राजनीति


धरानका मेयर हर्क साम्पाङले दिए राजीनामा, वडाध्यक्षसँग हुनेछ प्रतिस्पर्धा

धरानका मेयर हर्क साम्पाङले दिए राजीनामा, वडाध्यक्षसँग हुनेछ प्रतिस्पर्धा

नेपालखबर
माघ ४, २०८२ आइतबार १९:१७, काठमाडौँ

आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने उद्देश्यसहित धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन्। आइतबार बसेको नगर कार्यपालिकाको बैठकमा उनले उपप्रमुख अइन्द्रबिक्रम बेघासमक्ष राजीनामा बुझाएका हुन्।

स्वतन्त्र अभियानमार्फत चर्चित भई गत स्थानीय तह निर्वाचनमा मेयर निर्वाचित भएका साम्पाङ पछिल्लो समय 'श्रम संस्कृति पार्टी' गठन गरी त्यसको अध्यक्ष बनेका थिए। उनले अब सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ निर्वाचन लड्ने घोषणा गरेका छन्।

निर्वाचन आयोगको कानुनी प्रावधानअनुसार बहालवाला जनप्रतिनिधिले उम्मेदवारी दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने व्यवस्था भएपछि उनले कार्यकाल बाँकी छँदै पद त्याग गरेका हुन्।

कार्यपालिका बैठकमा संक्षिप्त सम्बोधन गर्दै साम्पाङले स्थानीय तहमा आफूले सुरु गरेका श्रम संस्कृतिका अभियानहरूलाई राष्ट्रिय स्तरमा पुर्‍याउन संघीय संसद्‌मा जानु आवश्यक रहेको बताए। 'धरानको विकासका लागि मैले सकेको पहल गरेँ, अब मुलुककै नीति निर्माण तहमा पुगेर योगदान दिन चाहन्छु,' उनले भने।

हर्क सामपाङसँगै धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि आइतबारै आफ्नो पदबाट राजीनामा दिएका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उनलाइ क्षेत्र नं. १ बाटै प्रतिनिधिसभाको उम्मेदवार सिफारिस गरेपछि साम्पाङमार्फत राजीनामा बुझाएका हुन्। एउटै निर्वाचन क्षेत्रमा मेयर र वडाध्यक्षबीचको हुने प्रतिस्पर्धा रोचक हुनेछ।

भट्टराई २०७४ को पहिलो स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) बाट वडा नम्बर १७ को अध्यक्षमा निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा पनि उनी लोकप्रिय मतका साथ सोही वडामा दोहोरिएका थिए ।

आमनेसामने भाइरल उम्मेदवार
वडाध्यक्ष भट्टराई र मेयर साम्पाङ दुवै सामाजिक सञ्जालमा चर्चित छन्। नगर प्रवक्ताको भूमिका रहेका भट्टराईको मेयर साम्पाङसँगको सम्बन्ध कहिल्यै सहज भएन। कार्यपालिका बैठकमा प्रस्तुत हुने एजेन्डाहरूमा उनीहरूबीच हुने चर्काचर्की सामाजिक सञ्जालमा छरपस्ट हुने गर्थे। साम्पाङका समर्थकले भट्टराईलाई र भट्टराईका समर्थकले साम्पाङलाई 'ट्रोल' बनाउने गर्थे।

पछिल्लो समय भट्टराईले पनि प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी निश्चित भएको दाबी गरेका थिए । एकले अर्कालाई 'खोले मेयर' र 'गुइठे वडाध्यक्ष' भन्दै सामाजिक सञ्जालमा लगाइने आरोप-प्रत्यारोपले धरानको चुनावी चर्चा सधैं उत्कर्षमा रहने गरेको थियो ।

करिब डेढ महिनाअघि पालिका बैठकमै भट्टराईले साम्पाङलाई पदबाट राजीनामा दिएर आफूसँग चुनाव लड्न चुनौती दिएका थिए। त्यसबेला उनले मेयर पदकै लागि चुनाव लडेर साम्पाङलाई पराजित गर्ने दाबीसमेत गरेका थिए। एकले अर्कालाई 'खोले मेयर' र 'गुइठे वडाध्यक्ष' भन्दै सामाजिक सञ्जालमा लगाइने आरोप-प्रत्यारोप हेरेर फेसबुक प्रयोगकर्ताले रमाइलो मान्ने गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad