नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले आसन्न फागुन २१ मा हुने चुनाव नलड्ने घोषणा गरेका छन्।
कांग्रेसले कैलाली- ४ को टिकट दिएपनि बलायरले उम्मेदवारी नदिने निर्णयमा पुगेका हुन्।
आसन्न निर्वाचनमा शेरबहादुर देउवासहितका नेताहरुलाई मात्र वञ्चित गराउने गरी गरिएको निर्वाचनको कुनै अर्थ नभएको भन्दै आफू निर्वाचन नलड्ने निर्णयमा पुगेको बलायरले बताए।
देउवानिकट नेता बलायर २०७९ मा डोटीबाट कैलाली ४ मा झरेर एमालेका लेखराज भट्टलाई पराजित गरेका थिए। देउवा र रमेश लेखकलाई टिकट नदिएपछि बलायरले उम्मेदवारी फिर्ता गरेको बुझिएको छ।
कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि आसन्न चुनाव नलड्ने घोषणा गरिसकेका छन्।
कांग्रेसले देउवाको निर्वाचन क्षेत्र डडेलधुरामा युवा नेता नैनसिंह महरलाई टिकट दिएको छ भने लेखकको कञ्चनपुर-३ मा पूर्व जिल्ला सभापति हरि बोहरालाई टिकट दिएको छ ।
Shares

प्रतिक्रिया