राजनीति


देउवा निकट मीन विश्वकर्माले भने: हामी मिलौँ

देउवा निकट मीन विश्वकर्माले भने: हामी मिलौँ

नेपालखबर
माघ ४, २०८२ आइतबार २०:४०, काठमाडौँ

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले घेराबन्दीबाट बाहिर निस्केर मिलनविन्दु खोज्न नेताहरूलाई सुझाव दिएका छन्।

पूर्वसभापति शेरबहादुर देउवा निकट प्रचार विभाग प्रमुखसमेत रहेका नेता विश्वकर्माले आगामी फागुन २१ गतेको निर्वाचन नै कांग्रेसका लागि मिलनविन्दु हुन सक्ने औँल्याएका छन्। 

सामाजिक सञ्जालमार्फत उनले देउवासहित पूर्णबहादुर खड्का, शेखर कोइराला, गगन थापालगायतलाई सम्वादमा बस्न अपील पनि गरेका छन्। 

‘हिजो भाद्र २४ को उपचार फागुन २१ को निर्वाचन हुन सक्छ भने जस्तै हाम्रो झगडाको मिलन पनि यही निर्वाचनले गराउन सक्छ’ उनले भनेका छन्, ‘हिजो उम्मेदवारको टिकटमा कस्को हस्ताक्षर हुने भन्ने विवाद थियो। आधामा देउवाले गर्नु भयो। बाँकीमा अब गगनले गर्नु हुन्छ। सबैको सहमतिमा उम्मेद्वार चयन गरौँ। उत्साहका साथ निर्वाचनमा कांग्रेसी उम्मेद्वारको पक्षमा भोट माग्ने वातावरण बनाऔँ। यसका लागि देउवा, गगन, पूर्णबहादुर, शेखर एकठाउँमा अहिलै बस्नुस्। घेराबन्दीबाट बाहिर आउनुहोस् र निर्णय गर्नुहोस्।’

उनले हिजो टिकटमा हस्ताक्षर कसले गर्ने भन्ने विवाद रहेकोमा आधा (समानुपातिक) मा देउवाले हस्ताक्षर गरिसकेको अवस्थामा आधा (प्रत्यक्ष) मा गगनले हस्ताक्षर गर्ने भन्दै अब त्यो विवादको विषय हुन नहुने बताएका छन्।

उनले विशेष महाधिवेशनको प्रक्रिया, निर्वाचन आयोगको भूमिका र अदालतको निष्क्रियतासँग आफ्नो पनि विमति रहेको भन्दै लेखेका छन्, ‘यसकाबारेमा आयोग र अदालतमा हाम्रा विमतिहरू दर्ज भएर विचाराधीन छन्। तर प्रक्रियामा काफी विमतिका बाबजुद पनि फागुन २१ को निर्वाचनको परिणामलाई मध्यनजर गरी हाम्रा बिचमा ऐतिहासिक सहमति र एकता हुनु अपरिहार्य छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad