विशेष महाधिवेशनलाई लिएर पार्टी विभाजित भएपछि नेपाली कांग्रेस आधिकारिताको बहस चलिरहेको छ। शेरबहादुर देउवा समूह र विशेष महाधिवेशन पक्षबीचको द्वन्द्व अब निर्वाचन आयोगको आँगनमा पुगेको छ।
विशेष महाधिवेशनबाट सह–महामन्त्री चुनिएका उदयशमशेर राणाले पार्टीभत्र ठूलो आर्थिक चलखेल भइरहेको र ‘ब्रिफकेस’ बोकेका व्यापारीहरूले आधिकारिकतालाई प्रभावित पार्न खोजेको गम्भीर आरोप लगाएका छन्।
राणाका अनुसार ३० वर्षसम्म सत्ता र शक्तिमा रहेका नेताहरूले आफ्नो प्रभाव जोगाउन साम, दाम, दण्ड, भेदको प्रयोग गरिरहेका छन। नेपालखबर ‘तत्कालै’मा बिहीबार उनले भने, ‘यहाँ हाम्रो पार्टीमा मात्र होइन, अन्य पार्टीका नेताहरू र ३० वर्ष राज्य गरेका व्यक्तिहरूले बनाएका मान्छेहरू प्रयोग भइरहेका छन्। धेरै व्यापारीहरूले उनीहरू (देउवा पक्ष) मार्फत फाइदा लिएका छन्, ती व्यक्तिहरू अहिले ब्रिफकेस बोकेर हिँडिरहेका छन्।’
उनको संकेत स्पष्ट छ— निर्वाचन आयोग र अदालतलाई प्रभावित पारेर विशेष महाधिवेशनलाई अवैध घोषित गराउन ठूलो आर्थिक चलखेल भइरहेको छ। यद्यपि, उनले देशको न्याय प्रणाली र निर्वाचन आयोगले तथ्य र विधानका आधारमा सही निर्णय गर्नेमा विश्वास व्यक्त गरे।
पार्टी फुटेको हो भन्ने प्रश्नमा राणा यसलाई विभाजन मान्न तयार छैन। संविधान र कानुनअनुसार पार्टी फुटाउन ४० प्रतिशत केन्द्रीय सदस्य आवश्यक पर्ने भए पनि आफूहरूले कांग्रेसको आफ्नै विधान प्रयोग गरेको उनको दाबी छ।
‘नेपाली कांग्रेसको विधानमा ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेमा तीन महिनाभित्र बोलाउनुपर्ने व्यवस्था छ,’ राणाले स्पष्ट पारे, ‘हामीले लुकेर केही गरेका छैनौँ। बन्द सत्रसमेत लाइभ टेलिकास्ट भएको छ। सबै प्रक्रिया पुर्याएका छौँ, त्यसैले निर्वाचन आयोगले हाम्रो महाधिवेशनलाई वैधानिकता दिनेमा हामी ढुक्क छौँ।’

राणा लामो समयदेखि कांग्रेसभित्र देउवा गुटमा थिए। तर, अहिले गगनको नेतृत्वमा सहमहामन्त्री भएपछि यसको कारणबारे जिज्ञासा राख्दा उनले ८० वर्ष पुगिसकेका देउवाको छवि जेनजी आन्दोलन र बदलिँदो सामाजिक चाहनाअनुसार नभएको तर्क गरे।
‘देउवा दाइप्रति हाम्रो सम्मान छ, तर पछिल्लो समय उहाँको इमेज ड्यामेज भएको छ,’ राणाले भने, ‘जनता र कार्यकर्तासँग उहाँको सम्बन्ध टुटेको देखिन्छ। पुरानै ढर्रामा कांग्रेस अघि बढे आगामी निर्वाचनमा पार्टी डुब्ने निश्चित छ। त्यसैले हामीले जोखिम मोलेरै यो कदम चालेका हौँ।’
उनी थप्छन्, ‘कांग्रेसलाई बचाउने हो भने नयाँ पुस्ताको नेतृत्व अनिवार्य छ। गगन थापाको नेतृत्वमा चुनावमा जाँदा कांग्रेसले बहुमत नपाए पनि सबैभन्दा ठूलो दल बन्ने निश्चित छ।’
माघ ६ गते उम्मेदवारी दर्ता र फागुन २१ को निर्वाचन तालिकाअघि नै निर्वाचन आयोगले विशेष महाधिवेशनको वैधानिकताबारे टुंगो लगाउनुपर्ने राणाको माग छ।
आयोगले देउवा पक्षलाई नै आधिकारिकता दिएमा के हुन्छ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘हाम्रो केस वाटरटाइट छ। हामीले विधानका अक्षर–अक्षर पालना गरेका छौँ। त्यसैले आयोगले उल्टो निर्णय गर्ने सम्भावना छैन।’
राणाले आगामी चुनावमा कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने र १६१ निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार उठाउने घोषणा गरे।
‘हामीले गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिसकेका छौँ। अब कांग्रेस नयाँ जोस र भिजनका साथ मैदानमा उत्रिन्छ,’ उनले भने।
बाँकी के–के भने, हेर्नुस् उनीसँग गरिएको भिडिओ कुराकानी नेपालखबर ‘तत्कालै’:
फोटो/भिडिओः विशाल कार्की

प्रतिक्रिया