राजनीति


ओलीकै गढ भत्काउने रहर : बालेनले झापा–५ रोज्नुका ७ कारण

ओलीकै गढ भत्काउने रहर : बालेनले झापा–५ रोज्नुका ७ कारण

अनिल यादव
माघ ५, २०८२ सोमबार ८:१३, काठमाडौँ

चुनावी माहोलबीच अचेल गाउँ–शहरदेखि सामाजिक संजालका भित्तासम्म एउटै चर्चा छ– बालेनको ‘साहस’ कि ‘दुस्साहस’?

काठमाडौँ महानगरको नेतृत्व सम्हालेपछि सहरको हुलिया बदल्न र थिति बसाल्न कस्सिएका बालेन शाहप्रति यहाँका मतदाताको चाहना थियो— आगामी संसदीय निर्वाचनमा बालेन यहीँको रैथाने उम्मेदवार बनून्। त्यही बुझेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ–२ को चुनावी मैदान खाली राखिदियो। उता, मधेसको महोत्तरीमा पनि उत्तिकै हलचल थियो। आफ्नै थातथलो र नाता–सम्बन्धका कारण महोत्तरी–३ का मतदाताको आग्रह थियो– ‘यसपालि आफ्नै आँगनमा फर्किएर सिंहदरबारको यात्रा तय गर्नुस्।’

तर, बालेनको मनमा अर्कै ज्वारभाटा चलिरहेको छ। काठमाडौँको ‘सुरक्षित’ विरासत र महोत्तरीको भावनात्मक जगलाई थाती राखेर उनी झापा–५ जाँदैछन्। त्यो ‘रापिलो’ मैदान, जुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको किल्ला हो। 

रास्वपाका सभापति रवि लामिछानेदेखि अन्य नेता तथा कयौँ शुभेच्छुकले उनलाई ‘सेफ ल्यान्डिङ’का लागि काठमाडौँ नै रोज्न सुझाएका थिए। तर, बालेनले मानेनन्। जसले सहज बाटो रोज्न सुझाइरहेका छन्, सबैलाई उनी एउटा जवाफ फर्काउँछन्– प्रधानमन्त्रीको उम्मेदवार भएपछि अर्को प्रधानमन्त्रीकै दाबेदारलाई नहराई के–को प्रधानमन्त्री? केपी ओलीसँग नलडी जितेको चुनावमा त्यो स्वाद कहाँ?’

आखिर किन बालेनले झापा–५ नै रोजे? कतिपयलाई लाग्न सक्छ, यसमा बालेनको आवेग र अहंकार छ। तर बालेननिकट स्रोत र रास्वपाकै नेताहरु चाहिँ यसमा अहंकार होइन, बालेनको गहिरो राजनीतिक ‘इन्जिनियरिङ’ लुकेको दाबी गर्छन्। त्यसलाई विश्लेषण गर्दा बालेनले झापा ५ रोज्नु पछाडि सात वटा मुख्य आधारहरू देखिन्छन्ः 

१. गोप्य रिपोर्ट र ग्राउन्डको नाडी
रास्वपाले झापाका अन्य क्षेत्रका अरु उम्मेदवार तय गरेर ५ नम्बर क्षेत्र बालेनका लागि सुरक्षित राखेको छ। बालेन निकट श्रोतको दाबी छ– उनले झापा ५ बाट उठ्ने निर्णय भावनामा बगेर हचुवाको भरमा लिएका होइनन्। यो निर्णय लिनु केही साताअघि उनले आफ्नो एउटा अत्यन्तै विश्वासिलो र प्राविधिक टोलीलाई ‘लो प्रोफाइल’मा झापा पठाएका थिए। उक्त टोलीले झापा–५ का चिया पसलदेखि खेतका आलीसम्म, र सुकुम्बासी बस्तीदेखि मध्यमवर्गीय परिवारसम्म पुगेर जनमत संकलन गरेको थियो। 

बालेन निकटका एक नेता भन्छन्, ‘हाम्रो टोलीले त्यहाँका युवा, वर्षौँदेखि एउटै अनुहार हेर्न बाध्य मतदाता र तटस्थ बस्ने नागरिकको मनोविज्ञान अध्ययन गरेका थियौँ। हामीले के पायौँ भने त्यहाँका मानिसहरू ओलीको कामबाट आजित छन्, अझ जेनजी आन्दोलनपछि उनको इमेज झन् ड्यामेज भएको छ। उनीहरुले बालेनमा एउटा भरपर्दो विकल्प देखेका छन्।’

त्यति मात्र होइन, रास्वपाले पनि आन्तरिक रूपमा झापा–५ मा एउटा विस्तृत मत प्रक्षेपण गरेको थियो। त्यो रिपोर्ट अहिले पनि गोप्य नै राखिएको छ, तर त्यसको सार थियो– झापामा परम्परागत पार्टीको पकड खस्कँदैछ। ०७९ को निर्वाचनमा रास्वपाले त्यहाँ दोस्रो ठूलो समानुपातिक मत अर्थात् १८ हजार २०५ ल्याएको थियो। समानुपातिकतर्फ एमालेले ३५ हजार ८७२ मत ल्याएको थियो। 

‘बालेन नहुँदै रास्वपाले त्यत्रो समानुपातिक मत ल्याएको थियो। यसपटक त बालेन छन्, सहजै जितिन्छ भन्ने हाम्रो आन्तरिक अध्ययनले देखाएको छ,’ रास्वपाका एक नेता दाबी गर्छन्। 

०७९ को निर्वाचनमा ओलीले ५२ हजार ३१९ मतसहित विजय हासिल गरेका थिए। त्यतिबेला कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ र रास्वपाका सुरेशकुमार पोखरेलले ११ हजार ७५९ मत पाएका थिए। यसपटक झापा ५ मा कुल एक लाख ६३ हजार ३७९ मतदाता छन्। तीमध्ये नौ हजार ९० नयाँ मतदाता थपिएका छन्। ती युवा मतदाता पनि बालेनकै पक्षमा देखिने उनीहरुको आकलन छ। सर्वेक्षणले देखाएको बालेनको क्रेज र जित्न सक्ने उच्च सम्भावनाकै कारण उनी झापा–५ रोज्न तयार भएको देखिन्छ। 

२. ‘प्रधानमन्त्री’ भर्सेस ‘प्रधानमन्त्री’
बालेनको उम्मेदवारीको सबैभन्दा बलियो जग ‘प्रधानमन्त्रीको दाबेदारी’ हो। नेपाली राजनीतिमा अक्सर शीर्ष नेताहरू सुरक्षित क्षेत्र खोज्छन् ताकि चुनाव हार्ने डर नहोस् र देशभर चुनावी कमान्ड गर्न सजिलो होस्। तर बालेनले यो परम्परागत ‘सिन्डिकेट’ तोड्न चाहेका छन्। बालेनले आफ्नो टिमसँग स्पष्ट भनिरहेका छन्— यदि म देश हाँक्ने सपना देख्छु भने सबैभन्दा ठूलो चुनौतीसँगै भिड्नुपर्छ।

ओलीसँगको भिडन्तलाई उनले आफ्नो राजनीतिक वैधानिकताको कसी मानेका छन्। 

‘एउटा भावी प्रधानमन्त्रीले अर्को पूर्वप्रधानमन्त्रीको किल्लामा गएर सामना गर्नु भनेको नयाँ पुस्ता अब कुरामा मात्र होइन, मैदानमै आमने–सामने हुन तयार छ भन्ने सन्देश दिनु हो। यसले बालेनलाई सांसदको उम्मेदवार मात्रै बनाउँदैन, सिधै राष्ट्रिय कदको नेतामा बढुवा गरिदिन्छ, त्यही कारण पनि उनले यो चुनौती लिएका हो,’ बालेननिकट नेता भन्छन्। 

३. ‘जायन्ट किलर’ बन्ने दाउ
राजनीतिक इतिहासमा जसले स्थापित ‘स्तम्भ’ ढाल्छ, उसकै युग सुरु हुन्छ। बालेन टिमको विश्लेषण छ– उनले काठमाडौँ वा महोत्तरीमा जित्नु ‘सोचेकै कुरा’ वा ‘सहज विजय’ हुनसक्थ्यो तर झापा–५ मा ओलीलाई चुनौती दिनु भनेको विश्वकै ध्यान खिच्ने राजनीतिक घटनाक्रम हुनेछ। बालेनले बुझेका छन्– ओली जस्तो प्रभावशाली नेतालाई उनकै गढमा हम्मेहम्मे पार्नु वा पराजित गर्नुको अर्थ हुन्छ– देशैभरिका पुराना दलको मनोवैज्ञानिक हार।
 
‘यदि उनले झापामा ओलीलाई हराए भने त्यो नेपाली राजनीतिका लागि सन् १९९० को बर्लिनको पर्खाल ढलेजस्तै एउटा ठूलो क्रमभंग हुनेछ,’ बालेननिकट ती नेता भन्छन्, ‘बालेन यो ‘जायन्ट किलर’को ट्याग भिरेर नेपाली राजनीतिको नयाँ र आधुनिक अध्याय सुरु गर्न चाहन्छन्, जहाँ विरासतभन्दा पनि वर्तमानको कर्मको मूल्यांकन होस्।’

४. रास्वपासँगको ‘रणनीतिक’ र सांगठनिक गठजोड
बालेनले झापा रोज्नुमा रास्वपाका सभापति रवि लामिछानेसँगको भित्री तालमेल र सांगठनिक सहयोगको ठूलो हात छ। 

रास्वपाका एक उच्च तहका नेता भन्छन्, ‘हामीले काठमाडौँका केही क्षेत्र बालेनका लागि सुरक्षित राखेका थियौँ, तर जब उनले झापा जाने इच्छा देखाए, हामीले हाम्रो संगठनको सम्पूर्ण बल त्यहाँ केन्द्रित गर्ने वचन दियौँ।’

झापा–५ मा रास्वपाको सांगठनिक जालो विस्तारै बलियो बन्दै गएको छ। गत निर्वाचनको मत परिणामले पनि त्यहाँ वैकल्पिक शक्तिको राम्रो प्रभाव देखाएको थियो। रास्वपाको त्यो संगठित मत र बालेनको व्यक्तिगत क्रेज मिसिँदा ओलीको ‘भोट बैंक’ मा ठूलो पहिरो जान सक्ने उनको भनाइ छ। यो सहकार्यले बालेनलाई एक्लो महसुस हुन दिएको छैन।

५. गफ भर्सेस डेलिभरी
केपी ओली आफ्नो वाक्पटुता, उखानटुक्का र पानीजहाजदेखि ग्यास पाइपलाइनसम्मका ‘सपना’का लागि प्रख्यात छन्। बालेनले यसलाई आफ्नो सबैभन्दा ठूलो अवसरका रूपमा लिएका छन्। बालेन तर्फबाट रास्वपाको केन्द्रीय सदस्य बनेका एक नेताले झापाका मतदातामाझ उनी एउटै धारिलो प्रश्न लिएर जाँदैछन्– ‘तपाईंहरूलाई वर्षौँसम्म उखानटुक्काको रेल चाहियो कि देखिने काम र सुशासन?’

उनले झापा–५ का सुकुम्बासी समस्या, नदी कटान र अधुरा भौतिक पूर्वाधारका समस्यालाई आफ्नो ‘इन्जिनियरिङ’ र प्रशासनिक अनुभवसँग जोडेर प्रस्तुत गर्ने योजना बुनेका छन्। 

‘ओलीले सपना बेच्नुभयो, बालेनले परिणाम देखाउनुहुन्छ,’ ती नेता भन्छन्।

यो ‘गफ भर्सेस काम’को न्यारेटिभले झापाका सचेत मतदातालाई आकर्षित गर्ने बालेन टिमको विश्वास छ। 

६. जात र भूगोलभन्दा माथिको राजनीति
बालेनको पुर्ख्यौली जरो मधेसस्थित महोत्तरीमा छ, कर्मथलो पहाड (काठमाडौँ) बन्यो र अब उनी पूर्वको झापा जाँदैछन्। यसलाई बालेनले आफ्नो व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि ‘राष्ट्रिय एकता’को बलियो कडीका रूपमा व्याख्या गरेका छन्। मधेसी मूलको एउटा युवाले झापामा आएर सबैभन्दा शक्तिशाली पहाडी मूलको नेतासँग भिड्नुले नेपालको जातीय र क्षेत्रीय संकीर्णताको राजनीतिलाई जरैदेखि हल्लाउने उनको विश्वास छ।

‘बालेनले झापा रोजेर आफूलाई सिंगो नेपालको साझा नेताका रूपमा प्रमाणित गर्न खोजेका हुन्,’ बालेनको चुनावी रणनीतिमा संलग्न एक सदस्यले भने, ‘यसले पहाड र मधेसबीचको भावनात्मक दूरी कम गर्ने र बालेनलाई एक सर्वस्वीकार्य राष्ट्रिय नेताको छवि प्रदान गर्ने आधार तय गरेको छ।’

७. ‘हाइ रिस्क, हाइ रिवार्ड’
बालेनले बुझेका छन्, इतिहास रच्नेहरूले सधैँ जोखिम नै रोज्छन्। झापा–५ मा हार्दा पनि उनी राजनीतिक रूपमा कमजोर हुने छैनन् भन्ने आकलन बालेनको छ। एउटा शक्तिशाली सत्तापक्ष र दिग्गज नेतासँग एक्लै भिड्न जाने आँटले नै उनलाई देशभरिका युवाहरूको निर्विकल्प ‘आइकन’ बनाउनेछ।

पराजित हुँदा पनि उनलाई हार स्वीकार गर्ने साहसी योद्धाको सम्मान मिल्नेछ, जसले उनलाई आगामी वर्षहरूका लागि झनै बलियो बनाउनेछ। तर, यदि संयोगवश उनले जिते भने? त्यो जितले उनलाई सिधै देशको कार्यकारी प्रमुख बन्ने वैधानिकता र जनमत प्रदान गर्नेछ। यही ‘विजेता’ मानसिकता र ‘क्याल्कुलेटेड रिस्क’को योगफल नै बालेनको झापा–५ को यात्रा भएको उनी निकटहरुको दाबी छ।

‘झापा–५ को मैदानमा बालेन शाहको उम्मेदवारी एउटा सिटका लागि मात्र होइन, यो स्थापित राजनीतिक सत्ताको ‘अहंकार’ विरुद्धको एउटा ठूलो विद्रोह हो,’ रास्वपाका ती नेता भन्छन्, ‘रास्वपाको आन्तरिक सर्वेक्षण र बालेनको आफ्नै टोलीको सूक्ष्म अध्ययनले दिएको ‘ग्रिन सिग्नल’पछि मात्र उनले यो साहसी कदम चाल्दैछन्। काठमाडौँको माया र महोत्तरीको सामीप्यलाई त्यागेर झापाको कठिन यात्रा रोजेर बालेनले एउटै सन्देश दिनुभएको छ— यदि तिमी साँच्चै केही बदल्न चाहन्छौ भने शक्ति केन्द्रकै छातीमा उभिएर चुनौती दिन तयार हुनुपर्छ।’

अब झापाले फैसला गर्नेछ— बालेनको यो ‘पासा’ सफल हुन्छ वा ओलीको ‘किल्ला’ अझै अजेय रहन्छ। तर एउटा कुरा पक्का छ, यो चुनावी लडाइँले नेपाली राजनीतिको इतिहासमा एउटा नयाँ र अमिट रेखा कोर्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad