राजनीति


चुनाव जित्न उम्मेदवार चयनमा नेकपाको यस्तो रणनीति: कहाँ कसको उम्मेदवारी?

चुनाव जित्न उम्मेदवार चयनमा नेकपाको यस्तो रणनीति: कहाँ कसको उम्मेदवारी?

सागर न्यौपाने
माघ ३, २०८२ शनिबार १८:३४, काठमाडौँ

दर्जनभन्दा बढी वाम दल र घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आउने फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा निर्वाचनमा सकेसम्म बढी सिट जित्ने योजनाका साथ उम्मेदवार चयन गरिरहेको छ। 

यस क्रममा उसले जेनजी विद्रोहपछि परिवर्तित राजनीतिक परिस्थितिलाई ध्यान दिँदै युवालाई अवसर दिनेदेखि शीर्ष नेताको निर्वाचन क्षेत्र परिवर्तनसम्मको रणनीति अपनाएको छ। सुरक्षित लागेका क्षेत्रमा भने नेकपाले पुरानै नेता दोहोर्‍याउने निर्णय पनि गरेको छ। 

पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता झलनाथ खनाल र नेता नारायणकाजी श्रेष्ठ नयाँ क्षेत्रबाट चुनाव लड्दै छन् भने सहसंयोजक माधवकुमार नेपाल तथा नेताहरू वामदेव गौतम र भीम रावललाई भने नेकपाले पुरानै क्षेत्रबाट उठाउँदै छ। 

दुई हजार ४ सय ९९ सदस्यीय जम्बो केन्द्रीय समिति बनाएको नेकपाले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार चयन गर्दै छ।

टिकट पाउने निश्चित भइसकेका नेकपा नेताहरूले त आफ्ना क्षेत्रमा चुनावी अभियानसमेत थालिसकेका छन्।

जेनजी आन्दोलनपछि पहिलोपटक हुन लागेको संसदीय निर्वाचन भएकाले यो विगतका भन्दा चुनौतीपूर्ण हुने विश्लेषण गर्दै नेकपाले उम्मेदवार चयनमा निकै सजगता अपनाइरहेको नेता राजेन्द्र पाण्डे बताउँछन्।

उनका भनाइमा ‘चुनावमा शीर्ष नेताहरूलाई जिताएर नयाँ पुस्तालाई उदय गराउने रणनीति नेकपाले बनाएको छ।’

यसै क्रममा पार्टी संयोजक प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गरेका छन्।

नेपाली राजनीतिमा आफूलाई ‘डाइनामिक लिडर’ बताउने उनले यसअघि चुनाव लडेको गोरखा-२ छाडेर यसपटक जनयुद्धको उद्‌गमस्थल रुकुमपूर्व रोजेका हुन्। जित सुरक्षित गर्ने उद्देश्यले प्रचण्ड जनयुद्धकालीन आधार इलाका पुगेका हुन्।

२०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा रोल्पा र काठमाडौँ-१० दुवै क्षेत्रमा विजयी प्रचण्ड २०७० को दोस्रो संविधान सभा चुनावमा सिराहा-५ पुगेका थिए।

त्यसपछि २०७४ को प्रतिनिधि सभा निर्वाचनमा फेरि निर्वाचन क्षेत्र परिवर्तन गर्दै उनी चितवन-३ बाट उठे र जित पनि हासिल गरे। 

२०७९ मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा प्रचण्डले तेस्रोपटक क्षेत्र परिवर्तन गर्दै जनयुद्धकालका सहयोद्धासमेत रहेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको निर्वाचन क्षेत्र गोरखा-२ गएर जिते। 

अब यसपटक उनी रुकुमपूर्वबाट चुनाव लड्ने भएका हुन्। 

‘गणतन्त्र र संघीयताका मुख्य संवाहक प्रचण्ड देशको यो ऐतिहासिक जटिल परिस्थितिमा हुन लागेको चुनाव पनि सजिलै जित्न चाहन्छन्,’ उनी निकट नेकपाका एक नेताले भने, ‘साथै पार्टीलाई जिताउन रणनीति बनाइरहेका छन्।’ 

नेकपाका सहसंयोजक रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भने यसपटक पनि आफ्नो परम्परागत गढ रौतहट क्षेत्र नम्बर १ नै सुरक्षित ठानेका छन्।

एक/एकपटक प्रधानमन्त्री र पार्टी प्रमुख भइसकेका नेपाल फरक परिस्थितिमा पनि त्यही क्षेत्रबाट चुनाव लड्दै छन्।

नेकपा एमाले छाडेपछि केही समय दलगत राजनीतिबाट टाढा रहेर हालै मात्र नेकपा भित्रिएका भीम रावल पनि अछाम-१ बाट प्रतिनिधि सभामा पुनरागमन गर्ने प्रयासमा छन्।

उनलाई सुदूरपश्चिम प्रदेशको राजनीतिमा प्रभावशाली नेता मानिन्छ।

अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीविरुद्ध वैचारिक संघर्ष गरेका कारण एमालेले निष्कासन गरेपछि रावल ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गरेर बसेका थिए।

जब गत कात्तिकमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायत वाम दलहरू एकत्रित गर्दै नेकपा घोषणा गरियो, तब कात्तिक २६ गते उनी यो पार्टीमा आबद्ध भएका हुन्। 

गृहमन्त्री र रक्षामन्त्री बनिसकेका रावलको उम्मेदवारीले सुदूरपश्चिममा नेकपालाई बलियो बनाएको यसका नेताहरू दाबी गर्छन्।

यस्तै नेकपाका अर्का नेता भानुभक्त जोशी पनि सुदूरपश्चिम प्रदेशकै बझाङबाट चुनाव लड्ने निश्चितजस्तै छ। गत चुनावमा पनि उनी त्यही क्षेत्रबाट निर्वाचित सांसद हुन्।

नेकपाका अर्का प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ मधेस झरेका छन्।

राष्ट्रिय सभाका सदस्य रहेका उनी कार्यकाल सकिएपछि फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही-३ बाट उठ्ने भएका हुन्। जहाँ पार्टीले उनलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। 

यस्तै पार्टीका अर्का शीर्ष नेता महिन्द्रराय यादव पनि सर्लाहीकै क्षेत्र नम्बर-२ बाट चुनाव लड्दै छन्। जुन क्षेत्रबाट उनी गत चुनावमा पनि सांसद पदमा विजयी भएका थिए।

धादिङ-१ को उम्मेदवार चयनमा भने नेकपालाई सकस परिरहेको छ।

त्यस क्षेत्रमा पाँचपटक चुनाव जितिसकेका र मुख्यमन्त्रीसमेत बनिसकेका राजेन्द्र पाण्डे र मन्त्री गंगालाल तुलाधरले दाबी गर्दा नेकपालाई उम्मेदवार टुंगो लगाउन गाह्रो भइरहेको हो।

नेकपाका अर्का प्रभावशाली नेता हुन्- वर्षमान पुन। जो यसपालि पनि दुईपटक विजयी भएको क्षेत्र रोल्पाबाटै चुनाव लड्दै छन्। 

यसैगरी पाल्पामा सोमप्रसाद पाण्डे र गुल्मी क्षेत्र नम्बर १ मा सुदर्शन बरालले टिकट पाउने नेकपा नेताहरूको भनाइ छ।

कोही पहिलोपटक, कोही स्थानीय र प्रदेश छाडेर प्रतिनिधि सभा चुनाव लड्दै 
यसपटक नेकपाले बौद्धिक र विद्रोही छवि बनाएका युवा अनुहारलाई पनि प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बनाउँदै छ।

जसमा स्थानीय सरकार प्रमुख भएर काम गरेको अनुभव भएका युवा पनि छन्। त्यस्ता नेतालाई टिकट दिन प्रचण्ड-माधव लचक देखिएका छन्।

नेकपाले अघि सारेका युवामध्ये एक हुन्- लेखनाथ न्यौपाने, जो पहिलोपटक प्रतिनिधि सभा निर्वाचन लड्दै छन्।

उनी पार्टी संयोजक प्रचण्डले छाडेको गोरखा-२ बाट उठ्ने निश्चितजस्तै भएको नेताहरू बताउँछन्।

तत्कालीन नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएलका इन्चार्ज रहेका रामप्रसाद सापकोटा पनि पहिलोपटक चुनाव लड्ने अर्का युवा हुन्। उनलाई नेकपाले भक्तपुर-२ का लागि टिकट दिने भएको छ।

यस्तै नेकपाका अर्का युवा नेता रमेश मल्ल सल्यानबाट चुनाव लड्ने योजनामा छन्। तर त्यस क्षेत्रमा नेता प्रकाश ज्वालाले दाबी गरिरहेकाले टिकटका लागि मल्लले लबिइङ गरिरहेका छन्।

स्थानीय तहबाट यसपटक सिंहदरबार ताक्ने नेकपाकी अर्का चर्चित नेता हुन्- भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल।

उनी आफ्नो महानगरपालिका रहेकै चितवन जिल्लाको क्षेत्र नम्बर-३ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने भएकी हुन्। उक्त क्षेत्रबाट नेकपाले उनको मात्र नाम सिफारिस गरेको छ।

२०७० मा काठमाडौँ क्षेत्र नम्बर १ बाट चुनाव हारेपछि रेनु गृहजिल्ला फर्किएर स्थानीय सरकारमा केन्द्रित भएकी थिइन्। 

२०७४ र २०७९ मा लगातार स्थानीय तहको चुनाव जितेर भरतपुर महानगरपालिकाको मेयर बन्न सफल उनी कार्यकाल बाँकी छँदै अब प्रतिनिधि सभामा प्रवेश गर्न निर्वाचनमा होमिने भएकी हुन्।

उता मकवानपुर क्षेत्र नम्बर १ का लागि युवा नेता विजय गौतमले टिकट पाउने निश्चित भएको नेताहरूले बताएका छन्।

उक्त क्षेत्रबाट उम्मेदवार सिफारिस भएका नेता विरोध खतिवडाले चुनाव नलड्ने घोषणा गरेकाले त्यहाँ गौतमले अवसर पाउने भएका हुन्। 

नेकपाले अर्का युवा नेता रञ्जित तामाङलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा-५ मा उठाउने भएको छ।

तत्कालीन माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तामाङलाई प्रचण्डले आजै आफ्नो निवास हात्तीवन बोलाएर टिकट दिइसकेका छन्। 

झापा-५ मा चर्चित मेयर बालेन्द्र शाह (बालेन) पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लड्दै छन्। 

नेकपाले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा माधव सापकोटालाई दोहोर्‍याउने भएको छ भने काठमाडौँ क्षेत्र नम्बर १० मा पञ्चलाल महर्जनलाई उम्मेदवार बनाउने भएको छ।

उम्मेदवारका लागि महर्जनको नाम मात्र सिफारिस भएकोले उनले टिकट पाउने निश्चित रहेको नेकपाका नेता राजेन्द्र श्रेष्ठले बताए।

यसबाहेक पार्टी एकता प्रक्रिया जारी रहेकाले अन्य क्षेत्रका उम्मेदवारका विषयमा भने निर्णय गर्न बाँकी रहेको नेकपाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad