राजनीति


स्थानहद फुकुवापछि ओलीको पहिलो झापा आगमन: भाषण नगर्ने, पाँचवटै क्षेत्रमा पुग्ने

स्थानहद फुकुवापछि ओलीको पहिलो झापा आगमन: भाषण नगर्ने, पाँचवटै क्षेत्रमा पुग्ने

नेपालखबर
माघ ४, २०८२ आइतबार २०:१८, विराटनगर

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ओली सोमबार मध्यान्ह भद्रपुर हुँदै दमक आउँदै छन्। ११ बजे चन्द्रगढी विमानस्थलमा अवतरण गरेर कार्यकर्ताको स्वागत र्‍यालीसहित आफ्नो निर्वाचन क्षेत्रमा जाने कार्यक्रम रहेको नेकपा एमाले झापाले जनाएको छ। 

स्वागत र्‍याली सहित ओलीलाई कार्यकर्ताले निर्वाचन क्षेत्रमा लग्ने कार्यक्रम रहेको छ। भोलि ५ वटा निर्वाचन क्षेत्र हेर्दै क्षेत्र नम्बर ५ स्थित दमक जाने रुट बनाइएको एमाले झापाका अध्यक्ष प्रेम गिरीले जानकारी दिए।

यो रुट अन्तरगत भद्रपुरबाट चारआली, बिर्तामोड, कन्काई, शिवसत्ताक्षी, कमल हुँदै दमक पुग्ने रहेको छ। कमल गाउँपालिका र दमक नगरपालिका क्षेत्र नम्बर ५ मा नै पर्छन्।

भोलिदेखि आचारसंहिता लाग्ने भएका कारण कुनै भाषण गर्ने कार्यक्रम भने नरहेको एमाले झापाका सचिव तुलसी कार्कीले नेपालखबरलाई बताए। उनले भोलिदेखि केही दिन निर्वाचन क्षेत्रमा नै बिताउने कार्यक्रम रहेको छ  

अघिल्लो वर्षको राजनीतिक आन्दोलन (जेन्जी मुभमेन्ट) का क्रममा दमकस्थित ओली बस्दै आएको आवासमा क्षति पुगेपछि यस पटक चुनावी गतिविधिका लागि आवास व्यवस्थापन गर्न पार्टीले विभिन्न घरहरू खोजी गरिरहेको छ। भोलि झापा आउने ओली सोमबार नै होटलमा बस्ने व्यवस्था मिलाइएको एमाले झापाले जनाएको छ। 

जेनजी आन्दोलनपछि ओली पहिलो पटक झापा आउन लागेका हुन्। पुस २१ गते उनको स्थानहद फुकुवा भएको थियो। 

माघ ६ गते मनोनयन दर्ताको तालिका रहेकाले निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै सीमित व्यक्तिको उपस्थितिमा मनोनयन गर्ने र त्यसपछि मात्र चुनावी रणनीतिक योजनाहरू निर्माण गरिने एमाले झापाले जनाएको छ।

चुनावी कमान्डका लागि घर खोजिँदै
एमाले अध्यक्ष ओलीको आवास र चुनावी गतिविधिको लागि अहिले आवास तथा घरहरू खोज्ने कामहरू भइरहेको छ। जिल्लाका कुनै भरपर्दो र सक्रिय कार्यकर्ताको घरमा बस्ने बारे छलफल भइरहेको जिल्ला सचिव कार्कीले बताए।

चुनावी गतिविधिको केन्द्र बनाउन सहज हुने खालको घरहरू हेर्ने काम भइरहेकोले भोलि साँझसम्ममा टुङ्गो लाग्ने उनले बताए। उनलाई अहिले दमक नगरपालिका वडा नं. २ मा कार्यकर्ताहरूको घरलाई प्रयोग गर्न सकिने गरी खोज्ने काम भइरहेको छ। 

२०७९ को निर्वाचनमा भारी मतान्तरले विजयी भएका ओलीका लागि यस पटक थपिएका ९ हजार ९० नयाँ मतदाता र बदलिएको राजनीतिक परिस्थितिबिच चुनावी अभियान चुनौतीपूर्ण र रोचक हुने आकलन गरिएको छ। सो क्षेत्रबाट ओलीले २०४८ देखि ०७९ सम्म ६ पटक चुनाव लडिसकेका छन्।

२०६४ बाहेक उनी सो क्षेत्रमा पराजित भएका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad