आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापा काठमाडौँ–५ बाट निर्वाचनमा होमिने भएका छन्।
राप्रपाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ काठमाडौँ–५ मा थापालाई टिकट प्रदान गरेको हो। गृहजिल्लामा पटक/पटक हार व्यहोरेका थापा यसपटक जिल्लाबाट बाहिरिने भएका हुन्।
५ पटकसम्म चुनाव हारेका उनी जित्ने सम्भावनाको खोजीमा काठमाडौँ पस्ने निर्णयमा पुगेका हुन्।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका उनी पराजित भएका थिए। आफ्नै दल र चुनाव चिह्नमा विश्वास गुमाएका थापाले नेकपा एमालेसँगको गठबन्धनमा एमालेकै सूर्य चिह्न लिएर मतदाता माझ पुगेका थिए।
आफ्नै गृहजिल्लाका मतदाताले नपत्याएपछि थापाको संसदीय यात्रामा पटक-पटक ब्रेक लागिसकेको छ। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पनि उनले हार व्यहोरेका थिए।
थापालाई हराउँदै एमालेका कृष्ण प्रसाद दाहाल विजयी भएका थिए भने गत निर्वाचनमा राप्रपाका उम्मेदवार दीपक सिंहले थापालाई पराजित गरेका थिए।
पञ्चायतकालीन राजनीतिका हस्ति कमल थापाले बहुदलीय व्यवस्थायता मकवानपुरबाट ६ पटक चुनाव लडिसकेका छन्। जसमध्ये एक पटकमात्र उनले सफलता प्राप्त गरेका छन्। २०५१ को मध्यावधी निर्वाचनमा थापा विजयी भएका हुन्।
२०४८ सालको आम निर्वाचनमा मकवानपुर १ मा एमालेका कृष्ण प्रसाद दाहालले थापालाई करीब ५ हजार मतान्तरले पराजित गरेका थिए।
दाहालले १४ हजार १८४ मत पाउँदा थापा ९ हजार ८२५ मतका साथ दोस्रो भए। २०५१ को मध्यावधी निर्वाचनमा विजयी भए पनि त्यसपछिका निर्वाचनहरूमा भने थापा सधैँ पराजित भैरहने नेता हुन्।
२०५६ को आम निर्वाचनमा पनि थापा पराजित भए। २०६४ सालको संविधानसभा निर्वाचनमा मकवानपुर–३ बाट उम्मेदवार बनेका उनी त्यतिबेला पनि पराजित भए। सधैँ पराजित भैरहेपछि २०७० को संविधानसभा निर्वाचनमा उनी समानुपातिक उम्मेदवार बने।
समानुपातिकबाट सांसद बनेका उनले मन्त्रीको जिम्मवारी समेत निर्वाह गरे।
यता, ०७४ को प्रतिनिधिसभामा उनले मकवानपुर–१ मै फेरि उम्मेदवारी दिए। २०७४ को निर्वाचनमा पनि हार व्यहोरे। २०७९ को प्रतिनिधि सभा निर्वाचनमा एमालेको चुनाव चिह्न लिएर निर्वाचनमा होमिदा पनि उनी पराजित नै भए।
राप्रपाका उम्मेदवार दीपक सिंहले २७ हजार ८ सय १६ मत प्राप्त गरेर विजयी हुँदा एमालेको चिह्नबाट उम्मेदवार बनेका थापाले २५ हजार ४ सय २० मत प्राप्त गरेका थिए।
काठमाडौँ–५ मा राप्रपाका थापा सहित नेकपा एमालेका नेता ईश्वर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सस्मित पोखरेल, नेकपाका उम्मेदवार कल्पना शर्मा लगाएत उम्मेदवारहरू चुनावी मैदानमा उत्रने भएका हुन्।
नेपाली कांग्रेसले भने यस क्षेत्रका लागि उम्मेदवार टुंग्याएको छैन। २०७९ को निर्वाचनमा यस क्षेत्रमा कांग्रेसका प्रदीप पौडेल विजयी भएका थिए।
Shares

प्रतिक्रिया