भरतराज ढकाल, स्याङ्जा २ मा भागवतप्रसाद मल्ल, मुस्ताङमा योगेन्द्र गौचन, बागलुङ १ मा भीम शिरीष, बागलुङ २ मा टेकराज पौडेल र म्याग्दीमा केबी भण्डारी, नवलपुर १ बालकृष्ण घिमिरे र नवलपुर २ मा ओमबहादुर घर्तीमगर उम्मेदवार भएका छन्। 

यता तनहुँ १ मा गोविन्द भट्टराई, तनहुँ २ मा शंकर भण्डारी, कास्की ३ मा मनोज गुरुङ र मनाङमा टेकबहादुर गुरुङ देउवा पक्षबाट उम्मेदवार भएका छन्।

लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमा १७ ठाउँमा थापानिकटले टिकट पाएर उम्मेदवारी दर्ता गराएका छन्। यस्तै देउवा पक्षका ४ र कोइराला पक्षका ५ जना मात्र उम्मेदवार बनेका छन्।

थापा पक्षबाट नवलपरासी १ मा विनोद चौधरी, रोल्पामा डा सुदनकुमार वली, दाङ १ मा योगेन्द्र चौधरी, पूर्वी रुकुममा कुसुम थापा मगर, कपिलवस्तु ३ मा अभिषेकप्रताप शाह, बाँके १ मा नारायणप्रसाद गौडेल, बाँके २ मा सुधांशु कोइराला र बाँके ३ मा अमरसिंह पुन उम्मेदवार बनेका छन्।

यस्तै थापा पक्षकै रुपन्देही १ मा हिराबहादुर केसी, रुपन्देही २ मा चुन्ना पौडेल, रुपन्देही ३ मा सुशील गुरुङ, रुपन्देही ४ मा आशुतोष मिश्र र रुपन्देही ५ मा भरत शाह, पाल्पा २ मा हिमालदत्त श्रेष्ठ, गुल्मी २ मा भुवन श्रेष्ठ र अर्घाखाँचीमा विष्णुप्रसाद खनाल उम्मेदवार बनेका छन्।

देउवा पक्षबाट कपिलवस्तु १ मा अख्तर कमाल मुसलमान, बर्दिया २ बाट किशोरसिंह राठौर, पाल्पा १ मा सन्दीप राना र नवलपरासी २ मा देवेन्द्र कँडेल गरी चार जनाले मात्र टिकट पाए।

कोइराला पक्षबाट दाङ ३ मा दिपक गिरी, प्युठानमा डा गोविन्दराज पोखरेल, कपिलवस्तु २ मा सुरेन्द्र आचार्य, बर्दिया १ मा सञ्जय गौतम र गुल्मी १ मा चन्द्र भण्डारी जना उम्मेदवार बनेका छन्।

कर्णाली प्रदेशका १२ सिटमा थापा पक्षका ११ जनाले टिकट पाएका छन् भने देउवा पक्षका १ जना मात्र छन्। थापा पक्षबाट सुर्खेत २ मा नारायण कोइराला, दैलेख–१ मा बासना थापा, दैलेख–२ मा दिक्पाल शाही, कालिकोटमा हर्षबहादुर बम, डोल्पामा कर्णबहादुर शाही, जुम्लामा दीपबहादुर शाही, मुगुमा खङ्ग शाह, सल्यानमा केशव विष्ट, जाजरकोटमा खड्कबहादुर बुढा, रुकुमपश्चिम राजु केसी र हुम्लामा जयपति रोकाय उम्मेदवार बनेका छन्।

देउवा पक्षबाट कर्णाली प्रदेशको सुर्खेत १ मा विष्णुबहादुर खड्का उम्मेदवार बनेका छन्। कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले चुनाव नलड्ने घोषणा गरेपछि उनका भाइ विष्णु चुनावी मैदानमा उत्रिएका हुन्। 

सुदूरपश्चिम प्रदेशका १६ सिटमध्ये थापा पक्षबाट ११ र देउवा पक्षबाट ५ सिटमा उम्मेदवार बनेका छन्। थापा पक्षबाट अछाम १ मा भरत स्वाँर, बाजुरामा जनक गिरी, बैतडीमा चतुरबहादुर चन्द, डोटीमा भरतबहादुर खड्का, कञ्चनपुर १ मा गोपी उपाध्याय, कञ्चनपुर ३ मा हरि बोहरा, कैलाली १ मा जनकराज चौधरी, कैलाली २ मा विजय स्वाँर, कैलाली ३ मा भरत बडुवाल, दार्चुलामा धर्मानन्द जोशी र बझाङमा प्रकाश स्नेही उम्मेदवार बनेका छन्। 

यता देउवा पक्षबाट अछाम २ मा पुष्प शाह, कञ्चनपुर २ मा एनपी साउद, डडेल्धुरामा नैनसिंह महर, कैलाली ४ मा आन्नद विष्ट र कैलाली ५ मा नरनारायाण शाह चुनावी मैदानमा छन्। 

नयाँलाई अवसर, ११ महिला मैदानमा
कांग्रेसमा १६५ जना उम्मेदवार चयन गरिएकोमा १०६ जना नयाँ उम्मेदवारले मौका पाएका छन्। कांग्रेसले गत निर्वाचनमा विजयी भएका ५७ जनामध्ये २५ जनालाई मात्र दोहो¥याएको छ। गत निर्वाचनमा विजयी भएका ३१ उम्मेदवारलाई कांग्रेसले टिकट दिएन।

यस्तै, कांग्रेसले ११ जना महिलालाई चुनावी मैदानमा पठाएको छ। २०७९ को चुनावमा कांग्रेसबाट निर्वाचित एक्ली महिला सीता गुरुङलाई उम्मेदवार बन्न बन्चित गरेर पनि कांग्रेसले ११ जना महिलालाई उम्मेदवार बनाएको छ। 

झापा २ मा सरिता प्रसाईं, झापा ५ मा मन्धरा चिमरिया, महोत्तरी ३ मा किरण यादव, सिरहा ४ मा चन्द्रकलाकुमारी यादव, सिन्धुली २ मा सुशीला थिङ, मकवानपुर १ मा महालक्ष्मी उपाध्याय ‘डिना’, काठमाडौँ ८ मा सपना राजभण्डारी, काठमाडौँ ९ मा नानु बास्तोला, चितवन २ मा मीनाकुमारी खरेल, पूर्वी रुकुममा कुसुमदेवी थापा मगर र दैलेख १ मा वासना थापालाई उम्मेदवार बनाएको छ।

डिना, प्रसाईं, सुशीला थिङ, किरण यादव, राजभण्डारी, कुसुमदेवी थापा मगर पूर्वसांसद हुन् भने चिमरिया, चन्द्रकला यादव र बास्तोलाले सांसद बन्ने मौका पाएका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad