राजनीति


मन्त्री पद छाडेर म्याग्दीमा महावीर, उम्मेदवारी दर्ता गराउँदै ठट्टा गरे– 'यसको पनि आविष्कार नै भयो कि क्या हो'

मन्त्री पद छाडेर म्याग्दीमा महावीर, उम्मेदवारी दर्ता गराउँदै ठट्टा गरे– 'यसको पनि आविष्कार नै भयो कि क्या हो'

उम्मेदवारी दर्ताछि महावीर पुन


वाशुदेव मिश्र
माघ ६, २०८२ मंगलबार १३:५०, पोखरा

शिक्षामन्त्रीको पद र ढिँडो छाडेर महावीर चुनावी मैदानमा: सोमबार साँझसम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयको कार्यकक्षमा फाइलहरू पल्टाइरहेका महावीर पुन एकाएक म्याग्दी पुगेर प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। शिक्षामन्त्रीको जिम्मेवारीमा रहेका पुनले सोमबार राति प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका थिए। राजीनामा बुझाएर गृहजिल्ला म्याग्दी हानिएका थिए।

मंगलबार बिहान १० बज्न नपाउँदै बेनीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका पुनले आफ्नो चिरपरिचित शैली ह्याट र साधारण पहिरनमा मनोनयन पत्र दर्ता गराए। उनले बिहान १०:४५ बजे नै मनोनयनको सबै प्रक्रिया पूरा गरी आफू देशभरकै पहिलो उम्मेदवार भएको दाबी समेत गरेका छन्।

सिंहदरबारदेखि बेनीसम्मको यात्रा पुनको राजीनामा र उम्मेदवारी जति अप्रत्याशित थियो, उनको शैली उस्तै मौलिक देखियो। मन्त्रालयमा रहँदा ढिँडो र गुन्द्रुक खाएर सादगी जीवन बिताउने भनी चर्चामा रहेका उनले मन्त्री पदको सुविधाभन्दा जनसेवाको 'स्वतन्त्र' बाटो रोजेका हुन्। उम्मेदवारी दर्तापछि सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'राजीनामा दिएर हेर्नुहोस्— बिहान १०:०५ बजे निर्वाचन आयोग म्याग्दीमा हाजिर भइयो। १०:४५ मा स्वतन्त्र उम्मेदवारको रूपमा मनोनयन पत्र बुझियो। उम्मेदवार दर्ता गर्ने कुरामा ७७ वटै जिल्लामा फस्ट भइयो कि क्या होर!

म्याग्दीको नागीमा जन्मिएका महावीर पुनको पहिचान पछिल्लो समय मात्र शासन र राजनीतिसँग जोडिएको हो। उनी एसियाकै नोबेल पुरस्कार मानिने 'रोमन म्यागासेसे' विजेता हुन्। दुर्गम गाउँमा वायरलेस प्रविधिमार्फत इन्टरनेट पुर्‍याएर 'डिजिटल नेपाल'को जग बसालेका पुनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरी नेपालमै केही गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेका थिए।

पछिल्लो राजनीतिक समीकरणमा उनी शिक्षामन्त्री बने पनि कर्मचारीतन्त्रको कार्यशैली र राजनीतिक दबाबप्रति उनले पटक–पटक असन्तुष्टि व्यक्त गर्दै आएका थिए। मन्त्रालयमा रहँदा उनले शिक्षा क्षेत्रमा व्यापक सुधारको खाका कोरे पनि त्यसलाई कार्यान्वयन गर्न दलीय राजनीति बाधक बनेको उनको बुझाइ थियो। मन्त्री पद त्यागेर स्वतन्त्र उम्मेदवार बन्ने उनको निर्णयलाई त्यही 'विद्रोह'को रूपमा हेरिएको छ।

चुनौती मैदानमा महावीर पुनको उम्मेदवारीले म्याग्दीमा स्थापित राजनीतिक दलहरू नेकपा एमाले र नेपाली कांग्रेसलाई कडा चुनौती थपिदिएको छ। जिल्लाका दुर्गम भेगमा उनको सामाजिक योगदान र व्यक्तिगत छविका कारण युवा तथा तटस्थ मतदाताहरू उनीप्रति आकर्षित हुने देखिन्छ।

म्याग्दीमा यसअघि एमाले र कांग्रेसकै आलोपालो वर्चस्व रहँदै आएको थियो। एक सफल वैज्ञानिक र 'लो प्रोफाइल'मा बस्न रुचाउने मन्त्रीको रूपमा छवि बनाएका पुन मैदानमा उत्रिएपछि चुनावी समीकरण बदलिनबारे चर्चा सुरू भइसकेको छ। निर्वाचन कार्यालय बाहिर भेला भएका समर्थकहरूले 'आविष्कारको नेता, विकासको संवाहक' भन्दै नाराबाजी गरेका थिए।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुनले आफ्नो उम्मेदवारी कुनै दलको विरुद्ध नभई प्रणाली सुधारका लागि भएको बताए। 'मन्त्री भएर फाइल मात्रै ओसार्नुभन्दा जनताको बिचमा गएर काम गर्ने स्वतन्त्रता खोजेको हुँ,' उनले भने। उनले आफ्नो कार्यकालमा भएका कामको समीक्षा जनताले नै गर्ने र म्याग्दीको विकासका लागि आफूसँग स्पष्ट भिजन रहेको दाबी गरे।

उनले मनोनयन दर्ता गर्ने क्रममा कुनै तामझाम गरेनन्। साधारण झोला बोकेर कार्यालय पुगेका उनले कर्मचारीहरूसँग ठट्टा गर्दै भने, 'मैले त ७७ जिल्लामै पहिलो उम्मेदवारी दिए जस्तो लाग्छ, यसको पनि आविष्कार नै भयो कि क्या हो!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad