संसदीय राजनीतिमा प्रभावशाली देखिएका नेपाली कांग्रेसका तीन दर्जन नेताहरू आसन्न फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको मैदानमा नदेखिने भएका छन्। निवर्तमान सभापति शेरबहादुर देउवादेखि २०७९ सालमा कांग्रेसबाट निर्वाचित एक्ली महिला सांसद सीता गुरुङसम्म चुनावी मैदानमा नदेखिने भएका हुन्।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले निर्वाचन आयोगबाट मान्यता पाएपछि देउवा र डा. शेखर कोइराला पक्षका प्रभावशाली नेताहरू किनाराकृत भएका छन्। पार्टीको आधिकारिता विवादलाई सर्वोच्च अदालतसम्म पुर्याएका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई चुनावी मैदानमा जान नैतिक संकट देखिएको छ भने अन्य धेरै नेताको स्थायी निर्वाचन क्षेत्रमा सभापति थापाले कैची लगाएका छन्।
सुर्खेत-१ बाट लगातार चुनाव लड्दै आएका खड्काले आसन्न निर्वाचनमा मैदान खाली छोडेका छन्। तीन जना पूर्व उपसभापति धनराज गुरुङ, गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार टिकट पाउनबाट बन्चित भएका छन्। धनराज गुरुङ गत निर्वाचनमा स्याङजा-२ बाट निर्वाचितका भएका थिए।
सुनसरी-३ मा गच्छदारको आठौँ पटक उम्मेदवार बन्ने चाहनामा ‘ब्रेक’ लागेको छ। विशेष महाधिवेशनमा देउवा समूह फेरेका स्याङ्जामा चुनाव लड्दै आएका श्रेष्ठ पनि चुनावी मैदानमा उत्रिएनन्।
पूर्वमहामन्त्री शशांक कोइरालालाई पनि सभापति थापाले टिकट दिइएन्। शशांक कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका छोरा हुन्। नवलपुर-१ बाट २०७०, २०७४ र २०७९ सालमा निर्वाचित बीपी पुत्र शशांकलाई सभापति थापाले यसपटक टिकटबाट बन्चित गराए।
निवर्तमान सहमहामन्त्रीहरू बन्द्र पाण्डे, जीवन परियार र उमाकान्त चौधरी तथा कोषाध्यक्ष उमेश श्रेष्ठ पनि चुनावी मैदानमा देखिने छैनन्। बाजुराबाट २०७९ सालमा निर्वाचित पाण्डेले उम्मेदवार नबन्ने घोषणा गरेका थिए भने परियारले कास्की-१ मा चुनाव लड्ने इच्छा राखेका थिए।
सभापति थापाको रोजाइमा कास्की-१ परियार र बारा-१ मा चौधरी पर्न सकेनन्। गत निर्वाचनमा चितवन-२ बाट उम्मेदवार बनेका श्रेष्ठ यसपटक चुनाव लड्ने पक्षमा थिएनन्।
त्यस्तै, काठमाडौँ-१ बाट लगातार निर्वाचित हुँदै आएका प्रकाशमान सिंहलाई पनि सभापति थापा टिकट दिने पक्षमा नरहेको प्रवक्ता देवराज चालिसेले नेपालखबरलाई बताए। सिंह कांग्रेसका पूर्व उपसभापति हुन्।
सोलुखुम्बुका सदाबाहर उम्मेदवार बलबहादुर केसी, उदयपुर-१ का डा. नारायण खड्का, सुनसरी-१ बाट सिरफारिस मीनबहादुर विश्वकर्मा, काठमाडौँ-१० का राजेन्द्रकुमार केसी र सुर्खेत-२ का हृदयराम थानीले चुनाव नलड्ने घोषणा गरेका थिए।
२०५६, २०७०, २०७४ र २०७९ सालगरी ४ पटक कञ्चनपुर-३ मा चुनाव लडेका रमेश लेखकलाई पनि अन्तिममा टिकटबाट बन्चित गराइएको छ। यस्तै रुपन्देही-३ मा बालकृष्ण खाण, कैलाली-५ मा आरजु राणा, मोरङ-२ मा सुजाता कोइराला र तेह्रथुममा सीता गुरुङले पनि टिकट पाएनन्।
कांग्रेसले दोलखाका बलिया उम्मेदवार जीपछिरिङ लामा, सिरहाका पद्मनारायण चौधरी, सिन्धुपाल्चोक-१ का मोहनबहादुर बस्नेत, कैलाली-१ का रामजनम चौधरी, ललितपुर-३ का मदनबहादुर अमात्य, ओखलढुंगामा रामहरि खतिवडा, संखुवासभामा दीपक खड्का, सिन्धुली-२ मा श्याम घिमिरे, भक्तपुर-२ मा दुर्लभ थापा र काठमाडौँ-६ मा भीमसेनदास प्रधानलाई पनि उम्मेदवार बनाएको छैन।
कैलाली-१ लाई चुनावी क्षेत्र बनाएकी ईश्वरी न्यौपाने, खोरखा-१ बाट चुनाव लड्दै आएका चिनकाजी श्रेष्ठ र राजेन्द्र बजगाई पनि फागुन २१ को चुनावी मैदानभन्दा बाहिर छन्। उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा सहमहामन्त्री डा. डिला संग्रौला पनि उम्मेदवार बनेका छैनन्।
उपसभापतिद्वय शर्मा र भुसालले चुनाव नलड्ने घोषणा गरेका थिए भने संग्रौलाको चुनावी क्षेत्र तय हुन नसक्दा उम्मेदवार हुनबाट बन्चित भएकी हुन्। कांग्रेसमा यस पटक चुनाव नलड्ने तथा टिकट खोसिएका अधिकांश नेता देउवा पक्षका छन्।
Shares

प्रतिक्रिया