परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन्।
खनाल शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन्। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा उनी भारत भ्रमण गरेका छन्।
भारत प्रस्थान गर्नुअघि विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सरकार बनेपछि यो पहिलो उच्च स्तरीय भ्रमण भएको बताए। भ्रमणका क्रममा देशको प्राथमिकताका विषयमा केन्द्रित रहेर छलफल हुने खनालको भनाइ थियो।

नेपाल र भारतबीच नियमित रूपमा हुने उच्चस्तरीय भ्रमण आदानप्रदानको सिलसिलाअन्तर्गत यो भ्रमण भएको उनले बताए। दुई देशबीचको ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन यो भ्रमण फलदायी हुने उनको विश्वास थियो।
परराष्ट्र मन्त्रालयका अनुसार, भारत भ्रमणका क्रममा खनालले भारतीय समकक्षी डा. एस जयशंकरसँग भेटवार्ता गर्नेछन्। दुवै देशका विदेशमन्त्रीबीच आपसी हितका विविध विषयमा छलफल हुने जनाइएको छ।
परराष्ट्रमन्त्री खनाल जेठ २४ गते काठमाडौँ फर्कने भ्रमण तालिका रहेको छ।
Shares

प्रतिक्रिया