राजनीति


देउवा समूह गगन नेतृत्वको कांग्रेसमा नजाने, अदालत-आन्दोलनमा जाने

देउवाले १ बजे नै थाहा पाए- आयोगले थापालाई वैधानिकता दिँदै छ, अनि फर्काए खड्का टोलीलाई सानेपाबाट कान्तिपथ
देउवा समूह गगन नेतृत्वको कांग्रेसमा नजाने, अदालत-आन्दोलनमा जाने

लोकेन्द्र भट्ट
माघ ३, २०८२ शनिबार ०:१९, काठमाडौँ

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक संघर्षको मैदानमा निस्कने भएको छ।

पुस २७ देखि ३० मा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले शुक्रबार वैधानिक मान्यता दिएपछि राति बसेको देउवा समूहका शीर्षनेताको बैठकले संघर्षमा उत्रिने निष्कर्ष निकालेको हो।

शुक्रबार राति देउवा निवास महारागञ्जमा बसेको नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, बालकृष्ण खाण, एनपी साउद, प्रकाशशरण महत, दीपक खड्कालगायतको बैठकले देशभर आन्दोलनका कार्यक्रम घोषण गरेर जाने निष्कर्ष निकालेको एक नेताले नेपालखबरलाई जानकारी दिए।

उनले भने, ‘आज हामीले कानुनी र राजनीतिक संघर्ष गर्ने निष्कर्ष निकालेका छौँ। शनिबार केन्द्रीय कार्यसमितिको बैठकले संघर्षका कार्यक्रम घोषण गर्छ। शनिबारदेखि नै सडकमा उत्रिन्छौँ। आइतबार अदालत पनि जान्छौँ। सभापति देउवाको आदेश यही छ।’

नेताहरूले तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई फोन गरेर आन्दोलनका लागि तयारी गर्न निर्देशन दिइसकेको बुझिएको छ।

निर्वाचन आयोगले थापालाई वैधानिकता दिएर आफूहरूलाई अफ्ठ्यारो पार्ने काम गरेको भन्दै आगामी फागुन २१ को निर्वाचन हुन नदिने रणनीति देउवा पक्षले बनाएको छ। ती नेताले भने, ‘पार्टी देशी विदेशी शक्तिको षड्यन्त्रको शिकार भयो। सरकारले गगन थापाहरूलाई वैधता दिन निर्वाचन आयोगका आयुक्तलाई दबाब दिएको जानकारी हामीलाई आएको छ। यसको खिलापमा उभिन्छौँ।’

अदालतले पनि थापा नेतृत्वको नेपाली कांग्रेसलाई मान्यता दिए मात्र नयाँ पार्टी गठनबारे निर्णय लिने रणनीतिमा रहेका देउवा पक्षका नेताहरू कांग्रेसमा नफर्किने निष्कर्षमा पुगेको ती नेताको भनाइ छ।

निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिन लागेको संकेत पाएपछि देउवा पक्षीय नेताहरू शुक्रबार बिहानै निर्वाचन आयोगको कार्यालय कान्तीपथ पुगेका थिए। तर, निर्वाचन आयोगले शुक्रबार नै निर्णय लिनेमा भने दुविधामा थिए।

स्रोतहरूका अनुसार देउवालाई शुक्रबार दिउँसो १ नबझ्दै निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिन लागेको सूचना पुगेको थियो। लगत्तै महाराजगञ्जको आफ्नो अस्थायी निवासबाट देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई फोन लगाए।

बिहान साढे १० बजे कान्तीपथ पुगेर निर्वाचन आयोगका पदाधिकारीलाई थापा नेतृत्वको कार्यसमितिलाई मान्यता नदिन ध्यानकर्षण गराएर कांग्रेस कार्यालय सानेपा जाने तयारीमा रहेका खड्का देउवाको फोन मिस गर्न पुगे। त्यसपछि देउवाले नेता रमेश लेखकलाई फोन गरेर निर्वाचन आयोगको तयारीबारे सोधे।

लेखकले शनिबारसम्म आयोगबाट निर्णय आउन सक्ने बताएपछि देउवा रिसाएको कांग्रेसका एक नेताले नेपालखबरलाई बताए। लेखकसँगको संवादबारे देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘सभापतिज्यूले तिमीहरूलाई केही थाहा छैन। निर्वाचन आयोगले आजै निर्णय गर्दै छ। पार्टी कार्यालयमा तत्काल पत्रकार सम्मेलन सकेर निर्वाचन कार्यालयतिर लाग भन्नु भएको थियो।’

देउवाले थापा नेतृत्वको कार्यसमितिलाई आयोगले मान्यता दिन लागेको सूचना दिएपछि सानेपाको पत्रकार सम्मेलनमा खड्का आक्रोशित सुनिएका थिए। आयोगले विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिए देशभर आन्दोलन गर्ने चेतावनी त्यहीँ दिएका थिए।

‘हामी निर्वाचन आयोगलाई भन्न चाहन्छौं- नेपाली कांग्रेसको विधान, मुलुकको संविधान, निर्वाचन ऐनअनुसार यदि तलमाथि भएर निर्वाचन आयोगले षड्यन्त्र र दबाबमा परेर संविधान र लोकतन्त्रमाथि मडारिएको कालो बादललाई साथ दिँदै यदि नेपाली कांग्रेसको विधानविपरीत अन्यथा निर्णय ग‍र्‍यो भने देशभरि आन्दोलन गर्नेबाहेक हामीसँग विकल्प हुने छैन। हामी वडादेखि राजधानीमा चारतारे झन्डा र रूख लिएर अघि बढ्छौं,’ उनको आग्रह थियो।

सानेपाको पत्रकार सम्मेलनमा १४औँ महाधिवेशनबाट निर्वाचित देउवा नेतृत्वको समिति नै आधिकारिक कांग्रेस भएको र निवर्तमान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अयोग्यताका कारण नियमित महाधिवेशन हुन नसकेको खड्काको दलिल थियो। त्यसपछि देउवा पक्ष आक्रोशित हुँदै नाराबाजी गर्न निर्वाचन आयोग पुग्यो।

यता एमालेका नेताहरूले पनि निर्वाचन आयोगबाट थापा नेतृत्वको कार्यसमितिलाई समान्यता दिन लागिएको सूचना कांग्रेस नेताहरूलाई पठाएका थिए। निर्वाचनको कार्यालय अगाडि प्रदर्शन गर्दा आयोगले शुक्रबार निर्णय नलिए परिस्थिति आफ्नो पक्षमा बनाउन सकिने देउवा पक्षको बुझाइ थियो। सानेपाबाट दलबलसहित फेरि निर्वाचन आयोग पुग्दा आयुक्तहरूलाई हतारमा निर्णय नलिन दबाब सिर्जना गर्ने रणनीति थियो। तर, निर्वाचन आयोगका तीन जना आयुक्तले मत विभाजनमार्फत निर्णय लिए।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र सुमन शम्शेर राणा थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिँदै कांग्रेसको कार्यसमिति अद्यावधिकको पक्षमा उभिए भने आयुक्त जानकी तुलाधर विपक्षमा उभिएकी थिइन्। बहुमतमार्फत थापा नेतृत्वको कार्यसमितिले कांग्रेसको आधिकारिकता पाएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad