निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्दा बाजागाजा र भीडभाडसहितको तडकभडक नगर्न राजनीतिक दल र उम्मेदवारहरूलाई सचेत गराएको छ। आयोगले निर्वाचन आचारसंहिताको बर्खिलाप हुने गरी गरिने कुनै पनि शक्ति प्रदर्शनलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएको हो।
सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी दर्ता प्रक्रियालाई सादगी र मर्यादित बनाउन आग्रह गरे। 'उम्मेदवारी मनोनयनका क्रममा बाजागाजासहित तडकभडक गर्ने प्रचलन देखिएको छ, जुन कानुन र आचारसंहिता दुवैले पूर्ण रूपमा निषेध गरेको विषय हो,' भण्डारीले भने, 'यसपटक आयोगले आचारसंहिता उल्लंघन गर्ने जोकोही विरुद्ध पनि कठोर निर्णय लिन खुट्टा कमाउने छैन।'
भण्डारीले निर्वाचनको स्वच्छता र निष्पक्षता मनोनयनको दिनदेखि नै झल्कनुपर्ने उल्लेख गर्दै उम्मेदवारहरूलाई निष्ठापूर्वक कानुनी परिधिभित्र रहेर मनोनयन पत्र दाखिल गर्न अपिल गरे। तडकभडक र खर्चिलो प्रदर्शनले निर्वाचनको आधारभूत मूल्य–मान्यतामै प्रहार गर्ने आयोगको बुझाइ छ।
आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोग प्रतिवद्ध रहेको दाबी गर्दै उनले निर्वाचनको विश्वसनीयतामा शंका नगर्न आग्रह गरे। 'हाम्रो निर्वाचन प्रणालीलाई टड्कारो रूपमा हेरिरहेका अन्तर्राष्ट्रिय समुदाय र आम मतदातामा सकारात्मक सन्देश दिनु हाम्रो दायित्व हो,' उनले थपे, 'त्यसैले आचारसंहितालाई पालना गरी निर्वाचनलाई उत्सवको रूपमा सफल पार्न सबै सरोकारवालाको सहयोग आवश्यक छ।'
आयोगले यसपटक आचारसंहिताको अनुगमनका लागि स्थानीय तहसम्मै संयन्त्र परिचालन गरेको र नियम उल्लंघन भए उम्मेदवारी खारेजीसम्मको कारबाही हुन सक्ने संकेत गरेको छ। उम्मेदवारी दर्ताका क्रममा हुन सक्ने सम्भावित आचारसंहिता उल्लंघनलाई रोक्न गृह मन्त्रालयमार्फत सुरक्षा निकायलाई समेत निर्देशन दिइसकिएको आयोग स्रोतले जनाएको छ।
यो पनि: भोलि उम्मेदवारी मनोनयन: यी हुन् उम्मेदवार बन्न चाहिने अनिवार्य कागजात
Shares

प्रतिक्रिया