काठमाडाैँस्थित अमेरिकी दूतावासले नेपाली युवाको प्राविधिक क्षमता प्रवर्द्धन गर्ने उद्देश्यले देशव्यापी ह्याकाथन ‘कोड फर इम्प्याक्ट’ सुरु गरेको छ। आद्यन्त अड्भाइजरी, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र आद्यन्त फन्ड म्यानेजमेन्टसँगको साझेदारीमा सुरु भएको यस कार्यक्रमले सातै प्रदेशका १ सय ७५ भन्दा बढी युवा नवप्रवर्तकलाई समेट्नेछ।
छ महिनासम्म चल्ने यो पहलअन्तर्गत विद्यार्थी, युवा पेसाकर्मी र उद्यमीहरूले स्थानीय चुनौतीका लागि प्रविधिमा आधारित समाधान खोज्नेछन्। कार्यक्रममा सघन प्रादेशिक ह्याकाथन, विशेषज्ञ मार्गदर्शन र उत्कृष्ट योजनाका लागि ‘बीज पुँजी’ (सिड फन्ड)को समेत व्यवस्था गरिएको छ।
दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले नेपाली युवाहरूको सिर्जनशीलता असाधारण रहेको उल्लेख गर्दै काठमाडौँ बाहिरका प्रतिभालाई प्रविधि र अवसरसँग जोड्न अमेरिकालाई गर्व लागेको बताए। 'यो पहलले नवप्रवर्तन र सीप विकासमार्फत नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई थप मजबुत बनाउनेछ,' हार्करले भने।
माघ ४ र ५ गते बुटवलबाट सुरु भएको यो शृङ्खला पोखरा, धनगढी, विराटनगर, जनकपुर र सुर्खेत हुँदै माघ २२ र २३ गते काठमाडौँमा समापन हुनेछ। सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र डिजिटल व्यापारका समस्या सम्बोधन गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मानव–केन्द्रित डिजाइनको प्रयोग गर्नेछन्।
कार्यक्रमका साझेदार एवं सेक्युरिटीपालका संस्थापक पुकार हमालले नेपालको प्राविधिक क्षमतालाई ‘सिलिकन पिक्स’ का रूपमा विश्वस्तरमा ब्रान्डिङ गर्न यस्ता अभ्यासले मद्दत पुग्ने विश्वास व्यक्त गरे। अमेरिकाको स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आयोजित यस कार्यक्रमले स्थानीय प्रतिभा र विश्वव्यापी स्रोतबीचको खाडल कम गर्ने लक्ष्य राखेको छ।
Shares

प्रतिक्रिया