नेपाली कांग्रेसमा आन्तरिक विवाद मिलाएर सिंगाे पार्टी चुनावमा हाेमिने वातावरण बनाउने प्रयास भइरहेको छ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वकाे कार्यसमितिलाई माघ २ गते निर्वाचन आयाेगले मान्यता दिएपछि सर्वाेच्च अदालत पुगेकाे शेरबहादुर देउवा पक्ष संवादमा पनि बसेकाे छ।
आइतबार राति सभापति थापा र देउवा समूहका नेता रमेश लेखकबिच संवाद भएको हो।
थापा समूहबाट नेताहरू रमेश धमला, सुवास पाेखरेल तथा बौद्धिक व्यक्तित्व गेजाशर्मा वाग्लेले पार्टी एकता कायम राख्न अनाैपचारिक संवाद गरिरहेका थिए।
सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मासँग देउवा पक्षबाट नेता पूर्णबहादुर खड्का, रमेश लेखक, मीन विश्वकर्मा र नैनसिंह महर पनि नियमित संवादमा थिए।
शेखर काेइराला समूहबाट मिनेन्द्र रिजाल, गाेविन्द पाेखरेल, सुनील शर्मासँग संवाद भएको थियाे।
आइतबार राति सभापति थापासँगकाे भेटपछि राति १२ बजे नेता लेखक पूर्वसभापति देउवा भेट्न महाराजगन्ज पुगेका थिए।
संवादमा सहभागी एक नेताले नेपालखबरसँग भने, ‘कुरा सहमतिनजिक छ। आज सबै विषय टुंग्याउने कुरा छ। मिलेरै जाने कुरा भएको छ।’
सभापति थापासँगकाे संवादमा सहमति हुने संकेत देखिएपछि देउवा र काेइराला पक्ष महाराजगन्जमा अहिले भेला हुँदै छन्।
देउवा निवास महाराजगन्जामा सामूहिक रूपमा छलफल गरेर फेरि सभापति थापा, उपसभापति शर्मा लगायतसँग संवादमा बस्ने देउवा-काेइराला समूह रणनीति छ।
काेइराला समूह सुरुदेखि नै निर्वाचनका पक्षमा उभिएकाे छ भने आइतबारकाे संवादपछि देउवा पक्ष पनि सकारात्मक देखिएको छ।
सभापति थापाले पनि पार्टीभित्रकाे विवाद मिलाउन संवाद जारी रहेकाे बताएका छन्।
साेमबार बिहान सामाजिक सञ्जालमार्फत उनले पार्टीमा सबैलाई मिलाएर जान संवाद भइरहेकाले टिकट वितरणमा ढिलाइ भएको बताएका छन्।
आज सबै विषय टुंग्याउने उनले उल्लेख गरेका छन्।
टिकट लिएर जाने पार्टीकाे उम्मेदवारका पक्षमा उभिन सभापति थापाले पार्टीका सबै नेता-कार्यकर्तालाई आग्रह पनि गरेका छन्।
Shares

प्रतिक्रिया